New templates on your Email

सँगै रक्सी खाएर कुरा नमिलेपछि हत्या, तीनजना पक्राउ

१६ पुस, पोखरा । पर्वतका ७३ वर्षीय दिलबहादुर सार्की खुम्ब्रुखु भन्ने गाउँमा पुगे । पर्वत मोदी-२ देउपुरका दिलबहादुर झोक्राएर बसेको देखेपछि खुम्ब्रुखु निमबहादुर सार्कीले उनलाई देखे । चिनजान गरे । दिलबहादुरले ३ दिन खाना नखाएको बताएपछि निमबहादुरले खाना मात्रै होइन रक्सी नै खुवाउँछु भनेर लगे ।

बाटामा निमबहादुरका भाइ लालसिंह थपिए । निमबहादुरको घर नजिकै उनीहरुले रक्सी पिउँदै थिए । एकछिनमा निमबहादुरका छोरा बुद्धिमान आइपुगे र सँगै खान थाले । रक्सी खाँदै गएपछि उनीहरुले कुखुरा काटेर खाने भन्दै खोज्ने तरखरमा थिए । यत्तिकै दिलबहादुरले मुख छाडेको भनेर उनीहरुबीच बिवाद भयो ।

अर्को पटक पनि नराम्रो शब्द प्रयोग गरेर बोलेको भन्दै विवाद हुन थालेपछि निमबहादुरका छोरा बुद्धिबहादुरले दिलबहादुरलाई हिर्काए । त्यसपछि बुद्धिका काका लालसिंहले कुटे र अन्तिममा निमबहादुर पनि मिलेर कुटपिट गरेपछि दिलबहादुरको ज्यानै गयो ।

सँगै रक्सी खाएर भएको सामान्य विवादले दिलबहादुरको ज्यान लियो । दिलबहादुर मृत्युपछि उनीहरुले नजिकैको मोदी खोलाको पुलबाट शव फालिदिए । घटना ९ गतेको हो । त्यसको भोलिपल्ट मोदी खोलामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी शव निकालेर अनुसन्धान थाल्यो । आफूमाथि शंका नहोस् भनेर शव निकाल्नेदेखि अनुसन्धानमा सघाउनेसम्म उनै बुद्धिमान थिए । पछि प्रहरीले बुद्धिमानमाथि नै शंका गर्‍यो र अनुसन्धान बढायो । अनुसन्धानबाट बुद्धिमान लगायत ३ जनाले उनको हत्या गरेको प्रहरीले निश्कर्ष निकाल्यो । तीनै जनालाई आइतबार पक्राउ गर्‍यो ।

दिलबहादुरको हत्या आरोपमा पक्राउ परेका बुद्धिमान, उनका बुबा निमबहादुर र काका लालसिंहलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिलबहादुर सुस्त मनस्थितिका थिए ।

सुस्त मनस्थितिका दिलबहादुर घुम्दैफिर्दै खुम्ब्रुखु गाउँ पुगेका थिए ।  पक्राउ परेकाहरूले दिलबहादुरको हत्या गरी कसैले थाहा नपाओस् भनेर पुलबाट फालेको बयान दिएका छन् ।

‘सँगै रक्सी खाएर भएको सामान्य विवादपछि दिलबहादुरमाथि कुटपिट हुँदा मृत्यु भएको अनुसन्धानबाट खुलेको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पुष्टि गरे । पुलमा रगत देखिएपछि प्रहरीले  दिलबहादुरको हत्याको आशंका गरेको थियो । पुलमा माटोले रगत पुरिएको थियो ।

शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई हत्या अभियोगमा मुद्दा अगाडि बढाइएको कास्की प्रहरी प्रमुख रानाले जानकारी दिए ।



onlinekhabar2

Post a Comment

0 Comments