New templates on your Email

भरतपुर कोरोना नियन्त्रण कार्यदलद्वारा खर्च अनुमोदन

१७ वैशाख, चितवन । भरतपुर कोरोना विषेश अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले खर्च अनुमोदन गरेको जनाएको छ । कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले कार्यदलको सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको बताए । तर, केही सदस्यहरुले भने यसबारेमा अनभिज्ञता प्रकट गरे ।

प्रदेश सरकारको १ करोड सशर्त अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पेस्की लिएको ६ लाख ५० हजार रकमलाई आम्दानी देखाइएको छ भने खर्च १ करोड २६ लाख ४८ हजार देखाइएको छ ।

प्रदेश सरकारबाट चैत २० गते आएको सशर्त अनुदानको एक करोड रकम कोरोना अस्पतालको खातामा नै पठाइएको महानगरका लेखा अधिकृत जगन्नाथ आर्यालले जानकारी दिए । अडिट गर्ने/गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल फणिन्द्र खनाल र अस्पतालका सदस्य सचिव एवम् प्रवक्ता डा. भोजराज अधिकारीलाई दिइएको छ ।

अस्पतालले दिएको विवरण अनुसार बैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । क्वारेन्टाइन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक वापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधि खरिद/मेशिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाख खर्चको सिलिङ राखिएकोमा त्यसलाई नाघेर खर्च गरिएको छ । अस्पतालले कति कुन-कुन औषधि खरिद गरेको हो भन्ने विवरण दिएको छैन । अस्पतालले पीपीई र एन-९५ मास्कमा मात्रै भ्याटसहित करीब ३४ लाख खर्च गरेको देखाइएको छ । तर, ५२ लाख २८ हजारमध्ये करीब १८ लाखको हिसाब अस्पतालले देखाएको छैन ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलले मंगलबार एक विज्ञप्ती जारी गर्दै खर्च अनुमोदन गरेको जनाएको छ । प्रवक्ता डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा अस्पतालका सामाग्री प्रचलित कानुन बमोजिम खर्च गरेको दावी गरिएको छ । उनले यस्तो दावी गरे पनि कतिपय सामान विना प्रकृृया खरिद गरेको देखिएको छ । औषधि तथा पीपीई र मास्क खरिद सरकारको प्रचलित मापदण्डअनुसार गरिएको छैन । कोसँग औषधि खरिद गरिएको हो उल्लेख नै छैन । ६ लाख २५ हजारको एसी खरिद गर्दा दरभाउ पत्र मागेको दाबी गरे पनि देखाउन अस्पतालले सकेको छैन ।

सार्वजनिक खरिद ऐनको खरिद सम्बन्धी व्यवस्थामा पान बिलमा बढीमा २० हजारसम्म सीधा खरिद गर्न पाउने व्यवस्था छ । बढीमा ५ लाखसम्मको खर्चमा तीनबाट सप्लायर्ससँग दरभाउ पत्र मागेर कम पेश गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दा माथिको खरिद गर्नु परेमा टेण्डरमा जानुपर्ने नियम कानूनमा छ । चैत ७ गते अस्पताल खुले पनि १५ गते मात्रै अधिकांश समान सप्लाई गरेको देखिएको छ । अस्पतालसँग दरभाउ पत्र माग्ने र लिने समय अपुग भएको देखिँदैन ।

अस्पतालले महेश मेडिसिन्स प्रा.लि.सँग ५० थान पीपीई ५ हजार २ सय बढी भ्याटमा खरिद गरेको देखिएको छ । तर, महेश मेडिसिन्सले २ सय थान पीपीई सोही रेटमा अस्पताललाई बेचेको बताएको छ । एकै ब्यक्तिका अलग-अलग र्फमबाट समेत सामान उठाइएको छ ।

यो पनि पढ्नुहोस भरतपुर कोरोना अस्पताल : कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका

नेशनल सर्जिकल हाउस, मेडिलाइन इक्युपमेन्ट सर्भिस, सम्वृद्धि गार्मेन्ट प्रा.लि. र महेश मेडिसिन्स प्रा.लि.बाट सामान खरिद गरेको देखिएको छ । दुई हजारदेखि २५ सय पर्ने पीपीईलाई ६ हजार ५ सयसम्म किनेको देखिएको छ ।

अस्पतालका लागि जिल्लाका विभिन्न सामाजिक तथा व्यवसायिक संघसंस्थाहरुले सुरक्षा सामाग्रीहरु सहयोग गरेका थिए । उनीहरूले सहयोग गरेको स्वास्थ्य सामाग्रीहरूको समेत बिचौलिया बनेर कार्यदलका केही चिकित्सकहरुले मिलाएको र उनीहरुसँग नगद रकम लिएको खुलेको छ । एक चिकित्सकले काठमाडौंबाट गाडीमा हालेर पीपीई, मास्क लगायतका सामाग्री ल्याएर गोदाम चलाएको चर्चा छ ।

विभिन्न संघसंस्थासँग रकम माग्दै सहयोग गर्न भनिएको थियो । कोरोना अस्पतालमा सहयोग गर्ने एक संस्थाका प्रतिनिधिले भने, ‘संकटको बेलामा हामीसँग सामान हुने कुरा त भएन, कहाँबाट ल्याउनु ? कनेक्सन त उहाँहरुकै थियो होला । हामीसँग त रकम मागे, रकम दियौं, उहाँहरुले नै सामान ल्याउनुभएको हो । यति परिमाणलाई यति पर्‍यो भन्नुभयो, होला भन्यौं, हस्तान्तरण गर्‍यौं ।’ एकातिर रकम बढी हालेर सामान खरिद गरिएको छ भने, अर्कोतिर भनेको जति परीमाणमा पनि सामान नआएको जनाइएको छ ।

खर्च अनुमोदन भएको छैन : कार्यदल सदस्य

कार्यदलका सदस्य सचिव डा. अधिकारीले विज्ञप्ति जारी गर्दै सोमबारको बैठकले आय/व्यय विवरण अनुमोदन गरेको बताएका छन् ।

तर, कार्यदलका अधिकांश सदस्यहरुले यसबारे अनभिज्ञता प्रकट गरे । ‘बैठकमा पेश गरिएको हो, तर हुन्छ भनेर कसैले भनेको देखिएन सुनिएन,’ कार्यदलका एक सदस्यले भने, ‘कसरी अनुमोदन भयो राम जाने ।’ कार्यदलका प्रवक्ता नारायण अधिकारीले आयव्यय अनुमोदनका बारेमा जानकारी नभएको बताए ।

कांग्रेसका चितवन सभापति जितनारायण श्रेष्ठ पनि खर्च विवरण अनुमोदन बैठकबाट नगरिएको बताउँछन् । ‘मैले पनि यो कुरा सुनेँ अचम्म लाग्यो, अनुमोदन भएको भए किन छानबिन समिति बनाउनुपर्‍यो,’ सभापति श्रेष्ठले भने । उनले तत्काल अस्पतालको स्टोर र लेखा सिल गरी छानबिन हुनुपर्ने बताए ।

नेकपा चितवनले यस घटनालाई राजनीतिकरण गरिएको भन्दै छानबिन अवधिभर बादविवाद नगर्न र छानबिनमा सघाउन सबैलाई आग्रह गरेको छ ।

छानबिन गर्न माग

नेपाली कांग्रेस चितवनले भरतपुर कोरोना अस्पतालमा रहेका सामग्री चोरी गर्ने कर्मचारीहरुलाई तत्काल निलम्बन गर्न माग गरेको छ ।

जिल्ला सभापति जितनारायण श्रेष्ठसहितको टोलीले मंगलवार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै चोरीमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेको हो । साथै कांग्रेसले सर्वपक्षीय अधिकार सम्पन्न छानबिन समिति गठन गरी अस्पतालमा हालसम्म भएका आर्थिक गतिविधिहरुको विवरण सार्वजनिक गर्न माग गरेको छ । जिल्ला सचिव उत्तम जोशीले कार्यदलले बनाएको छानबिन समितिको औचित्य नभएकाले अर्को समिति बनाउनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छानबिन समिति बनेको भन्दै उनले सत्य कुरा छिट्टै बाहिर आउने बताए । प्रजिअ भट्टराईले केही व्यक्तिको पहिचान भएपनि अन्य व्यक्तिको विषयमा अनुसन्धान भइरहेको बताए ।

छानबिन समितिमा बस्न अस्वीकार

कोरोना नियन्त्रण कार्यदलको सोमबार बसेको बैठकले घटनाबारे छानबिन गर्न चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा भरतपुर अस्पतालको स्टोर शाखामा प्रमुख भएर काम गरिसकेका रामहरि ढकाल र भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल छन् । उनीहरुलाई एक साताभित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन भनिएको छ ।

तर, छानबिन समिति संयोजक पौडेलले भरतपुर कोरोना नियन्त्रण कार्यदलका संयोजकलाई पत्र लेख्दै छानबिन समितिमा आफू नबस्ने बताएका छन् । राजनीतिक हिसाबले वक्तव्य तथा टिकाटिप्पणी र सूचनाहरु सार्वजनिक भइरहेकाले भन्दै छानबिन संयोजक पदमा रही काम गर्न आफू असमर्थ रहेको पौडेलले बताएका छन् ।

पौडेलको पत्रमा लेखिएको छ, ‘छानबिन समितिमा रही काम गर्नु पूर्व नै सो घटना सम्बन्धमा राजनीतिक हिसाबबाट वक्तव्य तथा टिकाटिप्पणी र सूचनाहरु सार्वजनिक भइसकेको अवस्थामा चितवन उद्योग संघ जस्तो निष्पक्ष र गैरराजनीतिक सामाजिक संस्थाको अध्यक्षको हैसियतले उक्त छानबिन समितिमा रही कार्य गर्नु संघका भावना विपरीत हुने भएकोले उक्त छानबिन समितिको संयोजक पदमा रही कार्य गर्न असमर्थ रहेको व्यहोरा जानकारी गराउँदछु ।’

कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना विशेष अस्पतालका सामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएको थियो । कर्मचारीहरुले सामान चोरी गरेको भनेर समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कागजपत्र नियन्त्रणमा लिएको छ ।

‘सुनियोजित षडयन्त्र’

चितवनको भरतपुर कोरोना अस्पतलाबाट रातिको बेला सामान उठाएर लगेका तीन जना कर्मचारीहरु, लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका सञ्जय बराल र भरतपुर महानगरका स्वास्थ्य अधिकृत सूर्य तिवारीले यस घटनालाई सुनियोजित षडयन्त्र भनेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी दोषी देखिएमा कानुन बमोजिम कारर्वाही भोग्न तयार रहेको पनि बताएका छन् ।

साथै उनीहरुले सुनियोजित कार्यमा संलग्न दोषीमाथि छानबिन गरी कानुन बमोजिम हँदैसम्मको कारबाही माग गरेका छन् । भिन्दाभिन्दै दिनको नियमित क्रियाकलापको सीसीटीभी फुटेज जोडी नियमित कार्यको उल्टो अर्थ लाग्ने गरी प्रसारण गरिएको दावी उनीहरुको छ ।



Khem

Post a Comment

0 Comments