New templates on your Email

कैलालीमा सुनको अभाव, रित्तो हात फर्किन्छन् ग्राहक

१५ भदौ, कैलाली । हिन्दु महिलाहरुको पर्व हरितालिका तीज नजिकिएसँगै कैलालीमा सुनको अभाव भएको छ ।

सुन अभाव भएपछि गहना खरिद गर्न आएका ग्राहकलाई रित्तै फर्काउनु परेको ब्यवसायीहरुले गुनासो गरेका छन् । माग अनुसारको सुन नआएको उनीहरुको भनाइ छ ।

कैलालीमा दैनिक ३ देखि ४ किलो सुनको माग भएपनि अहिले हप्तामा नेपाल राष्ट्र बैंकले एक किलो सुन उपलब्ध गराउँदै आएको छ ।

हिन्दु महिलाको चाड हरितालिका नजिकिँदै जाँदा मागको आधारमा सुनको आपूर्ति नभएपछि राजधानीलगायत मुलुकका विभिन्न जिल्लामा सुन अभाव भएको हो ।

धनगढीको एलनचोकमा सुन ब्यवसाय गर्दै आएका कविता सुनचाँदी पसका संचालक राजु खड्काले माग अनुसार सुन नपाउँदा ब्यापार घट्दै गएको बताए ।

उनले सुनको अभाबमा नयाँ गहना बनाउन नपाएको बताउँदै ग्राहकहरुले ल्याएको सुनको मर्मतसम्भार गर्नु बाहेक नयाँ सुन दिन नसकिएको बताए ।

धनगढीको हुलाक रोडमा सुन पसल संचालन गदै आएकी निर्मला सुन पसलकी संञ्चालक निर्मला सुनारले ४ महिनादेखि बजारमा सुनको अभाब भएको बताइन् ।

उनले हिन्दु महिलाको महान चाड हरितालिका नजिकिँदै जाँदा सुनको मागमा बढोत्तरी भएपनि आपूर्ति नहुदाँ दैनिक आउने ग्राहकहरुलाई रित्तो फर्काउनुको विकल्प नरहेको बताइन् ।

प्रदेश सातको अस्थायी राजधानी कैलालीमा मात्रै ८ सय जनाले सुनचाँदी ब्यवसाय संचालन गदै आएका छन् ।

जिल्ल्ाामा दैनिक ३ देखि ४ किलो सुनको माग भएपनि अहिले नेपाल राष्ट्र बैंकले हप्ताको एक किलो मात्रै सुन उपलब्ध गराउँदै आएको सुनचाँदी ब्यवसायी महासंघ कैलालीका अध्यक्ष कृष्णबहादुर सोपले बताए ।

उनले सुनको अभाब सुल्झाउनको लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएको जानकारी दिए ।



onlinekhabar2

Post a Comment

0 Comments