New templates on your Email

सिन्धुपाल्चोकमा सभामुख काकालाई विश्राम लिन दबाब दिइरहेका माधव

१२ असोज, काठमाडौं । सिन्धुपाल्चोकका माधव सापकोटा कलिलैमा बाल संगठनमा आबद्ध भए । बालबालिकाका आवाज उठाउँदै उनी पछि तत्कालीन माओवादीनिकट अलिख क्रान्तिकारीसँग जोडिए । त्यही कारण १४ वर्षको उमेरमै भूमिगत हुनुपर्‍यो ।

‘अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष हुने बेलामा प्रहरी घरमै गिरफ्तार गर्न आयो,’ उनी सम्झन्छन्, ‘त्यसपछि फरार भएँ, १४ वर्षको उम्मेरदेखि नै भूमिगत भएर पार्टीमा काम गरेँ ।’

अखिल क्रान्तिकारीको तीन कार्यकाल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भएका माधव केन्द्रीय समिति हुँदै केन्द्रीय सचिवालय सदस्यसम्म भएर माओवादीमा सक्रिय भए । अहिले उनी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज छन् । सँगै ‘हाइप्रोफाइल’ क्षेत्र मानिने सिन्धुपाल्चोक–१ मा माओवादीका बलिया दाबेदार ।

सभामुख अग्निप्रसाद सापकोटाले लगातार तीनपटक जितेको र नेपाली कांग्रेसका नेता मोहन बस्नेत निरन्तर प्रतिद्वन्दी हुँदै आएको यसलाई हाइप्रोफाइल निर्वाचन क्षेत्र भनिन्छ । यो क्षेत्रका लागि माओवादीबाट सभामुख समेत रहेका अग्नि सापकोटा (जो नाताले उनका काका पर्छन्), उनी र फुलम तामाङको नाम सिफारिस भएको छ ।

औपचारिक निर्णय नभइसकेको भए पनि गठबन्धनबाट यो क्षेत्र माओवादीले नै पाउने लगभग निश्चित जस्तै छ । नाम तीन जनाको आएको भए पनि उनी आफूलाई नै बलियो दावेदार ठान्छन् । यो क्षेत्रबाट २०६४ यताका सबै चुनाव जितेका अग्नि सापकोटाले युवालाई छोड्नुपर्ने भन्दै उनले पार्टीमा दवाब बढाउँदै समेत लगेका छन् ।

‘यो क्षेत्र हाम्रो पार्टीले पाउँदै गर्दा अग्निप्रसाद सापकोटाको दाबी स्वभावैले बलियो हुन्छ,’ उनको भनाइ छ, ‘तर, अग्नि सरले तीन पटक जितिसक्नु भएको छ, राष्ट्रकै महत्वपूर्ण व्यवस्थापिका प्रमुखको कार्यसम्पादन गरिसक्नु भएको छ । उहाँ आफैंले पनि भन्दै आउनु भएको छ कि युवालाई प्रोत्साहित गर्नुपर्छ । त्यस हिसाबले म युवा भएलाई उहाँले एकपटक अवसर दिनुपर्छ ।’

सिन्धुपाल्चोक–३ सापकोटाले छाडेर पुस्तान्तरणको उदाहरण पेस गर्ने विश्वास आफूलाई रहेको माधव बताउँछन् । ‘युवाहरुलाई नेतृत्वमा लैजान उहाँको आफ्नै धारणा छ, त्यस अनुसार नेतृत्व हस्तान्तरण गर्ने, पुस्तान्तरण गर्ने काममा उहाँले एउटा उदाहरण पेस गर्नुहुन्छ भन्ने आशा छ,’ उनी भन्छन् ।

सभामुखका भतिज

माओवादीले सुरु गरेको सशस्त्र युद्धमा परिवारका कारण तानिएर कलिलै उमेरमा भूमिगत हुन पुगेका थिए, माधव । उनका काका अग्निप्रसाद सापकोटा माओवादीले युद्ध सुरु गर्दा नै केन्द्रीय सदस्य थिए ।

अर्का काका कृष्णप्रसाद सापकोटा पनि भूमिगत भएका थिए । कृष्णप्रसाद अहिले चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख छन् ।

परिवारकै माओवादीमा संलग्नताका कारण प्रहरी धरपकड खेप्दै आफूहरु स्वतः माओवादी बन्ने अवस्था आएको उनी बताउँछन् ।

‘जनयुद्ध सुरु राज्यको दमन, धरपकडले सबै स्वतः माओवादी आन्दोलनमा जाने वातावरण बन्यो,’ माधव भन्छन्, ‘त्यसैले धेरै सिद्धान्त, राजनीति, विचार बुझेर भन्दा पनि परिवेश नै त्यस्तो बन्न गयो कि हामी स्वतः माओवादी हुने जस्तो भयौं ।’

राजनीति भने पछि बझेको माधव बताउँछन् । ‘आन्दोलनमा विस्तारै लाग्दै गर्दा पुस्तक पढ्दै गर्दा, पार्टीका भेला, प्रशिक्षण, बैठकमा सामेल हुँदा बल्ल विचार, राजनीति र सिद्धान्तको कुरा बुझियो,’ उनी भन्छन् ।

सुरुका केही वर्ष नेतृत्वको टिममा सहयोगी भूमिका काम गरेका माधवले छोटो समय माओवादी सेनामा समेत काम गरे । माओवादी सेनाको बटालियन कमिसारसम्म भएका उनी करिब आधा दर्जन आक्रमणमा परेको सम्झन्छन् । त्यही क्रममा उनी शक्त घाइते समेत भए ।

‘युद्धका आधा दर्जन मोर्चामा सामेल भएको छु,’ माधव सम्झिन्छन्, ‘त्यस क्रममा गम्भीर प्रकारको घाइते समेत भएको थिएँ ।’

माधव सिरहाको बन्दीपुर, सिन्धुपाल्चोको चौतारा, साँखु र थानकोट आक्रमणमा पनि परेका थिए । २०३७ मा जन्मिएका उनले एसएलसी भने शान्ति प्रक्रियापछि मात्रै दिन पाए ।

२८ वर्षमा एमएसली पास गरेका उनले प्राइभेटबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । ‘एसएसली दिने तयारीमा रहँदा नै प्रहरी पक्रन आयो अनि टेस्ट दिएर छोडेँ,’ उनले सुनाए, ‘शान्ति प्रक्रियामा आएपछि मात्रै बाँकी अध्ययन अगाडि बढाउन पाएँ ।’

अवस्था बदल्न उम्मेदवारी

व्यवस्था बदलिएको तर अवस्था बदल्न नसकिएको भन्दै आफ्नो उम्मेदवारी त्यसका लागि हुने भनाइ माधवको छ । युवा भए पनि सबै समूहको एजेन्डा लिएर संसदमा आवाज उठाउने उनको प्रतिबद्धता समेत छ ।

‘व्यवस्था बदल्यौं, अवस्था बदल्न सकेनौं,’ उनी भन्छन्, ‘भुइँ मान्छेहरुको एजेन्डा लिएर संसदमा सशक्त ढंगले आवाज उठान गर्ने र आर्थिक समृद्धिसहित अबस्थामा हेरफेर ल्याउने मेरो मुख्य लक्ष्य हो । त्यसका लागि हस्तक्षेप बढाउन युवाहरुको प्रतिनिधित्व गर्दै सदनमा जान लागेको हुँ ।’

सभामुख एवं पार्टीका वरिष्ठ नेता काकालाई मनाएर आफूले टिकट पाउने कुरालाई नै उनले मुख्य चुनौती ठानेका छन् । चुुनावी मैदनमा भने आफू लामो समय संगठकका रुपमा काम गरेले खासै नभएको उनी बताउँछन् ।

‘यदि पार्टीले टिकट सुनिश्चित गर्‍यो भने पहिलोपटक चुनावको मोर्चामा जान्छु,’ उनी भन्छन्, ‘भुइँमा बसेर लामो समय संगठकका रुपमा त्यो पार्टी, यो पार्टी नभनी सक्रियता पूर्वक काम गरेको हुनाले मैले लोकप्रिय मत पाउँछु ।’



Gaurav Pokharel

Post a Comment

0 Comments