New templates on your Email

कांग्रेसमा कोर्स करेक्सनको अवसर

अनपेक्षित घटनाले नेपाली राजनीति बेला-बेला तरंगित भइरहन्छ । पछिल्लो दशकमा यस्ता परिघटनाका सूत्रधार बनेका छन्, अग्रगामी छलाङ भनेर नथाक्ने प्रचण्ड । उनले यसपटक पनि यस्तै छलाङ हानिदिए । उसो त, यो नयाँ घटना होइन । यसअघि पनि कांग्रेससँग सत्ता साझेदारी गरिरहेकै बेला एमालेसँग पार्टी एकता गरेर ‘चक्मा’ दिएका प्रचण्डले यसपटक पनि कांग्रेसलाई चित् खुवाए ।

प्रतिनिधिसभामा पहिलो पार्टी बनाएका शेरबहादुर देउवा प्रधानमन्त्रीमा आफ्नै निरन्तरता हुनेमा ढुक्क थिए । तर, अन्तिम समयमा आएर गठबन्धनलाई ‘बाईबाई, सायोनारा’ भन्दै प्रचण्ड बालकोट पुगे । र, प्रधानमन्त्री पद हात पारे ।

प्रतिपक्ष बेञ्च, कांग्रेसलाई अवसर

‘भुइँको टिप्न खोज्दा पोल्टाको गुम्यो’ भन्दै कांग्रेसको आलोचना भइरहेको छ । कांग्रेसले के कारणले गठबन्धन जोगाउन सकेन ? हातमा आइसकेको राष्ट्रपति, सभामुखसहित प्रदेशमा नेतृत्वको अवसर कसरी गुम्न पुग्यो ? प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन नगर्न पार्टीभित्रैबाट सभापतिलाई क-कसले उकासे ? यी प्रश्नको जवाफ कांग्रेस नेतृत्वसँग छ । हातबाट सबैथोक गुमाएसँगै सभापति देउवालाई घेराबन्दीमा राखेर तर मार्न पल्किएको एउटा तप्का पनि पूर्णतः विफल भएको छ । सिंहदरबारसँगै प्रदेशको सरकार पनि गुमाएर कांग्रेस यतिखेर प्रतिपक्षी बेञ्चमा थेचारिएको छ ।

बालुवाटारबाट बालकोटको बार्दली पुग्दा अब ओली सकिए भनियो । तर, ओली नसकिएको प्रमाण सिंहदरबारमा नयाँ समीकरण बनेसँगै प्रमाणित भएको छ । जसको ‘गेम मेकर’ उनै केपी ओली हुन् । तर, के प्रचण्डलाई प्रधानमन्त्री बनाएर ओली खुस छन् ? तेस्रो स्थानमा रहेको पार्टीलाई सत्ताको नेतृत्व दिएर ओलीले ठीक निर्णय गरे ? यी प्रश्नको जवाफ पनि समयले उनीसँग खोज्ला नै ।

ओली यसपटक कांग्रेसबाट प्रचण्ड मात्र होइन सत्ताको चाबी खोस्न पनि सफल भए । तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएर ओलीले के जिते ? अथवा जित्नेछन् ? ओलीको बडी ल्यांग्वेज भनिरहेको छ, यो जितमा ओली खास उत्सव मनाउने मूडमा छैनन् । आफैंले सबैभन्दा धेरै -आफैंले भनेको ‘नानीका बा’ बोक्दा) आलोचना गरिरहेको प्रचण्ड स्वीकार्नु सायद ओलीको राजनीतिक बाध्यता हो । अस्तिसम्म ओलीसँग मिल्न नजाने रटान लगाइरहेका प्रचण्डको बालकोट यात्रा पनि बाध्यात्मक नै हो ।

यो बाध्यताको गठजोडले कांग्रेस सरकारबाहिर पर्‍यो । कांग्रेसले सत्ताको चाबी गुमाए पनि तेस्रो पार्टीलाई सत्ताको चाबी दिन इन्कार गरेर ठिकै गर्‍यो । संसदीय अभ्यासमा पहिलो पार्टीले सरकार बनाउन पहल गर्नु सामान्य थियो । तर, तेस्रो पार्टीका अध्यक्ष प्रचण्डलाई बोक्न कांग्रेस तयार भएन ।

पहिले बीपीले र अहिले विश्वप्रकाशले भनिरहेको १५ वर्ष देशमा शासन गर्ने र जनताको जीवनस्तर आफ्नो परिवारको सरह बनाउने चाहना पूरा गर्न कठिन छैन । नेतात्रयले कांग्रेस सत्ताबाट बाहिरिंदा छाएको सन्नाटा चिर्दै कार्यकर्तामा उत्साह भर्न के गर्छन् ? संसदमा कस्तो भूमिका निर्वाह गर्छन् ? अब प्रतीक्षित छ

बाध्यताले नै सही कांग्रेसको निधारमा तेस्रो पार्टीलाई सरकारको नेतृत्व दिएको कलंकको टीका लागेन । वेटिङ गभर्मेन्ट अर्थात् प्रमुख प्रतिपक्षीको भूमिका कांग्रेसलाई प्राप्त छ । संसदीय व्यवस्थामा सरकार सत्तारुढ दलको, संसद प्रतिपक्षको भनिन्छ । राम्रो भूमिका निर्वाह गरे प्रतिपक्षी भूमिका कांग्रेसका लागि अवसर बन्न सक्छ ।

तत्कालीन केपी ओली नेतृत्वको करिब दुईतिहाइ नजिकको सरकार हुँदा गगन थापा, मिनेन्द्र रिजाल, प्रकाश रसाइली स्नेही जस्ता केही सांसदले पानी पानी बनाएका थिए । सरकारलाई ठिक ट्रयाकमा हिंडाउन र नागरिकप्रति उत्तरदायी बनाउन प्रतिपक्षी भूमिका पनि सरकारको जत्तिकै महत्वपूर्ण रहन्छ । कांग्रेसले सत्ता गुमाउनुको पीडामा शोकाकुल हुने भन्दा आफूलाई पुनर्जागृत गर्न सक्नुपर्छ ।

अब परीक्षा विश्व, गगन र प्रदीपको

कांग्रेसले मात्र होइन देशले नै अपेक्षा गरेका नेताहरू हुन् महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा र नेता प्रदीप पौडेेल । संसदीय दलको निर्वाचनमा यी तिनै नेता एकठाउँमा आउँदा कांग्रेसले मात्र होइन देशले नै आशाको नजरले हेर्‍यो । कुनै ‘मिराकल’ हुँदा मात्रै थापा दलको नेता बन्नेछन् भन्ने सबैलाई थाहा थियो । तर, त्यस्तो मिराकल हुन सकेन । शेरबहादुर देउवा ६४ मत ल्याउँदा गगन २५ मतमा रोकिए । संसदीय दलको परिणाम जे आए पनि कांग्रेस पार्टीभित्र आशा भर्न सक्ने नेताहरू यिनै हुन् ।

कांग्रेस प्रतिपक्षमा पुगेपछि पोखरामा रहेका गगन थापाको प्रतिक्रिया छ, ‘पहिला प्रतिपक्षी भूमिका निर्वाह गर्न चाहन्छौं । कांग्रेस नेतृत्वमा रहेका स्थानीय सरकारबाट राम्रो काम गर्छौं । आउँदो चुनाव सबै अरू दल मिले पनि कांग्रेस आफ्नै बलमा एक्लै लड्न सक्ने बनाउँछौं ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्माले ‘डन्ट ओरी’ भन्दै निराश कार्यकर्तालाई निराश नहुन सन्देश दिएका छन् । जिम्मेवार प्रतिपक्षको रूपमा देशव्यापी मूभ गर्ने र नयाँ बिहानी ल्याउन आफूहरूले भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

पंक्तिकारसँगको संवादमा प्रदीप पौडेलले सरकारको खबरदारी प्रतिपक्षीको भूमिका खरो रूपमा खेल्दा कांग्रेसका लागि सत्ता धेरै टाढाको विषय नभएको टिप्पणी गरेका छन् । शर्मा, थापा र पौडेल प्रचण्डको सत्तारोहणसँग्ा निराश देखिएका छैनन् । यो कांग्रेसका लागि गगनले भनेको पार्टी पुनर्गठन र विश्वप्रकाशले भनेको नयाँ बिहानी ल्याउनका लागि ठूलो हतियार बन्न सक्छ । कांग्रेसले आफ्नै एकल तागतमा आउँदो सरकार बनाउने संकल्पका साथ अघि बढोस् ।

तर, के सजिलो छ ? ओली र प्रचण्ड जस्ता सत्ताका माहिर खेलाडीसँग जुध्न उनीहरूका लागि सहज छैन । तर, संसदभित्र अबको संघर्ष सत्ता भर्सेस कांग्रेसको विश्व-गगन-प्रदीप पुस्तासँगै पर्ने पक्का छ । किनकि शेरबहादुर देउवा, रामचन्द्र पौडेल पुस्तासँग अब सत्ताविरुद्ध जुध्ने जोश बाँकी देखिंदैन । त्यो जिम्मेवारी कांग्रेसमा पुस्तान्तरण हुनेछ । जिम्मेवारी मात्रै होइन अब संसदभित्र प्रतिपक्षीको बेञ्चमा लड्दै गर्दा पार्टीभित्र पनि रूपान्तरणको बहस एकसाथ चल्नुपर्छ । संसदीय दलमा एक ठाउँमा आएका युवा नेताहरू अब आउँदो महाधिवेशनसम्म एकै ठाउँमा रहुन् भन्ने कांग्रेसका धेरै समर्थक, शुभचिन्तकको चाहना देखिन्छ ।

पार्टीको १४औं महाधिवेशनमा विश्व र गगनले ठूलै चुनौती सामना गरेर महामन्त्री बने । अब बल यिनै नेताको कोर्टमा छ । गगनलाई संसदीय दलको नेता बनाउने गगन, प्रदीप, बद्री पाण्डेलगायतको चाहना अधुरै छ । महामन्त्री बन्ने प्रदीपको सपना पनि बाँकी छ । एमालेका शीर्ष नेता ईश्वर पोख्रेललाई संसदीय चुनावमा पराजित गरेर पौडेलले आफ्नो क्षमता देखाइसकेका छन् । सत्ताको चाबी हात पारे पनि टेस्टेड प्रचण्डसँग समाजले खासै अपेक्षा गर्दैन । पदलोलुप नेताका रूपमा प्रचण्डको छवि बनिसकेको छ ।

जीवनको उत्तरार्द्धमा रहेका ओलीसँग नेपाली राजनीतिमा म्याराथुनमा सक्रिय सहभागी भइरहने लामो समय छैन । ती पार्टीभित्र समाजले अपेक्षा गरेका खास अनुहारहरू छैनन् । यस्तोमा विश्व, गगन र प्रदीपका लागि प्रतिपक्षी बेञ्च सुनौलो अवसर हो । पार्टीको भावी सभापतिमा विश्वप्रकाश शर्मा, आउँदो संसदीय चुनावपछि भावी प्रधानमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेतामा गगन थापा र कांग्रेसको भावी महामन्त्रीका रूपमा प्रदीप, बद्रीहरूको टिम बनाएर हिंड्ने साहस यी नेताहरूसँग छ ?

यत्ति हिम्मत गर्ने हो भने पहिले बीपीले र अहिले विश्वप्रकाशले भनिरहेको १५ वर्ष देशमा शासन गर्ने र जनताको जीवनस्तर आफ्नो परिवारको सरह बनाउने चाहना पूरा गर्न कठिन छैन । नेतात्रयले कांग्रेस सत्ताबाट बाहिरिंदा छाएको सन्नाटा चिर्दै कार्यकर्तामा उत्साह भर्न के गर्छन् ? संसदमा कस्तो भूमिका निर्वाह गर्छन् ? अब प्रतीक्षित छ ।



Khemraj wali

Post a Comment

0 Comments