New templates on your Email

भारतीय सेना आएर यातना दिएको कश्मीरका गाउँलेको आरोप

१३ भदौ, काठमाडौं । कश्मीरका स्थानीयले भारतीय सेना आएर आफूहरूलाई यातना दिएको आरोप लगाएका छन् । भारतले कश्मीरलाई दिएको विशेषाधिकार खोस्ने निर्णय गर्नुअघि नै कुटपिट र यातना दिइएको गाउँहरुको भनाइ छ ।

बीबीसीले गरेको एक रिपोर्टअनुसार, कश्मीरका गाउँलेहरूले करेन्ट लगाएर भारतीय सुरक्षाकर्मीले आफूहरूलाई यातना दिएको गुनासो गरेका छन् । यसका अतिरिक्त लौरो र तार पनि कुटपिटमा प्रयोग भएको थियो । कुटपिटबाट केही गाउँलेहरूको शरीरमा चोट लागेको छ । अधिकारीहरूले यसको पुष्टि भने गरेका छैनन् ।

यस्तो आरोपपछि बीबीसीले भारतीय सेनाको प्रतिक्रिया लिएको छ । कुटपिट गरिएको कश्मीरका गाउँलेको भनाइलाई त्यहाँको सेनाले इन्कार गरेको छ । आरोप आधारहीन र निराधार भएको जिरह सेनाको छ ।

अगस्ट ५ मा भारत सरकारले जम्मु–कश्मीरलाई विशेष राज्यको मान्यता दिइएको संविधानको धारा ३७० खारेज गरेको थियो । त्यसयता यो क्षेत्र बन्द रहँदै आएको छ । भारतीय सरकारको विरोधमा भएका प्रदर्शनपछि दशौं हजार सैनिक ती क्षेत्रमा परिचालन गरिएको बीबीसी समाचारमा लेखिएको छ ।

बीबीसी रिपोर्टमा उल्लेख भएअनुसार यो क्षेत्रका झन्डै तीन हजार मानिसलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । थुनामा राखिएकामा अभियानकर्मीदेखि नेता तथा सर्वसाधारणसम्म छन् । यीमध्ये अधिकांशलाई कश्मीर बाहिरका जेलहरूमा सारिएको छ ।



Online khabar

Post a Comment

0 Comments