New templates on your Email

सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन

१६ साउन, काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिएको पाइएको छ ।

दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको पाइएको एसएसपी मनोजकुमार यादव नेतृत्वको छानविन समितिका एक अधिकृतले अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘दरबारमार्ग प्रहरीको सीआरभी टोलीका चालक कडायतलाई हातमा सुन पोको दिइएको रहेछ ।’

घटनामा पक्राउ परेका तीन अभियुक्तले कडायतलाई सुन दिएको बयान दिएका थिए । घटनास्थल वरपरको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजले यसलाई पुष्टि गरिसकेको छ ।

जवान कडायत लामो समय लाजिम्पाट विटमा काम गरेका थिए । त्यहीँ उनको जेम एण्ड ज्वलरी पसलका सञ्चालक कौशल पटेलसँग चिनजान भएको थियो । पटेल तिनै हुन्, जसले अवैध १५ किलो सुन आउँदैछ भन्ने सूचना कडायतलाई दिएका थिए ।

कडायतले यो सूचना दरबारमार्ग प्रहरीका घुमुवा प्रसन श्रेष्ठलाई दिएका थिए । र, श्रेष्ठले दरबारमार्गका डीएसपी दाहालसम्म याे सूचना पुर्याएका थिए ।

उनलाई प्रहरीले मंगलबारै पक्राउ गरिसकेको छ । घटनामा संलग्न भएका आरोपमा पूर्वी नवलपरासीबाट पक्राउ परेका देवान पटेलका उनी भाइ समेत हुन् ।

यो पनि पढ्नुहोस सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

डीएसपीलाई पनि झुक्काइएको आशंका

उनले सोमबार राति अवेर दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई सुन आउँदै गरेको सूचना दिएका थिए । मंगलबार बिहान ७ बजे पुनः सुन आउँदैछ भनेर पुनः दाहाललाई जानकारी गराइएको पाइएको समितिका एक अधिकृतले बताए ।

‘यो सूचना सादा पोशाकका श्रेष्ठले डीएसपीलाई दिएको पाइएको छ, यतिञ्जेल जवान कडायतको सूचना हो भन्ने दाहाललाई पनि थाहा नभएको देखिन्छ’, समिति स्रोतले भन्यो ।

डीएसपी दाहाललाई मारियट होटल छेउको अपार्टमेन्टबाट सुन र हात्तिसारको भिसा स्टेसनतिरबाट गाडी आउने भनिएको थियो । त्यही सूचनाका आधारमा डीएसपी दाहालको टोली सिद्धार्थ बैंक छेउ एम्बुस थापेर बसेको थियो ।

तर गाडी त्यो बाटोबाटै नआएको पाइएको छ । अपार्टमेन्टबाट सुन भएको गाडी कमलपोखरी हुँदै कटेको सीसी टीभी फुटेजबाट पनि देखिएको स्रोतले बतायो । गाडी भद्रकाली, सुन्धारा, त्रिपुरेश्वर, सुन्धारा हुँदै फेरि भद्रकालीको बाटो फर्किएको पाइएको छ ।

त्यही वेला जवान श्रेष्ठले गाडी उम्किएको भन्दै डीएसपी दाहाललाई खबर गरेको भेटिएको छ । ‘प्रहरीलाई देखेर एउटा सुनको पोको गाडीबाट फ्यालिएको उनले बताएको पाइएको छ’, छानविन समिति स्रोतले अनलाइनखबरलाई भन्यो, ‘लगत्तै डीएसपी दाहाल सुन्धारामा पुगेको देखिन्छ, त्यहीँ जवान कडायत पनि अपरेशनमा संलग्न भएको उनले थाहा पाएका छन् ।’

त्यतिञ्जेल जवान श्रेष्ठले सुनसम्बन्धी सूचना आफ्नो मात्र भएको बताएका थिए ।

यो पनि पढ्नुहोस सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?

कडायतमाथि शंकै शंका

छानविन समितिले जवान कडायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।

तस्कर समूहसँग निरन्तर मोबाइल सम्पर्कमा रहेका देखिएका जवान कडायतले ट्याक्सीमा सवार भरियासँग मिलेर सुन लुकाउन खोजेको हुनसक्ने समितिको आशंका छ । कडायतले त्यसका लागि सादा पोशाकका जवान श्रेष्ठलाई प्रयोग गरिएको हुनसक्छ ।

‘वृत्त प्रमुखलाई ढिलो सूचना दिएर तस्कर समूहको मुभमेन्ट हुने बाटो समेत उल्टो बताउनुले जवान कडायतमाथि शंका छ’, छानविन समितिका एक अधिकृत भन्छन्, ‘राति अवेर दिएको सूचनाकै कारण डीएसपीले पनि अपरेशनको पूर्ण तयारी गर्न नसकेको देखिएको छ ।’

दुई जवानले गाडी कटेको भनेर ढिलो गरी दिएको जानकारीकै कारण पनि सीमामा गाडी नम्बर टिपाउन ढिला भएको पाइएको समितिका अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार डीएसपी दाहालले सुन्धारा पुग्ने वित्तिकै प्रहरी कन्ट्रोलमा गाडी नम्बर बा ६ च ५५१९ नम्बर गाडी भागेको भनेर टिपाएका छन् । उक्त गाडी बिहीबार ललितपुरको नख्खिपोटमा बरामद भएको छ ।

तर उक्त स्पर्कोपियो गाडी बुधबार राति मात्र अमरबहादुर राईको घरमा राखिएको पाइएको छ । त्यसैले घटनालगत्तै गाडी कता लगिएको थियो भन्ने पनि खोजी भइरहेको छ ।

अझ रोचक त के छ भने सीसीटीभी फुटेजमा भएको गाडी र बरामद गाडीको स्वरुपमा भिन्नता देखिएको छ । प्रहरीसँग भएको गाडीको पछाडि भर्‍याङ र ऐना छ भने बरामद गाडीमा दुवै देखिन्न । त्यसैले १५ किलो पहेँलो धातु बरामद प्रकरण थप रहस्यमय बनेको छानविनमा संलग्न अधिकृतहरु बताउँछन् ।

यो पनि पढ्नुहोस दरबारमार्गका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

Gaurav Pokharel

Post a Comment

0 Comments