New templates on your Email

बागी डम्फुको आवाज : मासिन्या

संघर्षपूर्ण थियो जीवन, सारा सुख–सुविधाबाट वञ्चित। तैपनि राजधानी नजिकैको तामाङ गाउँ ‘गाङनाम्सा’ का बासिन्दाहरू खुसी नै देखिन्थे। तामाङ भाषामा गाङ भनेको डाँडो हो र नाम्सा भनेको खुला आकाश।

गाउँको नाम जस्तै खुला आकाशमुनि ती तामाङहरू कर्मशील जीवन बाँचिरहेका, फुर्सदमा डम्फुको तालमा नाचिरहेका थिए। स–साना खुसी सँगालेर रमाउने जनजातीय विशेषता नै हो, फराकिलो मन, फरासिलो बोली। उनीहरूसँग आफ्नै जमिन थियो। आफ्नै भाषा, परम्परा, संस्कार र संस्कृति थियो। सबैभन्दा ठूलो कुरा उनीहरूसँग सपना थियो।

त्यही गाउँको एक युवक च्याङ्बा आफ्ना आपा आमाको सपना पूरा गर्न छ्योर्तेन बनाइरहेको हुन्छ। अब यो छ्योर्तेन उसको सपना बन्छ। त्यसैले ध्यान धुन सबै यसैमा लगाइरहेको छ।

सपना अर्को पनि छ, उ र उसकी मायालु प्रेमिका साङ्मोले देखेको साझा सपना। उनीहरू मायाको संसार सजाउँदै सुन्दर जीवनको परिकल्पना गर्न थाल्छन् बिहे गर्ने, बच्चा जन्माउने।

तर, त्यो सुन्दर गाउँ सधैं सुन्दर रहँदैन। अधुरो छ्योर्तेन जस्तै अधुरै रहन्छ, च्याङ्बा र साङ्मोको सपना। जब तामाङ गाउँमा राज्यसत्ताको दमनले प्रवेश गर्छ, सबथोक तहसनहस गरिदिन्छ। तामाङ बस्तीका बासिन्दालाई आफ्नो भूमिबाट विस्थापित गरिदिन्छ। छ्योर्तेनहरू भत्काइन्छ। हिकी (ढुङ्गामा कुँदेको अक्षर) हरू मेटाइन्छ। मानौं, गाउँमा कहालीलाग्दो बाढी आएको हो।

यो संक्षिप्त कथा यतिबेला मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ को हो। मासिन्या नाटकले उत्पीडित समुदायको साझा कथा बोल्छ। राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले लेखेको नाटकलाई बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेका हुन्।

नाटकको लेखक, निर्देशक र अधिकांश कलाकार पनि तामाङ समुदायबाटै छन्, त्यसैले यो व्यक्ति स्वयंले भोगेको पीडाको अभिव्यक्ति हो। साहित्य, अभिनय कौशल र संगीतको त्रिवेणी बनेको यो नाटक सिर्जनात्मक विद्रोहको उद्घोष हो। अन्याय विरुद्ध बजेको डम्फुको आवाज पनि हो। मासिन्या उत्पीडित समुदायको प्रतिरोधी हस्तक्षेप भएकाले यसमा राजनीति छ। यसले रिस र आवेग बोकेको छ, तर सँगसँगै ठट्टा र प्रेम छ।

नाटकले दर्शकलाई डेढ घण्टाभरि तानिरहन्छ, अब के होला भन्ने भावसहित। किनभने एक अभियान या आन्दोलन हुँदाहुँदै पनि यसले रुखासुक्खा नारा बोकेको छैन। कलात्मक बान्की, आदिवासी गीत, संगीतको माधुर्य, कलाकारहरूको अभिनय कौशल आदिले यसलाई झनै सशक्त बनाएको छ।

नाटकमा महिला पात्रहरूको भूमिका सशक्त छ। यसले आदिवासी जनजाति समुदायका महिलाहरूले गर्दै आएको नेतृत्वदायी भूमिकालाई पनि देखाउँछ। १९ वर्षकी सानुमाया तामाङले ७९ वर्षको माम (हजुरआमा) को भूमिका सशक्त तरिकाले निर्वाह गरेकी छन्। उनलाई हेर्दा आफ्नो हजुरआमाको सम्झना पटक–पटक आउँछ।

तामाङ बहुल बस्ती भए पनि त्यस गाउँ विकास समितिको अध्यक्ष खस आर्य समुदायको शोभाकान्त बनेको थियो। ऊ सम्पन्न छ, सदरमुकाममा घर भाडामा लगाई गाउँमा सुखी जीवन बिताइरहेको छ। उसले च्याङ्बाको आस्याङलाई गाई पाल्न दिन्छ। तर त्यो गाई भीरबाट लडेर मर्छ, र गाउँलेले मरेको गाईको मासु खान्छन्।

प्रहरी चौकीमा गाई मारेर खाएको उजुरी पर्छ। सोधपुछ गर्दा च्याङ्बा भन्छ, ‘गाई मारेर खाएको होइन, गाई मर्‍यो खायो।’ अर्थात् गाई मर्‍यो र खायो। तामाङ लवजमा खस बोली बोल्दा मर्‍यो पनि मार्‍यो भन्ने सुनिन्छ। यसरी लवजको भिन्नताले उसले गाई मारेर खाएको ठहर्छ र गौ हत्याको मुद्दा लाग्छ।

त्यसपछि देखिन्छ, दमनको डर लाग्दो स्वरूप। मान्छेको जीवनको मूल्य एउटा जनावरको भन्दा कम ठानिन्छ र निरपराध च्याङ्बाहरू सजाय भोग्न अभिशप्त हुन्छन्।

शोभाकान्त गाउँको चल्तापुर्जा व्यक्ति हुनाले उसैको शरणमा न्याय माग्न जान्छन् गाउँलेहरू। किनभने उसको भाषा र राज्यको भाषा एकै छ। प्रहरीले समातेको च्याङ्बालाई छुटाउन शोभाकान्तलाई लालपुर्जा र गहना बुझाउन पनि तयार हुन्छन् च्याङ्बाका आफन्तहरू। नियति र विभेदका यस्तै अनेकन् कारणले उनीहरू आफ्नो भूमिबाट विस्थापित हुन बाध्य हुन्छन्।

जसरी नाटक फ्ल्यासब्याक शैलीसँगै अगाडि बढ्छ, त्यसरी नै म विगतका गल्लीहरूमा भौंतारिन्छु। उहिले उहिले हाम्रो गाउँतिरका एपी, मि (बज्यै बाजे) हरूको तामे (कथा) मा ‘गाईमारा मुद्दा’ को प्रसंग पटक–पटक आउँथ्यो। त्यतिबेला हामी तामे सुन्ने बच्चाहरू गाईमारा मुद्दा भनेको के हो, बुझ्दैनथ्यौं। तर, नाटक हेर्दै गर्दा लाग्यो- एपी र मिले सुनाउने तामे नै नाटकको रूपमा हेर्दैछु।

म ती दिनहरू सम्झिंदै थिएँ। केही समय पहिले एकजना मिले भनेको कुरा सम्झिन्छु, उनले भनेका थिए– ‘उबेला मरेको गाईको मासु खाएपछि पनि हड्डी र टाउको रातारात कि त जमिनमा गाड्नु पर्थ्यो कि खोलामा बगाउनुपर्थ्यो। गाईको मासु खाने हुनाले हामीलाई गाई खाने भोटे भनेर हेयको नजरले हेर्थे र हामीले छोएको ठकुरीहरूले खाँदैनथे। हामी उनीहरूको घरमा पस्न पनि पाउँदैनथ्यौं। उनीहरू पनि हाम्रोमा पस्दैनथे। पुलिस सँगसँगै ठकुरीहरूको पनि निकै डर हुन्थ्यो। डरैडरमा बाँचेका थियौं हामी।’

उनले थपे, ‘गौ हत्याको मुद्दा लागेपछि छिमेकी देशमा भागेर गएको मान्छे आफ्नो देश फर्किनै नपाई उतै मर्‍यो, यता बाआमाको जीवन छोराको पर्खाइमा सकियो।’ राजधानी नजिकैको तामाङ समुदायको वरिपरि बुनेको नाटकमा राजधानीभन्दा कोसौं परको हुम्लाका सीमान्तकृत समुदायले भोगेको पीडा महसुस गरिरहेकी थिएँ म।

मासिन्याले आफ्नै थातथलोबाट विस्थापित हुन बाध्य भएको समुदायको कथा मात्रै खोतल्दैन, यसले वर्षौंदेखि दमन र उत्पीडनबाट पछाडि पारिएका समुदायको जीवन्त तस्बिर पनि देखाउँछ। भाषिक दमन तीमध्ये एक हो।

नेपाली शासक वर्गले अन्य समुदायमाथि लादेको एकल भाषा नीति एक समस्या हो। राज्यसत्ताले आफूले बोल्ने भाषा नै गैर खस नेपाली भाषीमाथि लादेर एकल भाषाको प्रभुत्व कायम गर्‍यो र यसले सीमान्त समुदायका मान्छेहरूलाई झनै सीमान्तमा पुर्‍याउने काम गर्‍यो। अनि समान अवसरबाट वञ्चित गरायो। भाषिक रूपमा पछाडि पारेपछि राज्यको साधन–स्रोत पनि टाढा हुने नै भए।

आज राज्य संरचनाको महत्वपूर्ण निकायहरूमा सीमान्तकृत समुदायको प्रतिनिधित्व किन न्यून छ ? के यसमा एकल भाषा, एकल संस्कृतिको प्रभुत्वले असर गरेन होला ? किन आज पनि च्याङ्बाहरू गौ हत्याको आरोपमा पक्राउ पर्छन् ? किन आदिवासीहरूको भूमि विभिन्न बहानामा खोसिंदैछ ?

भाषाको राजनीति पनि डरलाग्दो छ। भाषाकै कारणले भोग्नु परेको पीडाको परिपूर्ति कसले गर्छ ? यी अहिलेको नेपालका जटिल प्रश्नहरू हुन्।

मासिन्या नाटकले भाषाको विभेदले गर्दा कसरी सोझो मान्छे परिबन्दमा फस्छ भन्ने त देखाएको छ नै, सँगसँगै विकास र आदिवासीको सम्बन्ध पनि उजागर गरेको छ। विकास भनेको के हो ? केलाई विकास भन्ने ? नाटक हेर्दै गर्दा पटक–पटक यस्ता प्रश्नहरू दिमागमा आउँछन्। गाउँमा बाटो, बिजुली आदि चाहिएको त छ तर, विकासले विकास मात्र ल्याउँदैन बेथिति पनि लिएर आउँछ। यसले समुदाय सँगसँगै पर्यावरणमा कस्तो प्रभाव पार्‍यो भन्ने प्रश्न पनि अहम् छ।

विकासको नाममा साङ्मो र च्याङ्बाहरूको जल, जमिन र जङ्गल कसले खोसिरहेको छ ? कसले उनीहरूलाई आफ्नो भूमिबाट विस्थापित हुन बाध्य पारेको छ ? मासिन्याले यस्ता अनेकौं प्रश्नबारे सोच्न पनि बाध्य बनाउँछ।



Khemraj wali

Post a Comment

0 Comments