आगलागीको जोखिमबाट कुनै पनि जिल्ला अछुतो छैनन् । नेपालमा त्यस्तो कुनै बस्ती छैन होला जहाँ आगलागी नभएको होस् । त्यसैले यसको जोखिम सबैतिर छ ।
घरमा आगलागीको जोखिम बढाउन हाम्रो जीवनशैली पनि ठूलै कारक हो । उदाहरणका लागि मध्यमवर्गीय परिवारको एउटा कोठालाई नै विचार गरौं न ! त्यहाँ सोफा हुन्छ, त्यसभित्र फर्म छ । पर्दा छन्, भुईंमा कार्पेट छ ।
बाहिरपट्टि तारको लठारो छ । भित्र विद्युतीय सामग्रीहरू छन् । जथाभावी राखिएका ग्याँस सिलिण्डरहरू छन् । यस बाहेक घरमा असाध्यै धेरै प्लास्टिकबाट बनेका सामग्रीहरू प्रयोग गरिएका हुन्छन् । जुन आगोका लागि आफैंमा इन्धनको स्रोत हो ।
अर्को कुरा पृथ्वीमा तापक्रम बढ्दो छ । पानी कम पर्ने भइरहेको छ, अनि जलवायु परिवर्तनले मौसमलाई खल्बल्याइदिएको छ । जस्तो कि यो हिउँदमा पर्याप्त पानी परेन, सुक्खापन बढ्दै गयो । आगलागीलाई सघाउने बाह्य कारण यी पनि हुन् ।
त्यस बाहेक झुरुप्प परेका घरहरू, सँगै जोडिएका ठूल्ठूला घरहरू पनि आगलागीका कारण हुन् । अनि हामीले प्रयोग गर्ने रङ, वालपेपर जस्ता सामग्रीले पनि आगलागीको जोखिम उच्च बनाउँदै लगेको छ ।
दमकललाई मात्रै विकल्प नसोचौं
दमकल आगो नियन्त्रणको प्रभावशाली साधन हो । तर दमकललाई आगो नियन्त्रणको पहिलो उपायका रूपमा लिनुहुँदैन । तर, यो अन्तिम विकल्प चाहिं हो ।
ठाउँहेरी दमकल आइपुग्न साधारणतया २५/३० मिनेट लाग्ला । यो अवधिमा एउटा घर जलेर सिद्धिन सक्छ । त्यसैले हरेक घरमै जोखिम कसरी कम गर्न सकिन्छ भन्ने हिसाबले तयारी गरिनु उपयुक्त हुन्छ । हामीले प्रयोग गर्ने आगोका सामग्री सलाई, मैनबत्ती, दियो, पूजा गर्ने तौरतरिकामा ख्याल गर्नैपर्छ ।
हामीले प्रयोग गर्ने सिलिण्डरको गुणस्तर हेर्नुपर्छ । त्यति मात्रै होइन, भोलि त्यसबाट आगो उठिहाल्यो भने घरपरिवारका व्यक्तिले नै त्यसलाई कसरी निभाउन सक्छन् भन्ने विषयमा पहिल्यै जानकारी राख्नुपर्छ ।
त्योसँगै ‘फायर एस्टिङ्ग्विसर (अग्नी नियन्त्रक उपकरण), होर्स रिल (पानी फाल्ने पाइप) हरू राखेको छ/छैन भन्ने जस्ता कुरामा ध्यान दिनुपर्छ । यसले आगलागी जस्तो विपद्मा नआत्तिकन काम गर्न हामीलाई सिकाउँछ ।
त्यसपछि बल्ल अन्तिम ‘लाइन अफ डिफेन्स’ को रूपमा दमकललाई हेर्नुपर्छ । अर्थात् दमकल आउनुअघि नै आगो कसरी नियन्त्रणमा लिने भन्ने विषयमा हामीसँग चेतना हुनुपर्छ ।
शहर–बजारमा बस्ने हामी आगलागी नियन्त्रण गर्न दमकल उपयुक्त साधन हुने कुरा गरौंला । तर गएको महीना जुम्लाको तिलामा आगलागी भएको ठाउँमा दमकल पुग्ने बाटो नै थिएन । यदि हामीले दमकललाई आगलागी नियन्त्रण गर्ने एक मात्र साधन सोच्यौं भने त्यस्तो ठाउँमा के गर्ने नि ? भन्न खोजेको के हो भने दमकल चाहिन्छ तर त्यो आगो नियन्त्रण गर्ने पहिलो विकल्प हुँदै होइन ।
असहज जीवनशैली अग्नि नियन्त्रणमा समस्या
हाम्रो परम्परागत ज्ञान, सीप के थियो भने काठको घर बनाउँदा भान्सा घर लिपेर माटोले काठलाई टालिएको हुन्थ्यो । ढुंगाको घरमा बल्न सक्ने अथवा आगो लाग्न सक्ने सम्भावना कम हुन्थ्यो । अँगेनो घरको बीचमा हुन्थ्यो । ओदानमा खाना बनाउँथ्यौं । अहिले गाउँगाउँमा समेत जीवनशैली फेरिएको छ ।
त्यसैले बाटोघाटो नभएको पहाडी भेगमा मात्रै होइन, समथर तराईका सबै ठाउँमा पनि दमकल पुग्ने सम्भावना हुँदैन । त्यसैले दमकललाई आगो निभाउने एउटा साधन मात्रै सोचिनुपर्छ । त्योभन्दा महत्वपूर्ण पक्ष गाउँघर र शहर–बजारमा आगो निभाउने विषयमा चेतना जगाउनुपर्छ । सकेसम्म आगलागी हुनै नदिने कथं भइहाले कसरी नियन्त्रणमा लिने भनेर उपायहरूमा छलफल चलाउनुपर्छ ।
हामीले घर कत्तिको टाँसेर बनाउने भन्ने कुरामा पहिल्यै सोच्नुपर्छ । अस्ति मात्रै ताप्लेजुङमा भएको आगलागीको कुरा गर्ने हो भने लहरै रहेका घरहरूका कारण आगो फैलिएको थियो । यसरी आगो फैलिन नदिन त्यहाँ बीचको घर भत्काउनुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसैले घर बनाउँदा ‘फायर ब्रेक’ लाइन राख्नुपर्छ भनिन्छ ।
जनघनत्व र गगनचुम्बी भवन दमकललाई समस्या
हाम्रो जनघनत्व बढेको छ । घरको संख्या बढेका छन् र घरका उँचाइ पनि बढिरहेका छन् । यसले प्रत्येक घरमा आगलागीको जोखिम बढाएको छ र भएका केही दमकलले पनि प्रभावकारी सेवा दिन नसक्ने अवस्था उत्पन्न हुँदै गएको छ । किनकि अग्ला ठाउँमा भएको आगलागीमा दमकल कर्मचारीले माथिसम्म पुगेर सेवा दिन सक्दैनन् ।
बनावटको हिसाबले घरहरू सुरक्षित रूपमा बनाइएका होलान् । तर, आगलागी हुन नदिन त्यहाँ कत्तिको सुरक्षा उपाय अपनाइएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । जस्तो कि आगलागी नियन्त्रणका लागि ‘डाउन पाइप’हरू राखिएका हुन्छन् । कतिपय अवस्थामा ती पनि पर्याप्त हुँदैनन् । एक महीनाअघि ललितपुरको सोल्टी सिटी अपार्टमेन्टमा भएको आगलागी नियन्त्रण गर्न त्यस्ता डाउन पाइपहरू अपर्याप्त भएका थिए ।
एउटा उदाहरण मानाैं शहरको कुनै अपार्टमेन्टको दशौं तलामा आगलागी भयो । त्यहाँका मानिसलाई उद्धार गर्न चाहिने पर्याप्त ज्ञाप, सीप र क्षमता हामीसँग छैन । त्यहाँसम्म पुग्ने क्षमताको दमकल र मानवीय स्रोत पनि हामीसँग छैन । त्यसैले शहरमा भवनहरू अग्ला भए तर त्यस अनुसार हाम्रो क्षमता अग्लिएको छैन ।
सकभर दमकल प्रयोग गर्नै नपरोस्
दमकल भन्ने वित्तिकै कम्तीमा पनि ७० लाख रुपैयाँ पर्छ । त्यसको सञ्चालन र मर्मत खर्च तुलनात्मक रूपमा महँगो हुन्छ । राम्रोसँग सञ्चालनका लागि कम्तीमा ६ जनाको टोली चाहिन्छ । दशैं, तिहारमा त थप कर्मचारी पनि चाहिन्छ । त्यसैले दमकल प्रयोगमा ल्याउनु सोचेजति सजिलो छैन ।
त्यसकारण म चाहिं के भन्छु भने पहिलो कुरा जोखिम नै कम गर्नुपर्छ । त्यसपछि जानी नजानी हुन गएको घटना नियन्त्रणमा लिन टोल, छरछिमेकमा हुने पानीका स्रोत इनार, पोखरी, तलाउबाट पानी पम्प गरेर दमकलभन्दा कम खर्चमा आगो निभाउन सकिन्छ ।
जस्तो कि एउटा दमकल खरीद गर्ने खर्चमा त्यस्ता १० वटा पम्प तयार हुनसक्छन् । गाउँमा कतिपय अवस्थामा त्यो सिंचाइका लागि पनि प्रयोग हुनसक्छ । विपद प्राधिकरणले यसको ज्ञान, सीप क्षमता विकासमा सघाउँछ । अब स्थानीय तहले पनि यो काम गर्नुपर्छ ।
उदाहरणका लागि नेपाल रेडक्रस सोसाइटीले असनमा पम्प राखेको छ । दमकल भए पनि पुग्न नसक्ने ठाउँमा रेडक्रसले इनारबाट पानी निकालेर आगो निभाउने प्रविधि राखेको छ । साँखुमा पनि यसको प्रयोग भइरहेको छ, अन्य केही जिल्लामा पनि यो राखिएको छ ।
अर्को मुख्य कुरा खानेपानी प्रणाली बनाउँदै गर्दा हामीले आगलागी नियन्त्रणका लागि पानीको व्यवस्था गर्न ‘फायर हाइड्रेन्ट’हरू राख्नुपर्छ । अहिले कतिपय ठाउँमा मेलम्ची आयोजनाले ‘फायर हाइड्रेन्ट’ हरू राखेको छ । यसमा अब टोलटोलमा पम्प राख्ने हो भने दमकल कुरिराख्नै पर्दैन । त्यसैले शहरी योजना बनाउँदै गर्दा आगलागी नियन्त्रणका लागि समेत पानीको व्यवस्था गर्नुपर्छ ।
सारमा भन्नुपर्दा आगलागीको स्रोत कतै न कतै हामीसँगै हुन्छ । त्यस विषयमा परिवारका सबै सदस्यलाई सचेत बनाउनुपर्छ । कथं आगलागी भइहाले निभाउन चाहिने सीप समाजमा सिकाउनुपर्छ र उपकरणहरू तयारी अवस्थामा राख्नुपर्छ । दमकल छँदैछ आगो निभाउन भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ । दमकल आगलागी नियन्त्रण गर्ने अन्तिम विकल्प मात्रै हो भनेर थाहा पाउनुपर्छ ।
(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)
Gaurav Pokharel
0 Comments