New templates on your Email

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

१० कात्तिक, काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थहरुमा उल्लेख छ ।

यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै मात्र ग्रहण भएको विकास समितिले जनाएको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चन्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध, बिरामी, सुत्केरी बाहेकले भोजन गर्न नहुने विकास समितिले जनाएको छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् रामचन्द्र गौतम बताउँछन् ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा, नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र त्यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

– राससको सहयोगमा



Binod Ghimire

Post a Comment

0 Comments