६ माघ, वीरगञ्ज । वीरगञ्जको प्रसौनी विर्ताका प्रदिप कुमारलाई साथीभाईसँग सिर्सिया नदीमा पौडी खेलेको याद ताजै छ । तर अहिले उनलाई सिर्सिया नदीको डिलमा समेत जान घिन लाग्छ । उनी सिर्सियालाई वीरगञ्जको बागमतीको संज्ञा दिन्छन्
हुन पनि औद्योगिक प्रदुषणले सिर्सिया नदी नभएर नाला जस्तै बनेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको रामवनको झाडीमा सिर्सिया नदीको मुहान छ । झाडी मुहान भएपनि सिर्सिया नदीमा बाहै्र महिना पानी आउने गरेको छ ।
परवानीपुरको दक्षिणमा यो नदीमा ‘कियासुत’ नदी आएर मिसिन्छ । त्यसैगरि ‘वौद्यी’ खोला पनि यसैमा विलय हुन्छ । मुहानबाट त कञ्चन पानी नै निस्कन्छ । तर ३० किमि दूरी छिचोलेर वीरगञ्ज पुग्दा नपुग्दै नदीको पानी प्रदुषणले कालो गन्हाउने बन्न पुग्छ ।
रक्सौलको दक्षिणमा गएर यो नदीमा वीरगञ्जको पूर्वबाट बग्ने सिंघिया नदी आएर मिल्छ । सिमरा, जीतपुर, छातापिपरा, परवनीपुर र वीरगंजमा स्थापना भएका उद्योगहरूबाट निष्कने प्रदुषित पानी सिधै नदीमा छोड्ने गरेकोले पवित्र र कञ्चन नदी अहिले विसालु बनेको छ । यस क्षेत्रमा औद्योगिकरणको विकास क्रम शुरु भएसँगै नदीको अवस्था बिग्रन थालेको स्थानीय बताउँछन् ।
विश्व स्वास्थ्य सङगठनले तय गरेको मापदण्डअनुसार प्रतिलिटर पानीमा ५ सय मिलिग्रामभन्दा बढी ठोस वस्तु भेटिए त्यो पानी प्रदूषित हुन थाल्छ । दुई दशक पहिले सिर्सिया नदीको पानी परीक्षण गर्दा औद्योगिक क्षेत्रमा प्रवेश गर्नुअघि नदीको प्रतिलिटर पानीमा ०.४ ग्राम ठोस पदार्थ भेटिएको थियो । पछिल्ला दशकमा सिमरा, वीरगञ्ज क्षेत्रमा कलकारखानाहरूको स्थापनामा वृद्धि भएकोले सिर्सिया नदीको पानीमा प्रदूषणको मात्रा निकै बढेको छ ।
बग्छ विसालु पानी
विगतमा सिर्सिया नदी स्वच्छ र सफा थियो तर छाला, घ्युलगायत विभिन्न उद्योगको केमिकलयुक्त दूषित पानी खसाल्नाले सिर्सिया नदी एकातिर प्रदूषित बन्दै गइरहेको छ । भने अर्कोतिर नदी अतिक्रमणको चपेटामा पर्दै गईरहेको छ । सिर्सिया वर्षेनी सानो हुँदै गएको र सम्बन्धित निकायले यसमा कुनै चासो नदिएकोमा स्थानीय चिन्तित छन् ।

तीन दशक यतादेखि वीरगञ्ज सिमरा क्षेत्रमा तीव्र रुपमा उद्योग स्थापना भएका छन् । तर, प्रायः सबै कलकारखानाहरूले फोहरमैलाको उचित व्यवस्थापन नगरी कतिपयले सोझै र केहीले नदेखिनेगरी भूमिगत नालाबाट सिर्सिया नदीमा खसाल्ने गरेका छन् ।
सिर्सिया नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, श्रीसिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर, र वीरगञ्ज महानगरपालिकाका सिर्सिया नदी किनारका बासिन्दा नराम्ररी प्रभावित छन् ।
नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत विभिन्न किसिमको रोगको संक्रमण देखिने गरेको छ । नेपाल तर्फ मात्रै होईन सिर्सियाको असर छिमेकी मुलुक भारतको सीमावर्ती शहर रक्सौलमा पनि पर्छ । सिर्सियामा भएको प्रदुषण नियन्त्रणको माग राखेर रक्सौलका अगुवाहरुले पनि पटक पटक आन्दोलन गरेका छन् ।
तर प्रदूषणको नियन्त्रण वा समस्या समाधानका लागि सम्बन्धित निकायले कुनै चासो नदिएका कारण सभ्यताको प्रतीक मानिने सिर्सिया नदी विनाशको बाहक बन्दै गएको स्थानीय बताउँछन् । केहि व्यक्तिले सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन संघर्ष समिति नै गठन गरेको भएपनि खासै उपलब्धीमुलक काम गर्न सकेको छैन । संघर्ष समिति निष्क्रिय जस्तै छ ।
तीन दशक अघिसम्म सिर्सिया नदीमा पौडी खेल्न सक्ने अवस्था रहेपनि अहिले नदीको किनारसम्म पुग्न पनि नाक थुन्नुपर्ने अवस्था छ । सिर्सिया नदीको पानीले सयौं किसानको जमिन सिञ्चित हुने गरेको थियो ।
जीतपुरका बलिराम साह सिर्सिया नदीमा खसेको औद्योगिक फोहर पानीले कृषि बाली नष्ट हुनुको साथै खेतको उर्वरा शक्तिमा ह्रास आएको गुनासो गर्छन् । ‘पहिला सिर्सिया नदीमा नुहाइन्थ्यो, गर्मीमा पौडी खेलिन्थ्यो, अब त सिर्सियाको पानी छुन पनि घिन लाग्छ,’ उनी भन्छन् ।
प्रतिवेदन रद्दीको टोकरीमा
तीन दशक यता धेरै पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले सिर्सिया नदीको प्रदूषणको कारण प्रभावित क्षेत्र तथा समाधानका उपायबारे यथार्थ प्रतिवेदन र्सार्वजनिक भएको छ ।
बङ्गलादेशको डा. एम इकरामुल हकको टोली र रसायन विज्ञ उत्तम कुँवरको स्थलगत अध्ययन प्रतिवेदनले पनि नदीको प्रदुषणको कारकतत्व उद्योगधन्दाहरु नै भएको निष्कर्ष निकालेको छ ।
त्यतिमात्रै होईन, वीरगञ्जमा वि.स. २०६७ सालमा सिर्सिया नदी अनुगमन समिति २०६७ नै गठन भएको थियो । अनुगमन समितिले तत्कालिन वीरगञ्ज उपमहानगरपालिका, अवैद्य रुपमा सञ्चालित रक्सी भट्टी र औद्योगिक क्षेत्रका ४६ वटा ठूला तथा साना उद्योगले सिर्सिया नदीको पानीलाई प्रदुषित गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर यस्ता प्रतिवेदनहरु प्रतिवेदनमै सिमित छन् । कार्यान्वयन गर्ने निकाय प्रतिवेदनबारे मौन छन् ।
प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो । बाराको रामपुरटोकनीस्थित नारायणी छाला उद्योग, बाराको लिपनीमालस्थित मोरियम एण्ड मारियम लेदर इण्डष्ट्रिज, बीरगञ्ज बहुअरीस्थित नेशनल लेदर इण्डष्ट्रिज, लिपनीबिर्ता स्थित ग्लोबल लेदर टेनिग इण्डष्ट्रिज, नेपाल लेदर र रामपुरटोकनी स्थित एभरेष्ट छाला कारखानालाई तत्काल कारबाही गर्नुपर्ने प्रदिवेदनमा उल्लेख गरिएको थियो ।
नदीको पानी प्रदुषित गर्ने उद्योगमा त्रिवेणी टेक्सटाइल इण्डष्ट्रिज परेको छ । यसले प्रत्येक दिन कारखानामा २४ टन भुस बालेर त्यसको खरानी कियासुत नदीमा फयाक्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नदीमा सोझै केमिकल प्रभाव गर्ने उद्योगहरुमा टेक्सटाईल, साबुन र डिष्टिलरी उद्योगहरु परेका छन् ।
यस्ता उद्योगमा अरनिको टेक्सटाइल, सिद्धी टेक्सर्टाईल, डायमण्ड टेक्सटाइल, न्यु अनिल टेक्सटाइल, इष्टर्न टेक्सटाइल, हिमाल डिष्टिलरी प्रालि, छातापिपरास्थित सुर्या एग्रो प्रोडक्सन एण्ड कुसुम आयल, बिनायक एग्रो प्रालि, जितपुरस्थित शिवशक्ति घ्यु उद्योग, शिवशक्ति सोप इण्डष्ट्रिज, बाराको बजनीस्थित पुजा सोप एण्ड केमिकल इण्डष्ट्रिज रहेका छन् ।
त्यसैगरी नदीमा तेजावयुक्त पानी प्रभाव गर्नेमा हुलास स्टिल, भगवती स्टिल, जय विश्वकर्मा इण्डष्ट्रिज, साल्ट एण्ड स्विट र हिमाल स्टिल रहेका छन् । यसबाहेकका उद्योगहरुले समेत फोहोर विना संकोच नदीमा फ्याक्ने गरेको समितिले पत्ता लगाएको थियो ।
तर हालसम्म प्रतिवेदनमा आएका निष्कर्षका आधारमा समाधानको कुनै उपाय अबलम्बन गरिएको छैन् । स्थलगत अध्ययनबाट नदीको पानी प्रदुषित हुनुको कारण, औद्योगिक प्रदुषण नियन्त्रणका बारेमा मुलुकमा भएका व्यवस्थाहरु र कानुनी उपचार गरी तीन वटै पाटोलाई प्रतिवेदनमा समेटिएको तत्कालिन सिर्सिया नदी अनुगमन समितिका संयोजक एवं पत्रकार रितेश त्रिपाठी बताउँछन् ।
‘हामीले त एकदमै गहिराईसम्म पुगेर अध्ययन गरेका थियौं । नदि सफा होस, नदी छेउका वासिन्दा प्रदुषणबाट मुक्त होउन भन्ने चाहना हो,’ उनले भने ‘कानुन कार्यान्वयन गर्ने निकायले कारबाही गर्न सकेन, त्यसले गर्दा प्रदिवेदन आएको ८ वर्ष वितिसक्दा पनि हाम्रो चाहना अधुरै रह्यो ।’

कारबाही शून्य
नदीलाई प्रदूषित पार्ने उद्योगका सञ्चालकहरु वीरगञ्ज उद्योग वाणिज्य संघमा आवद्ध छन् तर आˆनो उद्योगबाट निस्कने दूषित पानीलाई शुद्धीकरण गर्न पहल गरेका छैनन् । सिमरामा रहेको सुर्य नेपाल प्रालीले अपनाएको प्रदुषण नियन्त्रण प्रविधि अध्ययन गर्न मानिसहरु बाहिरबाट समेत आउने गरेका छन् ।
स्थानीयको दवावमा जगदम्बा लगायत केहि उद्योगले प्रदुषण नियन्त्रण युनिट खडा गरेको भएपनि पुरै औद्योगिक क्षेत्रमा प्रदुषण नियन्त्रणका लागि कुनै विशेष व्यवस्था हुन सकेको छैन् । कतिपय उद्योगले देखाउनका लागि मात्रै प्रदुषण नियन्त्रण युनिट स्थापना गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओम प्रकाश शर्मा प्रदुषण गर्ने उद्योगहरुले जति आग्रह गर्दा अटेरी गरेको बताउँछन् । ‘जुन उद्योगले रसायन निकाल्छ, उसले रिफाईन गरेर मात्रै नदिमा छोड्ने हो । तर उनीहरु त्यसो गर्दैनन्,’ उनले भने ‘ संघले अनुारेध गर्नेसम्म हो, पटक पटक पत्राचार गरेको हो, मान्दैनन भने हामीले केही गर्न सक्दैनौं ।’
नदीलाई नाला बनाउने दोषीलाई कारबाही गर्दा उद्योग वाणिज्य संघ वाधक नबन्ने उनले बताए ।
प्राथमिकतामा पर्दैन
सिर्सिया नदीको प्रदुषण नियन्त्रण पर्सा र बारा जिल्ला स्थित प्रशासन कार्यालयको प्राथमिकतामा कहिल्यै पर्न सकेको छैन । किनकी जिल्ला हाक्ने प्रमुख जिल्ला अधिकारीहरुले सिर्सिया नदीको प्रदुषणको मार झेल्नु पर्दैन । सिर्सिया नदीबाट बग्ने पानीबाट आउने गन्ध सुँघ्न पर्दैन ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल सिर्सिया नदीको प्रदुषण नियन्त्रणको विषयमा ध्यान पुर्याउन नसकेको स्वीकार गर्छन् । ‘नदीको प्रदुषणका बारेमा ध्यान पुर्याउन नसकिएको सत्य हो, वेवास्ता गरेको विषय भने होइन,’ उनले भने ‘नदीको प्रदुषणलाई घटाउन अवस्थामा सुधार के गर्न सकिन्छ, छिट्टै उद्यामीहरुसँग छलफल गर्छौ ।’
राजनीतिक स्वार्थ बाधक
तत्कालीन अवस्थामा सिर्सिया नदीमा प्रदूषण बढेझैं नेपालको राजनीति पनि प्रदूषित थियो । त्यति बेला प्रदूषण मुक्त गर्न अभियान चाल्नुु असम्भव भएपनि अब स्थानीय सरकार आईसकेको अवस्था छ । राजनैतिक स्वार्थ त्यागेर नदीको संरक्षणसँगै प्रदुषण नियन्त्रणका लागि लाग्नुपर्ने बेला आईसकेको सरोकारवाला बताउँछन् ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक सरदार जसपाल सिंह सिर्सिया नदीको प्रदुषण नियन्त्रण हुनुपर्छ भनेर दिईएका हरेक किसिमको दवावले काम नगरेको बताउँछन् ।
‘माता सीताको नाम श्री सियाबाट सिर्सिया नदीको नाम बनेको छ । त्यो पवित्र नदीको हामी पानी पिउँथ्यौं, पौडी खेल्ने गर्दथ्यौं । अहिले त्यो सबै ईतिहास भएको छ,’ उनले भने ‘पटक पटक अध्ययन गरेर सम्बन्धित निकायलाई प्रतिवेदन पनि बुझायौं, वातावरण विभाग, उद्योगमन्त्रीहरु सम्म पुगेर पनि कुरा राखेका छौं, प्रदुषण नियन्त्रण हुनुपर्छ भन्छन्, तर उद्योगबाट वि्रफकेस जान्छ कि के हुन्छ काम हुँदैन । नदीको अवस्था जस्ताको त्यस्तै छ ।’
पर्सामा केशवराज घिमिरे प्रमुख जिल्ला अधिकारी रहेको समयमा आफूले सिर्सिया नदीमा पसेर पानी पिउने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी राज्यले लिनुपर्ने धम्की दिएको स्मरण गर्दै सिंहले त्यतिबेला साथीभाईहरुले सम्झाएपनि अब त्यस्तै गर्नुपर्ने अवस्था आइसकेको बताए ।
सिर्सिया करिडोर बनाउने तयारी
सिर्सिया नदीको सफाईमा स्थानीय सरकार जति सक्रिय हुनुपर्ने हो त्यति हुन सकेको छैन । जीतपुर-सिमरा उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिका हुँदै सिर्सिया नदी भारततर्फ बग्ने गरेको छ ।
स्थानीय सरकार गठनको डेढ वर्ष बितिसक्दा उनीहरुले नदीको प्रदुषण नियन्त्रणका लागि ठोस कदम चाल्न सकेका छैनन् । दुईवटै स्थानीय सरकारका प्रमुखहरु सिर्सिया नदीको प्रदुषण नियन्त्रण गर्नु आवश्यक छ त भन्छन् । तर कार्यान्वयनको तहमा उल्लेखनीय काम हुन सकेको छैन ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सिर्सिया नदीको सफाईका लागि ‘सिर्सिया करिडोर’ प्रस्ताव गरिएको बताउँछन् । झण्डै २२ सय करोडको लागत अनुमान गरिएको सिर्सिया करिडोरको डीपीआर तयार पार्ने तयारी भईरहेको उनको भनाइ छ ।
‘सिर्सिया प्रदुषित छ, त्यसको नियन्त्रणका लागि नै सिर्सिया करिडोरको प्रस्ताव गरेका छौं । शहरी विकास मन्त्रालयलाई यसको डीपीआर तयार गर्न भनेका छौं,’ उनले भने ‘करिडोरमा दुवैतर्फ नाली बनाएर फोहोर पानी संकलन गर्ने र शुद्धिकरण गरेर मात्रै नदीमा खसालिनेछ ।’
वाटर टि्रटमेन्ट प्लान्टबाट पानी शुद्धीकरण गरेपछि त्यसलाई सिंचाईमा समेत प्रयोग गर्न सकिने उनी बताउँछन् । जीतपुर सिमरा उपमहानगरपलिकाका नगर प्रमुख कृष्ण पौडेलले ‘सिर्सिया करिडोर’मा वीरगञ्ज महानगरपालिकासँग मिलेर काम गर्नेबारे छलफल भईरहेको बताउँछन् ।
तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर
Rabindra Ghimire

0 Comments