New templates on your Email

वीरगञ्जमा गोली चल्यो, लाल मोहम्मद प्रकरणमा जोडिएका भारतीय नागरिक घाइते

१६ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् ।

घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् ।

३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।

आफ्नो मुलुकविरुद्ध गतिविधि गर्दै आएको आरोप लागेका व्यक्तिहरुलाई भारतले छिमेकी मुलुकमा पेशेवर अपराधी वा विभिन्न व्यक्तिलाई प्रयोग गरेर हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ ।

सभासद् मिर्जा दिलसाद बेगपछि दुई दशकमा दश नेपाली नेपाली नागरिकमाथि अज्ञात गिरोहले गोली दागेको छ । उनीहरु आईएसआई एजेन्ट भएको भारतीय पक्षको दाबी हुन्छ, तर प्रहरी अनुसन्धान अधिकांश घटनामा निष्कर्षसम्म पुगेको छैन । गोठाटारमा मोहम्मदको हत्या पनि त्यसैको श्रृंखला हुनसक्ने सुरक्षा सम्बद्ध स्रोतको भनाइ छ ।

मोहम्मद प्रकरणमा के हो भूमिका ?

गणेश कुमार समेत भनिने पासवान भारत, मोतिहारीस्थित रक्सौल थानाका स्थायी वासिन्दा हुन् । आन्दाजी ४१ वर्षका उनले मोहम्मद हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएका थिए ।

रक्सौलबाट पासवानले पेस्तोल र त्यसमा लाग्ने गोली वीरगञ्जका २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई दिएर पठाएको थियो । उनीहरुले काठमाडौंमा आएर बब्लुले प्रयोग गरेका ‘दिनेश’ भनिने व्यक्तिलाई हतियार दिएका थिए । त्यसवापत बब्दुले उनीहरुलाई ४० हजार रुपैयाँ दिने बताएका थिए ।

हाल फरार रहेका नितिन मदनले व्यवस्थापन गरेको मोहम्मदको घर नजिकैको ‘कोशी पारि गेष्ट हाउस’मा सुटरहरु बसेका थिए । मोहम्मद मारिनु केहीअघिदेखि सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भनिने ममता तिवारीले मोहम्मदको रेकी गरेका थिए ।

त्यसबेला मोहम्मदको सम्पूर्ण ‘मुभमेन्ट’को विवरण ह्वाट्स एपमार्फत भारतमा पासवानलाई पठाएको भेटिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनको मोबाइलमा मोहम्मद मारिनुअघिको फोटो तथा भिडियोहरु पठाइएको थियो ।

प्रहरीले १४ असोज २०७९ मा घटनामा संलग्न रहेको आरोपमा स्याङ्तानलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनले बयानका क्रममा रेकी गरेवापत बब्बुले तिवारीको खातामा डेढ लाख रुपैयाँ जम्मा गराइदिने सहमति भएको खुलाएका थिइन् ।

‘त्यो रकमबाट मलाई केही हिस्सा दिने भनिएको थियो’, उनले भनेकी छन्, ‘त्यसपछि कोशी पारि गेष्ट हाउसमा बसेर काम गरिरहेका थियौं ।’

मोहम्मदलाई गोली लागेपछि तिवारीले आफूलाई फोन गरेर ‘अब यहाँ बस्नु सुरक्षित छैन, रक्सौल जाउँ’ भनेको उनले बयानमा भनेकी छन् । त्यसपछि दक्षिणकाली हुँदै वीरगञ्ज गएर पासवानले व्यवस्थापन गरेको कोठामा बसेको उनले भनेकी छन् । त्यहाँबाट लखनउ भएर ८–१० दिन बसेको र त्यसवापत सम्पूर्ण खर्च पासवानले नै व्यहोरेको उनले खुलाएकी छन् ।

यो घटनामा बब्लुसहित भारतीय नागरिक राजु भन्ने दिनेश, गड्डु पटेल, नितिन मदन लगायत अझै फरार छन् । नितिनले सुटरलाई होटल र नेपाल बसाइको सम्पूर्ण व्यवस्थापन गरिदिएका थिए ।



Gaurav Pokharel

Post a Comment

0 Comments