New templates on your Email

एमसीसी सम्झौताबारे जसपाको निर्णय आज

१४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे आज निर्णय गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका छन् । शुक्रबारको बैठकमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यकारिणी सदस्यहरुलाई वितरण गरिएको थियो ।

आजको बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा राख्ने र पार्टीको आधिकारिक धारणा तय गर्ने नेताहरुले बताएका छन् ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन छन् ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रिय राजनीति नै तरंगित भएको बेला सत्ता साझेदार दल जसपा अनिर्णित छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एमसीसीबारे अनिर्णित छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस एमसीसी छिटो संसदबाट पास गर्नुपर्ने पक्षमा छ । तर सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि एमसीसीको विपक्षमा छन् । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विपक्षमै छ ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमसीसीको विपक्षमा हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने पक्षमा उभिएको छ ।

एमसीसी अनुमोदन सम्बन्धी सम्झौता प्रतिनिधि सभा बैठकमा यही फागुन ५ गते पेश भएको थियो । तर बहुमत जुटाउन सकस भएपछि पास हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दै छ ।



Binod Ghimire

Post a Comment

0 Comments