New templates on your Email

क्याम्पसका भित्तैभरि चिट, चोर्न नदिएको भन्दै प्राध्यापकलाई धम्की

१५ साउन, काठमाडौं । विश्वविद्यालय असल संस्कार सिक्ने सिकाउने थलो हो । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बेथितिका श्रृंखलालाई हेर्दा यो उक्तिसंगत लाग्दैन ।

कहिले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुग्छ त कहिले विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँछन् । पछिल्लो पटक भने इन्जिनियरिङ क्याम्पसका भित्तामा लेखिएका चिटले विश्वविद्यालयमा हलचल पैदा भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत क्याम्पसको कोठाका भित्तैभरि चिट कोरिएका छन् । विद्यार्थीहरु शिक्षक प्राध्यापकहरुलाई धम्की दिँदै भित्तामा चिट लेख्छन् र उत्तरपुस्तिकामा निर्धक्कसँग सार्छन् । यदि कसैले त्यसो नगर्न अनुरोध गर्दा आक्रमणको धम्की दिन्छन् । क्याम्पस कोठाका भित्ताभरि कोरिएका चिटले परीक्षाको मर्यादामाथि गम्भीर प्रश्न उठाएकाे  छ।

घटना हो, यही साउन ८ गतेको । इन्जिनियरीङ केन्द्रीय क्याम्पसको परीक्षामा विद्यार्थीहरुले चिट चोर्न खोजे । परीक्षामा गार्ड बसेकाहरुले रोक्न खोजे । परीक्षा हलभित्रै विद्यार्थीहरुले अपशव्द प्रयोग गर्दै गार्डमा बसेकाहरुलाई धम्की दिए । परीक्षा सकिएपछि पनि तिनै विद्यार्थीको समूहले केन्द्रीय क्याम्पस परिसरभित्रै उपप्राध्यापकलाई घेरा हालेर ‘परीक्षा तेरोमात्रै ठेक्का हो ? गेट बाहिर निस्केपछि के हुन्छ थाहा पाउलास्’ भन्दै फेरि धम्क्याए ।

विद्यार्थीको धम्कीका कारण आफूहरु असुरक्षित भएको भन्दै इन्जिनियरिङ क्याम्पसका १६ जना शिक्षकहरुले परीक्षा सञ्चालनमा सहभागी नहुने र नपढाउने निर्णय गरेका छन् । उच्छृङ्खल गतिविधिमा संलग्न विद्यार्थीहरुलाई कारबाही नभएसम्म काममा नफर्किने अडान उनीहरुले लिएका छन् ।
छानबिन समिति निष्क्रिय , दुई सदस्यले दिए राजीनामा

काममा नफर्किने शिक्षक तथा प्राध्यापकहरुको सामुहिक निर्णयपछि दबावमा परेको क्याम्पस प्रशासनले उक्त घटना छानविन गर्न भन्दै सहायक क्याम्पस प्रमुख गोपालसिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्‍याे। तर, समितिको बैठक औपचारिक रुपमा एकपटक पनि बस्न सकेको छैन । छानविन प्रक्रिया अगाडि नबढाएको र धम्की दिने विद्यार्थीहरुलाई कारबाही नभएको भन्दै छानविन समितिका दुई जना सदस्यले राजीनामा दिएका छन् । उपप्राध्यापकद्वय आशिष बराल र माधव रिजालले छानविन समिति सदस्यबाट राजीनामा दिएका हुन् ।
रिजालले अनलाइनखबरसँग भने, ‘गलत क्रियाकलाप गर्ने विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले कारबाही गर्न नसक्दा शिक्षक प्राध्यापकहरुको मनोबल गिर्दै गएको छ ।’

छानविन समिति संयोजक एवम् सहायक क्याम्पस प्रमुख गोपालसिंह भण्डारीका अनुसार पहिलो बैठकमा विद्यार्थी प्रतिनिधिलाई पनि बोलाइएको थियो, तर उनीहरु उपस्थित नभएपछि बैठक बस्न सकेन । अब दोस्रो चरणमा सम्बन्धित उपप्राध्यापकसँग वयान लिइने छ । उनले अनलाइनखबरसँग भने, ‘छानविन गर्ने क्रम जारी छ ।’

चरम राजनीतिकरण

कर्णालीको शैक्षिक विकासका लागि भन्दै ०६७ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भयो । विश्वविद्यालय स्थापनाका लागि थुप्रै कर्णालीबासीले पसिना बगाएका छन् । तर जनताले गरेको त्यो योगदानको कदर हुन सकेको छैन । मध्यपश्चिम विश्वविद्यालयमा प्रायः आन्दोलन, तोडफोड, तालाबन्दी र झडप भइरहन्छ ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय इन्जिनियरिङ क्याम्पसको प्रमुख सोनालाल यादव छन् । यादव नेपाल इन्जिनियर्स एसोसियसनका कर्णाली प्रदेशको सभापति पनि हुन् । उनी विद्यार्थीहरुलाई कारबाही गर्न अनिच्छुक रहेको प्राध्यापकहरुको आरोप छ ।

क्याम्पस नजिकका घर भएका एक स्थानीयबासीले भने, ‘यस्ता घटना क्याम्पसमा विगतमा पनि भएका थिए, तर क्याम्पस प्रमुखले कहिल्यै ‘एक्सन’ लिएनन्, त्यसैले विद्यार्थीहरु छाडा साँढेजस्तै भएका छन् ।’

विद्यार्थी संघ संगठनका नेता–कार्यकर्ताको उच्छृङ्खल गतिविधिमा क्याम्पस प्रशासनले आँखा चिम्लिँदा बेथिती बढेको र हरेक कार्यमा गन्धा राजनीतिकरण हुने गरेको स्थानीयको भनाइ छ ।



Online khabar

Post a Comment

0 Comments