New templates on your Email

उपचुनाव अपडेट : साढे ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि जारी मतदान एकाध स्थानबाहेकमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, शनिबार शनिबार बिहान साढे ११ बजेसम्म करिब २५ प्रतिशतभन्दा बढी मत खसेको छ । पोखरा र डोटीमा बम विस्फोटका घटना भए पनि मतदान प्रभावित नभएको उनले बताए ।

‘अहिलेसम्म २५ प्रतिशतभन्दा बढी मतदान भइसकेको विवरण प्राप्त भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘केही स्थानमा बम भेटिए पनि त्यसले मतदान प्रभावित भएको छैन ।’

प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहे पनि कास्की र डोटीमा बम फेला परेको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् । खुला स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट भने जोगिएको छ ।

कास्की–२ मा हस्ताक्षर नगरिएको मतपत्रले गलफती परेको छ । पोखरा महानगरपालिका–३३, बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएपछि विवाद भएको हो । विवादका कारण केहीबेर मतदान स्थगित भए पनि सर्वदलीय बैठकपछि सञ्चालनमा ल्याइएको निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका–२ को कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको छ । आदर्श गाउँपालिका २ को निर्वाचनलाई लक्ष्य गरेर राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम डिस्पोजपछि अहिले यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।



Online khabar

Post a Comment

0 Comments