१० माघ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका-५ हर्दिया टोलका ८ वर्षीय रोहित माझीलाई हृविल चियरलगायतका सहयोग सामग्री प्रदान गरिएको छ ।
आर्थिक अभावका कारण अपाङ्गता भएका बालक रोहित माझीको जीवन यापनमा समस्या भएको समाचार सार्वजनिक भएपछि दाताहरुले उनलाई हृविल चियर लगायतका सहयोग प्रदान गरेका हुन् ।
उनलाई हृविल चियर, नगद १० हजार, चामल २५ किलो, १० किलो चिउरा, २/२ थान कम्बल र म्याट सहयोग गरिएको छ ।
यो पनि पढ्नुहोस अपाङ्गता भएका बालकको स्याहारमा कठिनाइ
विपन्न माझी मुसहर समुदायका रोहितको घरमै पुगेर विभिन्न राहत सामाग्री हस्तान्तरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । ‘अनलाइनखबरमार्फत रोहितको बारेमा थाहा पायौं, त्यसपछि विभिन्न दाताहरुको सहयोगमा सहयोग सामाग्री संकलन गरेर बुझाएका हौं,’ उनले भने ‘ रोहितको जीवनयापनमा निकै समस्या देखिन्छ । ‘
जन्मेदेखि नै दुबै खुट्टा नचल्ने माझिको आफन्तको रुपमा वृद्ध हजुरबुवा हजुरआमा बाहेक कोही पनि छैनन् ।
रोहित जन्मेको केही दिनपछि नै बुवा मेघराज माझीको मृत्यु भएको थियो भने त्यसको केही वर्षपछि आमाले पनि छोडिसकेकी छन् ।
वृद्ध उमेरका हजुरबुवा हिरा माझी र हजुरआमाले नै रोहितको पालन पोषण गर्दै आएका छन् । विपन्न दलित समुदायका उनीहरुको सम्पत्तिको नाममा एउटा फुसको घर मात्रै छ ।
onlinekhabar2
0 Comments