New templates on your Email

लकडाउनले शान्त निकुञ्ज, प्रसन्न पशुपन्छी

१८ जेठ, चितवन । कोरोना भाइरसको त्रास एवम् लकडाउनले मानिसहरू घरभित्र र वरपर सीमित छन् । पर्यटक बनेर निकुञ्जमा जंगल सफारी गर्न जाने त धेरै परेको कुरा बन्यो । तर, निकुञ्जमा पर्यटक जान बन्द भएपछि जीवजन्तु र पशुपंछीमा भने स्वतन्त्रता र उन्मत्त खुसी देखिन्छ ।

लकडाउन अघिसम्म निकुञ्जमा दैनिक सयौं पर्यटक बोकेका जीपहरू ओहोरदोहोर गरिरहेका हुन्थे । निकुञ्जले दैनिक ४२ वटा जीपलाई चल्न अनुमति दिएको छ । गाडी र पर्यटकको हल्लाखल्लाले जनावरहरूसमेत भाग्ने, डराएजस्तो गर्ने गर्थे ।

कोरोना संक्रमण रोकथामका लागि गरिएको  लकडाउनले विगत ६५ दिनदेखि चितवन राष्ट्रिय निकुञ्ज शान्त छ । जीव जनावरहरू निर्धक्क भएर आनन्दपूर्वक रमाइरहेका देखिन्छन् । निकुञ्जभित्र पर्यटकीय गतिविधि नहुँदा आम्दानी त घटेको छ तर जीव जनावर र पशुपंछीहरु निष्फिक्री रमारहेका देखिन्छन् ।

गत वर्ष ३० करोड आम्दानी गरेको निकुञ्जको आम्दानी यसपटक २० करोडको हाराहारीमा झर्ने देखिएको छ । लक्ष ३८ करोडको थियो । आम्दानी घटे पनि निकुञ्जमा वन्यजन्तुको भने स्वतन्त्र विचरण बढेको देख्दा चित्त प्रशन्न हुने निकुञ्जका अधिकारीहरू बताउँछन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जनाबरहरु हिँजोआज मान्छे देख्ने वित्तिकै आक्रामक हुने, कुनै भाग्ने गर्न थालेको बताए । निकुञ्जभित्र शान्त वातावरण हुँदा वन्यजन्तुहरु ससाना बच्चाहरुसँग रमाइरहेका देख्न सकिन्छ । मृगका बथान, विश्वकै दुर्लभ एक सिङे गैँडा, मयूरहरु आफ्नै संसारमा रमाइरहेको देख्दा मन रोमाञ्चित बन्छ ।

राप्ती नदीमा पाइने विश्वकै दुर्लभ घोडियाल गोही माछा ढुकेर बसिरहेको छ । निकुञ्जको सिमसार क्षेत्रमा पाइने चराहरूको बेग आफ्नै छ । चितवनमा बढ्दै गरेको गर्मीमा धापिएका चराहरू नदीमा पौडिएर पानी छर्कर्दै उडिरहेको हेर्दा निकै रमाइलो लाग्छ ।

चैत, बैशाख र जेठ महिना चराहरुको प्रजनन् समय पनि हो । शान्त वातावरण पाए उनीहरू गुँड लगाउने र प्रजनन् कार्यमा व्यस्त बन्छन् । चराहरुको बच्चा हुर्काउने समय पनि हो, यतिबेला । निरन्तर पानी परिरहेकाले जंगलमा डढेलो पनि छैन । गोही पनि अण्डा कोरल्न थालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले गैंडाको चरनका लागि पाँच सय हेक्टर जति घाँसे मैदान तयार गरेको छ । अझै एक सय हेक्टर मैदान बनाउने तयारी भैरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती बताउँछन् । घाँसे मैदानमा सिरुघाँस गैंडा नदेखिने गरी बढेको छ । निकुञ्जले ठाउँठाउँमा बाटोहरू बनाउने, कुकाठहरु हटाउने काम गरिरहेको छ । निकुञ्जभित्र पूर्वाधारका कामहरु भैरहेको बताउँछन्, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेती ।

घाँसे मैदानलाई निकुञ्जले प्राथमिकतामा राखेको छ । घाँस काट्ने मेशिन नै ल्याएर यसपटकबाट मैदान बनाउने काम गरिएको रुपाखेतीले जानकारी दिए । उनले पाँच सय हेक्टरमा घाँसे मैदान, १५० किलोमिटर जति निर्माण र सुधार गरिएको जानकारी दिए ।

निकुञ्जभित्र कयौं जलाशय, पोखरी र तालतलैयाहरु सुकेपछि थपिएको चुनौतीको व्यवस्थापन गर्न पनि निकुञ्ज लागिपरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीको दावी छ । ‘चालु आर्थिक वर्षमा मात्रैं १० भन्दा बढी पोखरी बनायौं,’ रुपाखेतीले भने, ‘पुराना ३५ वटा पोखरीहरुको मर्मत सुधार गरिएको छ ।’

गैँडा लगायतका बन्यजन्तुका लागि खाने र रमाउने पानी पोखरी अनिवार्य भएकाले निकुञ्जले लकडाउनका बीचमा पनि यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ ।

लकडानका बेलामा सबैको ध्यान कोरोनाको संक्रमणबाट कसरी जोगाउने भन्नेतिर हुँदा निकुञ्जभित्र चोरी शिकार गर्ने अपराधीहरु प्रवेश गर्ने र जंगली जनावर मार्न सक्ने हुँदा सुरक्षा सर्तकता पनि बढाइएको छ । यो लकडाउनको अवधिमा अनाधिकृत रुपमा निकुञ्ज प्रवेश गर्ने, जीव जनावर माथि आक्रमण गर्ने झण्डै एक हजार व्यक्तिहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । नेपाली सेनाको बटुकदल गणले निकुञ्जको सुरक्षा गरिरहेको छ ।

अहिले विश्वको मानव जाति कोरोना भाइरस संक्रमणको त्रासमा छ । विश्वका अधिकांश देशमा फैलिएको कोरोना भाइरसका कारणले मानिसहरु घर भित्र नै लकडाउन भनेर बस्नुपरेको छ । तर, अन्य जीव जनावरलाई भने मानवलाई जति संकट छैन । निकुञ्जमा जीव जनावर र पशुपंछीको निस्फक्री उल्लास देख्दा मानिसका लागि यो सुविधा कहिले आउला भन्ने अनुभूति हुन्छ ।

तस्वीरहरू : कोमलचन्द्र भगत



Binod Ghimire

Post a Comment

0 Comments