New templates on your Email

नेपाली पब्जी टोली पनि सेमिफाइनलबाटै बाहिरियो

१३ असोज, हान्झाउ । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।

शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो ।

फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन ।

सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकाले ।

कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् ।

नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिए ।

सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ ।

नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल पुग्दै पदकको आशा जगाएको थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि पब्जीमा पदक जित्ने आशा सकिएको छ ।

इस्पोर्ट्समा नेपालले यस पटक पाँच इभेन्टमा सहभागिता जनाएकोमा चार इभेन्टमा नेपालको चुनौती समाप्त भइसकेको छ ।

अब डोटा टु के अन्तर्गत नेपालले शनिवारै क्वाटरफाइनलमा कीर्गिस्तानसँग खेल्नेछ । यो खेल बेलुका ७ बजे सुरु हुनेछ ।



Khemraj wali

Post a Comment

0 Comments