New templates on your Email

भारतविरुद्ध इंग्ल्यान्ड : दुई दिनमै तीन शतक र ६५२ रन

एजेन्सी । भारतले पहिलो इनिङमा विशाल योगफल बनाए पनि इंग्ल्यान्डले आफ्नो आक्रामक क्रिकेटलाई निरन्तरता दिएपछि तेस्रो टेस्टमा दोस्रो दिन नै रोचकता थपिएको छ ।

राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो इनिङमा ४४५ रनमा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले १९६ बलमा १४ चौका र ३ छक्कासहित १३१ रनको शतकीय इनिङ खेले । रविन्द्र जडेजाले २२५ बलमा ९ चौका र २ छक्कासहित ११२ रनको शतकीय इनिङ खेलेका थिए ।

एक समय ३३-३ को अवस्थामा पुगेपनि जडेजा र रोहितले चौथो विकेटका लागि २०४ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

भारतीय घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका शरफराज खानले डेब्यूमा ६६ बलमा ९ चौका र १ छक्कासहित ६२ रन बनाए । जडेजाको गलत कलको कारण उनी रन आउट भएका थिए ।

डेब्यू खेलाडी ध्रुब जुरेल ४६, रविचन्द्रन आश्विन ३७ र जस्प्रित बुमराह २६ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले सर्वाधिक ४ विकेट लिए । रेहान अहमद २, जेम्श एन्डरसन, टम हार्टली र जो रुटले १/१ विकेट लिए ।

दोस्रो दिन अन्तिम सेसन पहिलो इनिङ ब्याटिङ गरेको इंग्ल्यान्डले मात्रै ३५ ओभरमा २ विकेट गुमाउँदै २०७ रन बनाएको छ । पहिलो इनिङमा २३८ रनले पछि परेपनि इंग्ल्यान्डले भारतलाई गतिलो जवाफ फर्काएको छ ।

ओपनर बेन डकेट ११८ बलमा २१ चौका र २ छक्कासहित १३३ रनमा नट आउट छन् । उनले मात्रै ८८ बलमा शतक पूरा गरेका थिए । ओली पोप ३९ र ज्याक क्रली १५ रनमा आउट भए । जो रुट ९ रनमा क्रिजमा छन् । पाँच टेस्टको सिरिज १/१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड २८ रन र दोस्रो खेलमा भारत १०६ रनले विजयी भएका थिए ।



Khemraj wali

Post a Comment

0 Comments