New templates on your Email

तिलोत्तमामा प्रादेशिक बस टर्मिनल प्रस्ताव

१४ मंसिर, बुटवल । प्रदेश ५ को अस्थायी राजधानी रहेको रुपन्देहीको तिलोत्तमामा प्रादेशिक बस टर्मिनल बनाउन प्रस्ताव गरिएको छ ।

तिलोत्तमा नगरपालिकाले वडा नं. १३ र १४ को टिकुलिगढमा प्रदेशस्तरको बस टर्मिनल प्रस्ताव गरेको हो । प्रस्तावित बस टर्मिनलको जग्गा तिनाउ नदीको नदी उकास क्षेत्र हो ।

यहाँको झण्डै ३० विगाहा क्षेत्रफलमा सुविधासम्पन्न आधुनिक बस टर्मिनल बनाउन सकिने नगरपालिकाको प्रस्ताव छ । प्रस्तावित बस टर्मिनल बुटवल–बेलहिया सडकको पत्थरडाँडा चोकबाट ६ किलोमिटर पश्चिमको दुरीमा पर्दछ ।

प्रस्तावित बसपार्कबाट तिनाउ पूलपारी झण्डै तीन सय मिटर दुरीमा बेलबास–बेथरी सडक रहेको छ । यहाँबाट भैरहवा विमानस्थलको दूरी ६ किलोमिटर रहेको छ ।

बुटवल र भैरहवामा हाल रहेका बसपार्कहरु जीर्ण र साँघुरा रहेकाले नगरपालिकाले टिकुलिगढमा प्रदेशस्तरको नयाँ बस टर्मिनल निर्माण प्रस्ताव गरेको हो ।

प्रस्तावित बस टर्मिनल निर्माणका सन्दर्भमा नगरपालिकाले शुक्रबार प्रदेश सरकारका मन्त्री, सांसद, सरकारी अधिकारीहरु, स्थानीय तहका प्रमुख, यातायात तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिलगायतसँग छलफल गरेको छ ।

छलफलका सहभागीहरुले नगरपालिकाले प्रस्ताव गरेको बस टर्मिनल समय सापेक्ष र सान्दर्भिक रहेको चर्चा गर्दै बस टर्मिनलसम्म पुग्ने सडकहरुलाई फराकिलो बनाइनुपर्नेमा जोड दिए । बुटवल–तिलोत्तमा–भैरहवा निकट भविष्यमै महानगर बन्ने भएकाले प्रस्तावित बस टर्मिनल निर्माणमा सबैको अपनत्व रहनुपर्ने सहभागी वक्ताहरुको धारणा थियो ।

प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रस्तावित बस टर्मिनल निर्माणका सन्दर्भमा छलफल गर्न प्रदेश सरकार तयार रहेको जानकारी गराए ।

नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पर्टकीय क्षेत्र लुम्बिनी, सिक्स लेन सडक, बेलबास–बेथरी सडक जस्ता पूर्वाधारले प्रादेशिक बस टर्मिनलको आवश्यकता र औचित्यलाई पुष्टि गर्ने उल्लेख गर्दै उनले यसका सन्दर्भमा प्रादेशिक योजना आयोगले समेत विस्तृत अध्ययन गर्ने बताए ।

प्रदेश सांसद दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले बसपार्कका लागि तीस बिगाहा जग्गा पाउनु ठूलो कुरा भएको उल्लेख गर्दै प्रस्ताव गरिएको स्थान उपयुक्त भएकाले कार्यान्वयनमा जान ढिलाइ गर्न नहुने धारणा राखे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि रुपन्देहीमा बढ्ने सवारी चापलाई समेत ध्यानमा राखी परिवर्तित आवश्यकतालाई पूरा गर्न सक्नेगरी नगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको अवधारणा अघि सारेको बताए ।



Binod Dhakal

Post a Comment

0 Comments