New templates on your Email

गौर हत्याकाण्ड : अनिश्चितकालीन रौतहट बन्द स्थगित

१५ साउन, जनकपुरधाम । गौर हत्याकाण्ड पीडिति संघर्ष समितिले आजदेखि घोषणा गरेको अनिश्चितकालीन रौतहट बन्द स्थगित गरेको छ ।

संघर्ष समितिकी संयोजक रुपसागर देवीले आइतबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै अनश्चितकालीन रौतहट बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको बताइन् ।

आफूहरु न्याको माग गर्दै अनिश्चितकालीन बन्द गर्न लागेको आन्दोलनको कार्यक्रममा सत्ताधारी पार्टीहरु मुठभेट सिर्जना गर्न खोजेकाले बन्दको कार्यक्रम तत्कालका लागि परिमार्जन गरी अन्य कार्यक्रम यथावत राखिएको उनको भनाइ छ ।

१७ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।

घटनाको मुख्य अभियुक्त तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर, हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् ।

दोषीहरुलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै संघर्ष समितिले गत साउन १ गते स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएको थियो ।

साउन १२ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको छ । संघर्ष समितिले शुक्रबार पालिकापालिकामा घटना विषयमा जानकारी गराएका थिए भने शनिबारदेखि रौतहटको चपुरमा पीडित परिवारहरु आमरण अनशनमा बसेका छन् ।

आइतबार रौतहटमा मोटरसाइकल जुलुस प्रदर्शन भएको थियो । आजदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको थियो ।

रौतहट बन्दको कार्यक्रममा जोरजवरजस्ती व्यवसायी वा जनतालाई दुःख दिने कार्य गरे प्रतिकार गर्ने जसपाले चेतावननी दिएको थियो ।

आमजनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहको पहलमा संघर्ष समितिले आन्दोलन थालेको हो ।



Khemraj wali

Post a Comment

0 Comments