New templates on your Email

फाइनल प्रवेशका लागि नेपालले पाकिस्तानसँग खेल्दै

१४ कात्तिक, काठमाडौं । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भोलि बिहीबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै उपाधि होडलाई कायमै राख्ने रणनीतिमा रहेको छ । यता, पाकिस्तान पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा रहेको छ ।

नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समूह बि को विजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको थियो ।

यता, पाकिस्तान भने समूह चरणको दुबै खेलमा विजेता टिम हो । पहिलो खेलमा कठर प्रतिद्धन्दी भारतलाई २-१ गोलअन्तरले पराजित गरेको पाकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

बिहीबार नै एन्फा कम्प्लेक्समा दिउँसो १० बजेर ३० मिनेटमा प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूह ए को विजेता हो भने भारत समूह बि को उपविजेता टिम हो ।

बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाललाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

यता, भारतले भने आफ्नो पहिलो खेलमा नै पाकिस्तानसँग २-१ गोलअन्तरले हार ब्यहोरेको थियो । तर, अन्तिम खेलमा भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।



from खेलकुद – Online Khabar

Post a Comment

0 Comments