New templates on your Email

उदयपुरमा जग्गाको विषयमा नगरपालिका र वन कार्यालयबीच विवाद

१५ भदौ, उदयपुर । उदयपुरको वेलका नगरपालिका र जिल्ला वन कार्यालयबीच वन क्षेत्रको जग्गालाई लिएर विवाद भएको छ ।

नगरपालिकाले वडा नम्बर ३ को टापु क्षेत्रमा रहेको ४० विघा जमिन स्थानीयलाई ‘लेमन ग्रास’ खेती गर्न दिएपछि वन कार्यालयसँग विवाद भएको हो ।

इलाका वन कार्यालय उदयपुरको टोली गएर जग्गा कुनै व्यक्तिले उपभोग गर्न नहुने भनेपछि विवाद उत्पन्न भएको हो ।

वन कार्यालयको त्यो कदमविरुद्ध वेलका नगरपालिकाले भने आपत्ति जनाएको छ । उक्त जग्गा यसअघि सोही क्षेत्रमा वसोवास गर्दै आएका स्थानीयले उपभोग गर्दै आएको र त्यसलाई थप उत्पादनमूखी बनाउन र त्यसबाट भएको आम्दानी नगरलाई समेत बुझाउन आफूले भनेको नगरका मेयर दुर्गाकुमार थापाले बताए ।

‘त्यस जग्गा पहिलेदेखि नै स्थानीयले आफ्नो तरिकाले उपभोग गरेका थिए, तर राम्रो उब्जाउन भने सकेका थिएनन्’ मेयर थापाले भने, ‘खाली रहेको जग्गा पनि उपयोगमा आओस भन्ने चाहेका हौं, बाहिर २० वर्षका लागि भाडामा दिइएको भन्ने हल्ला फिजाइएको छ त्यो सबै गलत हो । ‘स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थालाई नै टेकेर दिइएका कारण यस विषयमा विवाद गर्न नहुने मेयर थापा बताउँछन् ।

वन कार्यालयको टोलीले उक्त जग्गा उपभोग नगर्न निर्देशन दिएर फर्किए पछि नगरपालिकाले विज्ञप्तीमार्फत वन कार्यालयले सोझा साझा जनता माथि नांगो हस्तक्षेत्र गर्न खोजेको आरोप लगाएको छ । नगरले यस वर्षका लागि मनाउन लागेको उत्पादन वर्षलाई सफल बनाउने क्रममा बाझो जमीन अतिविपन्न स्थानीयलाई दिएको र २ महिनादेखि माटो बनाउने, भारतबाट लाखौ रुपैयाँको बिउविजन ल्याएर उत्पादन गर्न लागिएको भन्दै वन कार्यालयको गतिविधिको विरोध गरेको छ ।

‘उदयपुर जिल्ला वन कार्यलयका सेक्टर अधिकृत सुरेन्द्र यादवको नेतृत्वमा दुई गाडी हतियारधारी टोली घटनास्थलमा पुगेर जनतालाई धम्क्याउने, गोली चलाउन खोज्ने, पक्राउ गर्ने, महिला बालबालिका माथि अभद्र व्यवहार गरी नांगो हस्तक्षेप गरेकोमा बेलका नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ नगरको विज्ञप्तिमा भनिएको छ ।

उता वन कार्यालयले भने सो जग्गा राष्ट्रिय वन क्षेत्रमा पर्ने र नगरपालिकाले आफूखुसी भोगचलन गर्न नपाउने वताएको छ । उक्त जग्गा उपभोग गर्ने भए कानूनी प्रक्रिया पूरा गरेरमात्रै उपभोग गर्नसमेत आग्रह गरिएको वन कार्यालयका एक अधिकारीले बताए ।

नगरपालिकाले उपभोग गर्ने भए जग्गा प्राप्ति सम्बन्धी प्रावधानलाई टेकेर काम गरेको भए विवाद नहुने वन कार्यालयका रेञ्जर पुण्य पौडेल बताउँछन् । त्यस क्षेत्रमा वन पैदावार हानी नोक्सानी केही पनि नभएको तर राष्ट्रिय वन क्षेत्रमा नगरपालकाले वनसँग समन्वय नै नगरी काम गरेकाले समस्या उत्पन्न भएको उनको भनाइ छ ।

नगरपालिकाले त्यसक्षेत्रमा सामुहिक खेती गर्न भन्दै ४० विघा जमिन एक संस्थालाई दिएको थियो । उक्त जमिनमा स्थानीयले ‘लेमन ग्रास’ को खेती शुरु गरेका छन् ।



Binod Dhakal

Post a Comment

0 Comments