New templates on your Email

केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति

९ असोज, काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा केरुङ-रसुवागढी-चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो ।

मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ-रसुवागढी-चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि विभिन्न सम्झौता र समझदारी भएका थिए । तर सो दिन संयुक्त व्यक्तव्य जारी भएको थिएन ।

मंगलबार बिहान मात्र सार्वजनिक भएको संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारा लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ-रसुवागढी-चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यद्यपि यसको लगानीको विषय उल्लेख छैन ।

केरुङ-चिलिमे प्रसारण लाइन बनाउन दुई देशबीच पाँच वर्ष अघि नै अध्ययन सुरु भए पनि थप प्रगति अघि बढेको थिएन ।

नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको उल्लेख छ ।

सकेसम्म छिटो संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठक बोलाएर चीन-नेपाल विद्युतीय ऊर्जा सहयोग योजनाई अन्तिम रुप दिइने संयुक्त व्यक्तव्यमा उल्लेख छ । जलविद्युत, वायु ऊर्जा, सौर्य ऊर्जा र हाइड्रोजन पावरको क्षेत्रमा सहकार्य गर्ने पनि उल्लेख छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा पनि अन्तरदेशीय प्रसारण लाइन र विद्युत व्यापारको विषयमा महत्वपूर्ण सहमति भएको थियो ।



Khemraj wali

Post a Comment

0 Comments