New templates on your Email

नेपालले आज नामिवियासँग खेल्दै

९ फागुन, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुर्याउँदै ६ विकेट लिएको थियो ।

दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए ।

पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ ।

सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् । टस हार्ने टोलीलाई ब्याटिङ गर्न सुरुवातमा चुनौतीपूर्ण हुनेछ । त्यसैले आजको खेलमा पनि टस निर्णायक बन्न सक्छ ।

नेपालले प्लेइङ ११ मा एक परिवर्तन गर्न सक्ने सम्भावना देखिन्छ । अनुभवी तीव्र गतिका बलर करण केसी टोलीमा फर्किदा देव खनाल बाहिर हुने सम्भावना रहन्छ । अन्य परिवर्तनको सम्भावना देखिदैन । नेपालले नेदरल्यान्ड्सविरुद्ध करणलाई विश्राम दिँदै देवलाई खेलाएको थियो । देवलाई खेलाउन सक्ने पाँचौं नम्बर मात्रै छ । त्यहाँ भीम सार्की हुनेछन् । त्यसैले देव पुन: बेन्चमा बस्ने सम्भावना रहन्छ ।

ओपनर कुशल भुर्तेल आक्रामक र आसिफ शेख संयमित खेल्नुपर्ने हुन्छ । पहिला ब्याटिङ गर्नु परेमा दुबै ओपनरले २० ओभरसम्म संयमित हुँदै खेल्नुपर्ने हुन्छ ।

तेस्रो नम्बरमा अनिल साह हुनेछन् । अनिल राम्रो लयमा छन् । नेदरल्यान्ड्सविरुद्ध अनिलले ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनको आक्रामक इनिङ खेलेका थिए । क्यानडासँग ५० र ११२ रनको इनिङ खेलेका थिए ।

चौथो नम्बरमा रोहित पौडेल हुनेछन् । पाँचौं नम्बरमा भीम सार्की हुनेछन् । यी पाँच मध्य एक ब्याटरले ठूलो इनिङ खेल्नुपर्छ । त्यसपछि कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा र करण हुनेछन् । टोलीको आवश्यकता र अवस्था अनुसार तल्लोक्रममा ब्याटिङक्रम टोलीले पठाउने छ ।

तीव्र गतिका बलरमा करण र सोमपाल कामी हुनेछन् । गुशनल पार्टटाइम हुनेछन् । ललित प्रमुख स्पिनर हुन् । पार्टटाइममा कुशल मल्ल, रोहित र कुशल भुर्तेल हुनेछन् ।

उता नामिवियाको ब्याटिङ मजबुत छ । ओपनरमा निकोलस डेभिन र जेपी कोट्जी हुनेछन् । तेस्रो नम्बरमा माइकल भान लिंगेन हुनेछन् । लिंगेनले गत वर्ष लिग २ मा लगातार नेपालविरुद्ध दुई शतक हानेका थिए ।

जेराल्ड इरास्मस चौथो नम्बरमा खेल्नेछन् । त्यसपछि जेन फ्रेलिंक, जेजे स्मिथ र जेन ग्रीन हुनेछन् । जेराल्ड, लिंगेन र जेजे प्रमुख ब्याटर हुन् ।

तल्लोक्रममा जान निकोल लोफ्टी एटन र रुवेन ट्रम्पलम्यान हुनेछन् । बायाँ हाते ट्रम्पलम्यान र ज्याक ब्रासेल प्रमुख तीव्र गतिका बलर हुन् । जेराल्ड र बेर्नार्ड स्कोल्ट्ज स्पिनर हुन् । जेजेले बलिङ गर्ने सम्भावना कम छ ।

नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।



Binod Ghimire

Post a Comment

0 Comments