New templates on your Email

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात, राजमार्ग अवरुद्ध

१४ पुस, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ ।

लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली,  खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

सडक अवरुद्ध

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको छ । हिउँ पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार राजमार्ग खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको छ ।

बाजुरा, बझाङ, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएपछि चिसो बढेको छ । चिसो बढ्दा जनजीवन कष्टकर भएको छ ।

पहाडी जिल्लामात्र नभएर मंगलबार राति कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वर्षा भएपछि चिसो बढेको छ । चिसोले वृद्धवृद्धा र बालबालिका प्रभावित हुनसक्ने भन्दै चिकित्सकहरुले ख्याल राख्न आग्रह गरेका छन् ।

 



Binod Ghimire

Post a Comment

0 Comments