New templates on your Email

सीसी टीभीबाट सुल्झिएला निरा हत्या प्रकरण ?

१३ वैशाख, काठमाडौं । सात दिनअघि माता तीर्थ औंसीको दिन कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यले सामाजिक सञ्जाल फेसबुकमा आमासँगको तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्, ‘मेरी आमालाई यो संसारको सारा खुशी मिलोस्, अनि मलाई हरेक जन्ममा उहाँको यो काख ।’

यसको चार घन्टापछि उनले लामखुट्टे र किरा धपाउने ब्याटको प्रचारमूलक सामग्री पनि फेसबुकमा राखेकी थिइन् । पाण्डेले झण्डै १० वर्षदेखि ‘निरु किचन’ नामक भाँडा पसल चलाउँदै आएकी थिइन् । व्यवसाय राम्रो हुँदै गएपछि करिब तीन वर्षअघि उनीहरुले तीन सय मिटर पर अर्को पसल पनि खोलेका थिए । जसको सञ्चालन र रेखदेख श्रीमान् योगेन्द्र आचार्यले गर्दै आएका थिए । श्रीमानको त्यही पसलमा खिचेको टिकटक पोष्ट गरेर उनी आफ्नो ‘निरु किचन’मा बसिरहेकी थिइन् ।

त्यो दिन अन्तिम पटक उनलाई साढे २ देखि ३ बजेको बीचमा नजिकै पसल भएकाहरुले देखेका थिए । तर, ३ः१५ तिर पसलमा ग्राहक माया ज्ञवाली पुग्दा निरा देखिइनन् । ‘मैले ४ हजार रुपैयाँ तिर्न बाँकी थियो, पहिल्यैदेखि काम गरिरहेको भएकाले बाँकी चल्थ्यो’, ज्ञवालीले प्रहरीसँग भनेकी छन्, ‘त्यही तिर्न गएकी थिएँ, तर भेटिनँ ।’

निरालाई त्यहाँ नदेखेपछि उनले श्रीमान् योगेन्द्रलाई फोन लगाइन् । योगेन्द्रले ‘त्यतै होलिन्, भित्र गएर हेर्नु न’ भन्ने जवाफ फर्काए । उनको पसलमा क्यासियर टेबलमा समेत सामानहरुको थाक हुन्थ्यो । ‘त्यसैले अरु बेला हामी जाँदा पनि उहाँको टाउको मात्र देखिन्थ्यो’, नजिकै रहेको विद्युतीय सामग्री पाइने पसलका एक कर्मचारी भन्छन्, ‘भाइ (निराका पति योगेन्द्र) बस्दा घाँटीसम्म देखिन्थ्यो ।’

योगेन्द्रसँग फोनमा कुरा गरेपछि माया भित्र छिरिन् । नजिक गएर हेर्दा रगत देखिन् । त्यो देखिएर अत्तालिएकी उनले ३ः३५ बजे प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी गराइन् । प्रहरी प्रभाग, कपनसम्म यो सूचना पुग्दा ३ः३९ भएको थियो । त्यसको ६ मिनेटमा प्रहरी घटनास्थलमा पुग्यो ।

प्रहरी वृत्त, बौद्धका डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक स्मृति सिलवालसहितको टोली पुगेपछि निरालाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । नजिकै रहेका पसलका कर्मचारीका अनुसार त्यतिञ्जेल निराको शव तातै भएकाले जीवित हुनसक्ने झिनो आशासहित अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की घटनास्थल नजिकैबाट बरामद गरिएको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज, मोबाइलको प्राविधिक विश्लेषण लगायतका आधारमा अनुसन्धान भइरहेको बताउँछन् ।

‘हुन त त्यतिबेलै मृत्यु भइसकेको रहेछ, यद्यपि प्रहरीले मृत्यु घोषणा गर्ने कुरा भएन’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरे ।’

पाण्डेको मृत्यु भएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानमा खटियो । प्रारम्भिक जाँचबुझमा कुनै सुराक फेला परेन । छुरा प्रहारका अन्य घटना झैँ यसलाई प्रहरीले ‘हल्का’ साचेको थियो । तर, जब त्रिवि शिक्षण अस्पतालमा भएको प्रारम्भिक जाँचमा निराको पेटसहित शरीरका विभिन्न भागमा विभत्स तरिकाले पटक–पटक छुरा जस्तो वस्तुले प्रहार गरेको खुल्यो, त्यसपछि प्रहरी झस्कियो ।

‘घाँटीभन्दा तलको भागमा १७/१८ पटकभन्दा बढी हानिएको भेटियो, एकदमै टर्चर दिएर हत्या गरेको देखियो’, ती अधिकृत भन्छन्, ‘त्यसपछि झन् गम्भीर र संवेदनशील भएर अनुसन्धान सुरु भयो ।’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राखेर प्रहरीले यथाशक्य चाँडो नतिजा दिने गरी काम गरिरहेको छ । तर, मंगलबार पाँच दिन बितिसक्दा पनि आरोपी पत्ता लागेका छैनन् ।

आफन्त र बौद्धका व्यवसायीले तीन दिनदेखि हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गर्दै व्यवसायीको सुरक्षा ग्यारेन्टी गर्न माग गरिरहेका छन् ।

प्रदर्शनमा सरिक भएकाहरुले अनुसन्धानको विवरण सार्वजनिक गर्न माग गरिरहेका छन् । प्रहरीसँग भने आफन्त र सार्वजनिक रुपमा बताउनसक्ने कुनै ठोस विषय हात लागिसकेको छैन ।

निराको हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न माग गर्दै गरिएको प्रदर्शन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की घटनास्थल नजिकैबाट बरामद गरिएको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज, मोबाइलको प्राविधिक विश्लेषण लगायतका आधारमा अनुसन्धान भइरहेको बताउँछन् ।

तर, अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हालसम्म बलियो ‘लिड’ प्रहरीले पाएको छैन । निराले मृत्यु हुनुअघि बनाएको टिकटक भिडियोमा उनको गलामा सिक्री देखिएको छ । प्रहरीले घटनास्थलबाट मुचुल्का गर्दा सिक्री बरामद गरेको छैन । त्यसैले लुटपाटको उद्देश्यले घटना भएको हो कि भन्ने शंका केही अधिकृत र व्यवसायीहरुले गरेका थिए ।

तर, अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार लुटपाट मात्र उद्देश्य भएको भए त्यसरी विभत्स तरिकाले हत्या हुन्थेन । ‘जुन किमिसले हत्या भएको छ, त्यो एकदमै बलियो मोटिभले भएको हुनसक्छ’, एक अधिकृत भन्छन्, ‘हत्या मात्र गर्नु भएको भए त्यसरी धेरै पटक प्रहार गर्दैनथ्यो होला, अपराधको प्रकृति हेर्दा एकदमै रिस भए जस्तो देखिन्छ ।’

प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलमा धेरै रगत देखिएको छैन भने सामानहरु पनि छरिएको देखिएका छैनन् । ‘रगत धेरै नबग्नुको कारण चाहिँ एकदमै गहिरो चोट भएर भित्रै रगत जमेको भन्ने फरेन्सिक विज्ञहरुको अनुमान छ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृत भन्छन्, ‘सामान नछरिएको भन्ने कुराले त्यहाँ घटनाअघि उनले प्रतिकार गर्ने मौका नपाएको हुनसक्ने देखाउँछ । अथवा, अन्य केही कारण हुनसक्छन् ।’

कपन क्षेत्रमा विगतमा धेरै चोरी र लुटपाटका घटना रिपोर्ट हुने गरेका छन् । स्वयं निरुको ‘किचन’मा पनि केही वर्षअघि चोरी भएको उनले बताएको नजिकका पसल व्यवसायीहरु बताउँछन् ।

तर त्यति हुँदाहुँदै पनि उनको पसलमा भने सीसी क्यामरा थिएन । तीन सय मिटर पर रहेको अर्को पसलमा क्यामरा राख्नु तर, निरुको पसलमा नराख्नु आफैंमा अनौठो भएको नजिकै रहेको एक कपडा पसलका कर्मचारी बताउँछन् ।

त्यसमाथि निरुको पारिवारिक समस्या पनि भएको उनीहरु बताउँछन् । ‘झट्ट हेर्दा ठिकठाकै देखिनु हुन्थ्यो, तर केही अघि झगडा परेको भन्ने सुनेको थिएँ’, नजिकैको पसलका एक व्यवसायी भन्छन्, ‘आफन्त अमेरिकामा हुनुहुन्थ्यो, निरुले लकडाउनकै बेलादेखि त्यता जान अप्लाई पनि गरेकी थिइन् । तर, भिसा आएको थिएन ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृत पनि निरा र श्रीमान् योगेन्द्रबीच सामान्य मनमुटाव हुने गरेको खुलेको स्वीकार्छन् । ‘तर त्यस्तो असमझदारी हरेक दम्पत्तिमा हुन्छ यद्यपि, अहिलेलाई सबै जना हाम्रो शंकाको दायरामा हुनुहुन्छ’, उनी भन्छन् । श्रीमान् योगेन्द्र अहिले प्रहरीसँग बयान दिन सक्ने अवस्थामा छैनन् । प्रहरीले पनि धेरै केरकार नगरेको अधिकृतहरु बताउँछन् ।

उनको पसल नजिकै व्यवसाय गरिरहेका केहीले चाहिँ घटना भएको अनुमानित समयमा योगेन्द्रलाई आफ्नै पसलमा देखेको बयान दिएका छन् । उनको पसलको सीसी टीभी क्यामराको ‘हार्ड डिस्क’ केही समयदेखि बिग्रिएको प्रहरी बताउँछ । ‘धेरैले उहाँलाई आफ्नै पसलमा देखेको भन्दै बयान दिएका छन्’, एक अधिकृत भन्छन् ।

प्रहरीले आर्थिक पाटो र सामाजिक सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ । सडकबाट केही अगाडि बिजुलीको पोलमा अर्को एउटा सीसी क्यामरा पनि छ । तर, त्यो क्यामरा अर्को दिशातर्फ फर्किएको अवस्थामा छ ।

एक अधिकृतका अनुसार अर्को क्यामराको फुटेज लिएर घटना भएको समय आसपास आउजाउ गर्ने व्यक्तिबारे अनुसन्धान भइरहेको छ । ‘एउटा फुटेजबाट शंकास्पद हुलिया लिएका छौं, संदिग्धको खोजी भइरहेको छ’, ती अधिकृत भन्छन्, ‘उनको हातमा रगत जस्तो देखिएको छ भने झोला बोकेको पनि देखिएको छ ।’

यद्यपि, ती व्यक्ति फेला नपरुञ्जेल यो शंकाको थप पुष्ट्याइँ नहुने अधिकृतहरु बताउँछन् । ‘अनुसन्धानको यो एउटा एंगल हो, अरु पाटो पनि खुलै राखेका छौं’, ती अधिकृत भन्छन्, ‘बरु सीसी क्यामराको राम्रो व्यवस्था नहुँदा अनुसन्धानले गति पाउन नसकेको चाहिँ सत्य हो ।’



Binod Ghimire

Post a Comment

0 Comments