New templates on your Email

सैनामैनामा कृषक पाठशाला शुरू

१७ फागुन, बुटवल । कृषिजन्य उत्पादन बढाउने उद्देश्यले रुपन्देहीको सैनामैनामा कृषक पाठशाला शुरू भएको छ । कृषकहरूलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला शुरू गरिएको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा नगरपालिकाका तीनवटा वडाका ७५ जना किसानहरुका लागि १६ हप्ते कृषि पाठशालामा सञ्चालन गरिएको हो । उनीहरुलाई कृषि उत्पादनका विषयमा व्यवहारिक र प्राविधिक ज्ञान–सिप प्रदान गरिने सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सृजना सुवेदीले जानकारी दिइन् ।

कृषि पाठशाला कक्षामा खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाइदा पुर्याउने र बेफाइदा पुर्याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई माटोको सुरक्षा गर्दै उत्पादनमुलक कसरी बढाउने, खाद्यान्न र तरकारी उत्पादन गर्ने तरिका, उन्नत बिउबिजन, मलजल प्रयोग, प्राविधिक ज्ञान लगायतका विषय सिकाइने सुवेदीले बताइन् ।

‘कृषि पाठशालामा सहभागी सबै किसानहरुलाई खेतबारीमै लगेर स्वस्थ बाली उत्पादन, नियमित खेतबारीको अवलोकन, मित्र जीवहरुको संरक्षण, शत्रु जीवको व्यवस्थापन, माटोको सुरक्षा, जैविक विषादी बनाउने र प्रयोग गर्ने तरिका सिकाइन्छ,’ कृषि शाखा प्रमुख सुवेदीले भनिन्, ‘यो तालिमपछि किसानमा गुणात्मक परिवर्तन आउने छ ।’

रुपन्देहीका १६ स्थानीय तहहरुमध्ये कृषि पाठशाला शुरु गर्नेमा सैनामैना पहिलो भएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । ‘सैनामैनामा कृषि र पशुपालनको प्रचुर सम्भावना भएकाले यो कार्यक्रमलाई नमूना परियोजनाको रुपमा अघि बढाइएको हो,’ नगरप्रमुख कार्कीले भने, ‘नगरभित्र व्यवसायिकरुपमा कृषि र पशुपालन गर्ने सबै किसानलाई आफैं प्राविधिक बनाउने हाम्रो लक्ष्य हो, दोस्रो चरणमा पशुपालनसम्बन्धी कक्षा पनि शुरु गर्छौंं ।’

सैनामैनालाई कृषि र पशुपालन हबका रुपमा विकास गर्ने लक्ष्यअनुसार कृषकहरुलाई प्राविधिक तालिम, बिउ, मल र मेसिनरी यन्त्रमा अनुदान दिँदै आएको उनले बताए ।

पहिलो चरणमा वडा नंं. ६, ९ र ११ का किसानलाई शुरु गरिएको कृषक पाठशाला कक्षा कार्यक्रम क्रमशः नगरका ११ वटै वडामा विस्तार गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । तालीमपछि किसानहरु सामान्य समस्यामा पनि प्राविधिक खोज्दै भौंतारिनुपर्ने समस्याबाट मुक्त हुने र कृषि उत्पादनमा हुने लागत घटेर जाने पन्थीले बताए ।



Binod Ghimire

Post a Comment

0 Comments