New templates on your Email

हामीलाई पाकिस्तानबारे कति थाहा छ ?

४ असार, काठमाडौं । मानवशास्त्री सन्जीव पोखरेलसँग अनलाइनखबरले झन्डै एक घन्टा गरेको यो भिडियोवार्ताका सबै प्रश्न पाकिस्तानसँग सम्बन्धित छन् ।

इतिहास, समाज र दर्शनबारे अध्ययन गर्ने पोखरेल पाँच वर्षयता पाकिस्तान बस्दै आएका छन् । उनको ‘एक अनि शुन्य’ गैरआख्यान किताब नेपालयबाट प्रकाशित छ, जहाँ क्लासिकल दार्शनिकदेखि बीसौं शताब्दीका सिद्धान्तकारबारे लेखिएको छ । गनेचुनिएका दर्जनजति विश्वचर्चित व्यक्तित्व र तिनका विचारबारे उनका दृष्टिकोण पनि उक्त पुस्तकमा समाहित छन् ।

ब्लगर पोखरेल इस्लामावादबाट तीन दिनअघि काठमाडौं आएका हुन् । उनीसँग पाकिस्तान वार्ता गर्नुको छुट्टै पृष्ठभूमि छ ।

राजनीतिबारे सामान्य चासो राख्ने नेपालीले भारतका कम्तीमा १० समकालीन नेताहरुको नाम यस्सै जान्ला । कम्तीमा २० सिनेमा कलाकार जान्ला । खेलाडी, गायक, संगीतकार, कमेडियन, फेसन डिजाइनर, व्यापारीको नाम कतिकति । भारतका सबैजसो रियालिटी शो नेपालीले हेर्नेमात्रै होइन, कतिपयमा भाग नै लिन्छन् । नेपालका थुप्रै कन्सर्ट, सभाहरुमा भारतीय कलाकार आइपुग्ने गर्छन् । नेपालीलाई भर्खरै सकिएको लोकसभा चुनाव करिब करिब भारतीय नागरिकलाई जति नै लागेको थियो । प्रदेश तहका चुनावसमेतमा नेपालीलाई कम्ता रुचि थिएन ।

नेपालबाट १,४४७ किमी टाढाको छिमेकी हो पाकिस्तान । भारतजसरी प्रत्यक्ष सिमाना नजोडिए पनि कतिपय संस्कृति र जीवनशैली मिल्छ । नेपाल-पाकिस्तान सम्बन्ध औपचारिकतामा सीमित रहे पनि सुमधुर नै छ ।

पाकिस्तानसँग दौत्यसम्बन्ध राख्दा बीपी कोइरालाले जवाहरलाल नेहरुसँग गरेका संवाददेखि आजसम्मको इतिहास हेर्दा न त नजिक, न त टाढा । पाकिस्तान दक्षिण एसियाको छिमेकमा अनेकौं उतारचढाव खप्दै अघि बढ्दो छ ।

यति नजिक भएर पनि हामी पाकिस्तानलाई कति चिन्छौं ? त्यहाँका कति नेता, कति कलाकार, कति खेलाडी, कति नागरिक समाजका सदस्य चिन्छौं ? पूर्वक्रिकेटर इमरान खान, जो यति बेला त्यहाँको संसदमा प्रतिपक्षी नेता छन्, हामी उनलाइ चिन्छौं । तर हामीमध्ये धेरैलाई यति बेला त्यहाँका प्रधानमन्त्री को छन् भन्ने थाहा नहोला ।

हामीले भारतको ठिकठिकै चर्चामा रहेको सिनेमा हेरिसकेका हुन्छौं । त्यसबारे क्रियाप्रतिक्रियामा सामेल भइसकेका हुन्छौं । भारतको नागरिक समाजलाई प्रभाव पार्ने अभियन्ता, लेखक, पत्रकार सबैबारे थाहा पाइसक्दा पनि पाकिस्तानका प्रमुखमध्येका दुई चार नाम जान्न पनि हामीलाई कठिन हुन्छ ।

पोखरेलले यो भिडियो वार्तामा पाकिस्तानको अस्थिर राजनीति, विभिन्न सहरका नागरिकहरुको छरिएको मनोविज्ञान, सेनाको दबदबामा परेको नागरिक जीवन, धार्मिक मुल्लाहहरुले कब्जा गरेको राष्ट्रिय नीति, शिक्षा इत्यादिबारे सविस्तार चर्चा गरेका छन् ।

पाकिस्तानमा महिलाहरु किन पछि परेका छन्, त्यहाँको नागरिक सर्वोच्चता किन कमजोर छ, अनि राष्ट्रवाद, धर्मलगायत विषयमा देखा पर्ने अतिवादका कारण किन पाकिस्तानका सकारात्मक पक्षहरु पनि छोपिएका छन् भन्ने उनले आफ्ना अवलोकनमा आधारित टिप्पणी गरेका छन् ।

पोखरेलसँग बसन्त बस्नेतले गरेको यो भिडियो वार्ता :



Khemraj wali

Post a Comment

0 Comments