New templates on your Email

बर्खासँगै कास्कीमा विपद् सुरु, व्यवस्थापनको तयारी कस्तो ?

१५ असार, पोखरा ।  लगातारको झरीले आधा दर्जन बढी ठाउँमा पहिरो जाँदा कास्कीको पोखरादेखि मादी गाउँपालिकाको सिक्लेस जाने बाटो एक हप्तादेखि बन्द छ ।

पहिरोकै कारण मादी गाउँपालिका १, खिलाङको जनसेवा टोल उच्च जोखिममा छ । मादी–१, खिलाङको माथिबाट पहिरो जान सुरु गरिसकेकाले गाउँ नै जोखिममा रहेको र त्यसमा पनि जनसेवा टोल बढी जोखिममा रहेको वडाध्यक्ष देवीजंग गुरुङ बताउँछन् ।

उनका अनुसार जनसेवा टोलमा ५० घरधुरी छन् । ‘अहिले तत्काललाई त्यहाँ रहेका परिवारलाई सुरक्षित ठाउँमा सर्न भनेका छौं । गाउँको स्कुल केही सुरक्षित रहेको र बिदा पनि भएकाले त्यहाँ स्थानान्तरण हुन भनेका छौं,’ वडाध्यक्ष गुरुङले भने, ‘यसबारे पालिका प्रमुख र सीडीओ साबलाई पनि जानकारी गराइसकेका छौं ।’

पहिरोकै कारण मादी गाउँपालिका–६ मा एक हप्तादेखि नै बिजुली बत्ती बल्न सकेको छैन । विद्युत आपूर्ति बन्द हुँदा गाउँ नै सञ्चार सम्पर्कविहीन बन्ने अवस्थामा पुगेको छ । सुरक्षित ठाउँमा सारिएका परिवारलाई खाना, बस्नको लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिनेछ ।

पहिरोले बाटोमा क्षति पुर्याउँदा आउजाउ पूर्णरुपमा बन्द छ । जसका कारण गाउँपालिकाका बिरामी, वृद्धवृद्धालाई पोखरा आउजाउ गर्न समस्या भएको वडाध्यक्ष देवीजंग गुरुङ बताउँछन् । पोखरादेखि सिक्लेस जाने सीधा बाटो पूर्ण रुपमा बन्द भएपछि ताङतिङलाई वैकल्पिक बाटोको रुपमा प्रयोग गरिएको छ । ‘तर, त्यो बाटो पनि मादीबाट लामो र घुमाउरो हिँड्नु परेको छ,’ उनी भन्छन् ।

असार १० गते राति परेको भारी वर्षाका कारण पोखरा महानगरपालिका–२५ सुइखेत पूर्णरुपमा डुबानमा पर्यो । सुइखेत क्षेत्र डुबान पर्दा करिब २ सय परिवार प्रत्यक्ष प्रभावित बने भने पहिरोले २ वटा घरसहित केही पशुफार्मसमेत बगायो ।

पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनाका अनुुसार डुबान प्रभावित क्षेत्रमा पानीको बहाव कमी भएसँगै केही परिवार आफ्नै घरमा फर्किसकेका छन् भने अधिकांश अझै फर्किन सक्ने अवस्था छैन । ‘डुबेका घरहरु सफा गर्ने काम चलिरहेको छ । केही फर्किनु भयो । तर, पहिरोले बगाएका र अन्य अति प्रभावितहरु अझै फर्किन सक्ने अवस्था बनिसकेको छैन,’ उनले भने, ‘अझै केही दिन लाग्छ ।’

देशभरमै सबैभन्दा बढी पानी पर्ने ठाउँ कास्कीमा मनसुन सुरु भएसँगै विभिन्न विपद्का घटना हुन थालेका छन् । सुरुआती अवस्थामा मानवीय क्षति नभए पनि बाटो, पुल लगायतमा करोडौंको भौतिक क्षति भने पुगिसकेको छ ।

पोखरा-सिक्लेस सडकमा गएको पहिरो

पूर्वतयारी

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले विपद् व्यवस्थापनका लागि महानगर तयारी अवस्थामा रहेको जानकारी दिइन् । मनसुनको सुरुआतमै पोखरा २५ डुबानमा परेको र त्यहाँका प्रभावितलाई राहत व्यवस्थापनका लागि वडास्तरबाट सुरु भइसकेको उनले सुनाइन् । ‘विपदमा पहिलेबाटै निश्चित कोष खडा गरेरै काम गरिरहेका छौं । प्राविधिक टोलीहरु पनि तैनाथ हुनुहुन्छ । उहाँहरुले क्षति पुगेको ठाउँमा कति क्षति पुग्यो, के भयो भन्ने तथ्यांक ल्याउनुहुन्छ,’ उपप्रमुख गुरुङले भनिन्, ‘त्यसपछि हामी तत्काल राहतको व्यवस्था गर्नेछौं ।’

पोखरा महानगरले अघिल्लो आर्थिक वर्षमा १ करोड रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गरेको थियो । तर, उक्त रकममध्ये आधाभन्दा बढी रकम रकमान्तर गर्दै विभिन्न खुद्रे योजनामा हालेको थियो ।

त्यो कोषबाटै मस्तिष्कघातबाट पीडित बनेका निवर्तमान मेयर मानबहादुर जिसीलाई १० लाख रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको थियो । ‘आर्थिक वर्ष सकिन लाग्यो भनेर रकमान्तर गरिएको थियो । तत्काललाई कोषमा धेरै छैन,’ उनले भनिन्, ‘आगामी आर्थिक वर्षमा कति हाल्ने भन्ने नगरसभामा फाइनल भइसकेको छैन ।’

सीडीओ कार्यालय एलर्ट

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रशासन तयारी अवस्थामा रहेको जानकारी दिए । उनले सहायक सीडीओको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमै रहेको जानकारी दिए ।

शिवप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी, कास्की

सहायक सीडीओ रिजालका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका लागि ६ जना गोताखोरसहित १७९ जना जनशक्ति तयारी अवस्थामा छन् । जसमध्ये सशस्त्र प्रहरीका ४० जना, नेपाल प्रहरीका ६९ जना र नेपाली सेनाका ७० जना जनशक्ति छन् । ‘अहिले तत्काल मनसुनजन्य विपदबाट मानवीय क्षति भएको अवस्था हामीसँग छैन । तर हामी एलर्ट नै छौं,’ सहायक सीडीओ रिजालले अनलाइनखबरसँग भने, ‘समन्वयात्मक रुपमा विपद् व्यवस्थापनका लागि सहायक जिल्ला अधिकारीको संयोजकत्वमा सबै सुरक्षा निकायसँग जोडिएर हामीले रेस्क्यु टिम बनाएका छौं ।’

रिजालले पहिरोका कारण बन्द भएको सिक्लेसको बाटो र जोखिममा परेको मादीकै खिलाङ गाउँलाई सुरक्षित बनाउन ‘नेटवर्क’ विस्तार गरिसकेको सुनाए । उनले स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई पनि तत्काल राहत र उद्दारका लागि सूचना जारी गरिसकेको बताए । ‘त्यसबाहेक पनि अरु ठाउँमा विपद् नआउने भन्ने हुँदैन । एकपटक भएको ठाउँमा दोहोरिन पनि सक्छ, त्यसमा पनि हामी गम्भीर छौं,’ सहायक सीडीओ रिजालले भने, ‘त्यसका लागि जल तथा मौसम विज्ञान विभागबाट जारी भएका सूचनाहरु र सचेतनाहरु सबैसम्म पुर्याउन एकदमै एलर्ट छौं ।’



Binod Ghimire

Post a Comment

0 Comments