New templates on your Email

सावधान ! तरकारी बजारबाट फैलिएला कोरोना

१७ चैत, काठमाडौं । कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ वटा तरकारी हाट बजार छन् । हरेक दिन लाग्ने हाटमा मानिसहरुको बाक्लो भीड हुन्थ्यो ।

लकडाउनको समयमा पनि बिहान र बेलुकीको समयमा ती हाटबजारमा भीड घटेको छैन । लकडाउन भए पनि बिहान बेलुका तरकारी किन्नेको भीडले जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको हाटलाई टुँडिखेलमा सारेर मानव दुरी कायम गरी सञ्चालन गर्ने नियम लगायो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार जनप्रतिनिधि र उद्योग वाणिज्य संघको पहलमा हाटबजार सारिएको थियो । तर प्रशासन कार्यालयले शनिबारदेखि अनिश्चित कालसम्मका लागि हाटबजार बन्द गराएको छ ।

‘मानिसहरुलाई अनुशासनमै राख्न नसकेपछि रोग सर्न दिनभन्दा केही दिन तरकारी नखाए केही हुन्न भन्ने अवस्थामा पुग्यौं,’ कञ्चनपुरका सहायक प्रजिअ गोकर्ण उपाध्यायले भने ।

हाटमा तोकिएको दूरी कायम नगर्ने, तरकारी किन्ने बाहनामा मानिसहरु मोटरसाइकल लिएर हिँड्न थालेपछि बाध्य भएर हाटमा प्रतिबन्ध लगाएको उनले बताए । आइतबार साँझबाट मुख्य बस्तीहरुमा जिल्ला उद्योग वाणिज्य संघको पहलमा मोबाइल घुम्ती पसल सञ्चालनको तयारी गरेको प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंले सिकेन पाठ

नेपालमा पनि कोरोना संक्रमित बिरामी भेटिएपछि त्यसको सम्भावित विस्तार रोक्न सरकारले मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

तर उपभोग्य वस्तुको अभाव नहोस् भनेर तरकारी, खाद्यान्न, दूध, औषधिलगायतका पसल भने खुला राख्न दिएको छ । त्यस्ता पसलमा हुने भीडभाडले भने कोरोना संक्रमणको जोखिम बढाएको छ ।

काठमाडौंको कालीमाटी, बल्खु, बाइसधारा, ढुंगेधारा, टुकुचा, बानेश्वरलगायतका ठाउँमा ठूला सना गरी सयौं तरकारी पसल छन् । लकडाउनको पहिलो दिन केही प्रभावित भए पनि त्यसपछि भने यी पसल निर्वाघ सञ्चालन भइरहेका छन् ।

कालीमाटी र बल्खुका तरकारी बजारमा मात्रै दैनिक दश हजार मानिस तरकारी किन्न ओहोर दोहोर गर्ने गरेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीता आचार्यले बताए ।

‘निश्चित समय खोलिने बजारमा मानिसको भीड देख्दा लकडाउनको अर्थ नै देखिएन,’ आचार्यले भने । बजारमा आएका मान्छेले रोग सार्छन् भन्ने डर भएको कालीमाटीमै आलु तथा प्याज बिक्री गर्ने ददीराम उप्रेतीले बताए ।

ग्राहक नआउ भन्न भएन

व्यापारी ददीराम उप्रेतीको कालीमाटिमा आलु तथा प्याजको पसल छ । एक जना किन्ने मान्छेका पछि अरु दुई तीन जना साथी बजारमा आउने गरेको उनले बताए । ‘एक ढक आलू जोख्न तीन जनाले आलू छान्छन्, तीन घण्टा पसल खोल्दा सयौं मानिसले आलु छोइसकेका हुन्छन्,’ उनले भने, ‘त्यो आलु फेरि मैले छुन डर लाग्छ ।’

तरकारी किन्न आउने मान्छेमा कोरोना भाइरस संक्रमणको डर नभएको उनले बताए । व्यवसायी संस्थाका अध्यक्ष गीता आचार्यले बजार व्यवस्थित र सुरक्षित बनाउने विकल्प नहुँदा तरकारी बजारबाटै कोरोना सर्ने डर बढेको बताउँछन् ।

कालीमाटीमा सुधारको प्रयास

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल केही दिनदेखिको बजारको भीडले चिन्तित बनाएको बताउँछन् ।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर, सुरक्षा निकायसहितको बैठकमा बजार व्यवस्थित बनाउन सहमति भएको पौडेलले बताए । जसअनुसार मंगलबारदेखि बिहान २ बजे देखि ७ बजेसम्म थोक बिक्री र बेलुकी ५ बजे देखि ७ बजेसम्म खुद्रा बिक्रीका लागि कालीमाटी बजार खोलिने छ ।

थोक क्रेताले ठूलो परिमाणमा सामान लैजानुपर्ने नियम बनाएको छ भने डिसइन्फेक्सन गरेर बजार सरसफाइ पनि गरिने कार्यकारी निर्देशक पौडेलले बताए ।

नियमन बाहिर अन्य क्षेत्रको बजार

कालीमाटीमा सुधारको प्रयास गरिए पनि अन्यत्रका तरकारी बजारको विषयमा धेरैको चासो छैन । काठमाडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल सोमबार बस्ने महानगरको कार्यपालिका बैठकमा यसबारे छलफल गर्ने बताए ।

‘नागरिकलाई आफैं सचेत बन भनेर हामीले भनेका हौं, हुलका हुल मान्छे बजारमा आएका छन्, अचम्म लाग्छ,’ प्रवक्ता डंगोलले भने । कालीमाटी र बल्खु बजारमा सानो क्षेत्रफल र मान्छेको भीडले गर्दा मानव दूरी कायम गरेर किनमेल गर्ने वातावरण बनाउनसमेत नसकिएको उनले बताए ।



Binod Dhakal

Post a Comment

0 Comments