New templates on your Email

पशुपति क्षेत्रभित्र जेष्ठ र अशक्तलाई ट्याम्पोमा निःशुल्क

१४ असोज, काठमाडौं । पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो सञ्चालनमा ल्याइएको छ ।

वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैत्री सफा ट्याम्पो सञ्चालनमा ल्याइएको हो ।

लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको ट्याम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आइतबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

अशक्त तथा वृद्धहरुका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरणमैंत्री सफा ट्याम्पो पशुपति क्षेत्रमा संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमिद भट्टराईले जानकारी दिए ।

सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हुँदै आएको थियो । सोही अवस्थालाई ध्यानमा राखेर निःशुल्क २ वटा सफा ट्याम्पो संचालनमा ल्याइएको हो ।

६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले आइतबारबाटै लकर सेवा पनि संचालन गरेको छ । माछापुच्छ्रे बैंक लिमिटेडको आर्थिक सहायतामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनहरुको मूल्यवान सामान राख्न पाउने गरी लकरको व्यवस्था गरिएको हो ।

बैंकमा अध्यक्ष रोशन केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई हस्तान्तरण गर्नु भएको सो लकरमा भक्तजनहरुले आफ्नो सामानहरु राख्न पाउनेछन ।

मन्त्री अधिकारीले पशुपति क्षेत्रको सर्वाङगिन विकासका लागि सहयोग उपलब्ध गराएको भन्दै बैंकलाई धन्यवाद दिए । उक्त अवसरमा उनले पशुपति क्षेत्र गुरु योजनालाई ४ महिना भित्र तयार पारी यसको समग्र क्षेत्रको विकासको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री अधिकारीले हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिलाई आकर्षक बनाउने कामलाई सरकारले तीव्रता दिने योजना पनि अघि सारे । यसअघि पशुपति क्षेत्र भित्र भारत सरकारको सहयोगमा धर्मशाला पनि स्थापना गरिएको थियो ।



onlinekhabar2

Post a Comment

0 Comments