New templates on your Email

निजामती विधेयकले कर्मचारीको मनोबल कमजोर बनायो : पेशागत महासंघ

१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ ।

महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति देखिएको भन्दै त्यो सुखद नभएको बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘देश गणतन्त्रमा गएको बेला सबैको अधिकार र सुविधाको बढोत्तरी हुनु पर्नेमा निषेधमा जाने र कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ती प्रकट हुनु सुखद विषय होइन तथा यसले निजामती कर्मचारीको उत्प्रेरणा घटाउने र मनोबल कमजोर पार्ने अवस्था श्रृजना हुन्छ ।’

राष्ट्रिय स्तरका ट्रेड युनियनलाई निषेध गर्न नहुने भन्दै महासंघले अहिले भइरहेकै व्यवस्था कायम राख्न माग गरेको छ । ‘हरेक श्रमिक कर्मचारीलाई आफूले रोजेको ट्रेड युनियनको सदस्य हुन पाउने अधिकार आई.एल.ओ. को कन्भेन्सन ८७ तथा संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको मानव अधिकारको घोषणापत्रमा समेत उल्लेख भएको विषय हो । नेपालको संविधानले समेत संगठन स्वतन्त्रता र श्रम अधिकारको प्रत्याभूती गरेको अवस्था हो,’ महासंघले भनेको छ, ‘यस सम्बन्धमा २०६३ बैशाख २८ गते तत्कालीन प्रतिनिधिसभाबाट पारित सर्वसम्मत प्रस्ताव तथा २०६४ आषाढ १० गते कर्मचारी र सरकारसँग भएको सम्झौता समेतको आधारमा राष्ट्रियस्तरका ट्रेड युनियनलाई निषेध गर्ने व्यवस्था वाञ्छनिय हुदैन ।’

संघीय निजामती सेवा ऐनमा प्रस्तावित उमेर सम्बन्धी व्यवस्था, पदपूर्ति सम्बन्धी व्यवस्था, सरुवा सम्बन्धी व्यवस्था र अवकास सम्बन्धी व्यवस्था आम कर्मचारीको वृत्ति विकास र हक हितसँग सम्बन्धित विषय भएको भन्दै महासंघले यि व्यवस्थाहरु परिवर्तन गर्दा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड  युनियनसँग छलफल र सहमतीबाट परिवर्तन गर्नुपर्ने जनाएको छ ।

निजामती कर्मचारीहरुको मनोबल, उत्प्रेरणा र चासोको सम्बोधन गर्नु पर्ने बताउँदै महासंघले भनेको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा निजामती कर्मचारीले समेत महत्वपूर्ण भूमिका निभाई गणतन्त्र स्थापना गर्न जागिर र जीवनको प्रवाह नगरी जनआन्दोलनमा सहभागी भएका हुन् । प्राप्त गणतन्त्रले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको र समाजवाद उन्मुख राज्य व्यवस्थाको मार्ग निर्देशन गरेको अवस्थामा अब निर्माण हुने प्रत्येक कानुन जनमुखी, लोकतान्त्रिक तथा सम्बद्ध पक्षको चासोलाई सम्बोधन गर्ने हुन आवश्यक छ ।’

महासंघका अध्यक्ष प्याकुरेलले विज्ञप्तिमा लेखेका छन्, ‘संघीय निजामती सेवा ऐनले मुलुकी प्रशासनको मूख्य भूमिका खेल्न निजामती कर्मचारीहरुको मनोबल, उत्प्रेरणा र चासोको सम्बोधन गर्नु पर्दछ । देश गणतन्त्रमा गएको बेला सबैको अधिकार र सुविधाको बढोत्तरी हुनु पर्नेमा निषेधमा जाने र कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ती प्रकट हुनु सुखद विषय होइन तथा यसले निजामती कर्मचारीको उत्प्रेरणा घटाउने र मनोबल कमजोर पार्ने अवस्था श्रृजना हुन्छ । त्यसैले उपरोक्त विषयहरुमा गहन छलफल गरी निष्कर्षमा पुग्न आग्रह गर्दछौं ।’



Binod Ghimire

Post a Comment

0 Comments