New templates on your Email

सुनसान असन, सामान किन्न ३ फिटको दूरी (फोटो फिचर)

१७ चैत, काठमाडौं । काठमाडौंको प्रमुख बजार असन हिजोआज चकमन्न छ ।

लकडाउनका कारण मानिस घरबाहिर ननिस्केपछि दैनिक हजारौं मानिसको घुइँचो हुने असनमा हिजोआज फाट्टफुट्मात्र पैदलयात्री भेटिन्छन् । सामान्य समयमा पैदल हिँड्न पनि मान्छे ठेल्दै हिँड्नु पर्ने असनमा अहिले दिनभरमा एकाध मान्छेमात्र देखिन्छ ।

लकडाउनको छैठौं दिन आइतबार रत्पार्कबाट भोटाहिटी हुँदै असन जाँदा असन चोकमा २ जना सुरक्षाकर्मीबाहेक अरु कोही थिएनन् । सुनसान असन छिचाल्दै थ्योरमा पुग्दा भने अलिकति माहोल थियो ।

झमक्क साँझ पर्नै लागेकाले उपभोक्ताहरु तरकारी, फलफुल तथा खाद्यान्न किन्नका लागि त्यहाँ उपस्थित थिए । तर अन्य ठाउँमा जस्तो जथाभावी उपभोक्ता उभिएका थिएनन् ।

त्यहाँका व्यापारीले सामान किन्न ३ फिटको दूरी कायम हुने गरी ग्राहक उभिने ठाउँ बनाइदिएका थिए । सर्वसाधारणको भीढ नबढोस् भनेर स्वयंसेवक टोली नै खटिएको थियो ।

‘यहाँ आउनेहरु बुझ्दै बुझ्दैनन्, त्यही भएर हामी नियम पालना गराउन यहाँ खटिएका छौं’ काठमाडौं महानगर वडा नम्बर २७ का वडा सदस्य प्रवेशमान बज्राचार्यले भने ।

उनका अनुसार वडा कार्यालयले पसल अगाडि पहेँलो रङले घेरो बनाइदिएको छ । त्यहाँ किन्न आउने व्यक्तिहरु उक्त घेरोभित्र मात्र बस्नुपर्छ । घेरोहरुबीचको दूरी ३ फिट छ ।

व्यक्तिहरुबीच ३ फिट दूरी कायम राखे कोरोना भाइरस सर्न सक्दैन भन्ने मान्यता छ । ब्यापारी र ग्राहक दुबै पक्षलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।

तस्वीरहरु हेर्नुहोस्



Binod Dhakal

Post a Comment

0 Comments