New templates on your Email

अदालतले न्याय दिएन, मतदाताले चुनेर पठाए

१४ मंसिर, काठमाडौं । सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीले ४७६१ मतले कांग्रेस प्रभावशाली नेता विजयकुमार गच्छदारलाई पराजित गरिन् । चौधरीले ३२ हजार ४१७ मत ल्याउँदा भ्रष्टाचारको आरोपमा निलम्बित समेत पाएका गच्छदारले २७ हजार ६५६ मतमात्रै पाए ।

काठमाडौं–५ मा नेपाल कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निटकतम प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले भन्दा करिव ५ हजार बढी(१५,२६९) मत ल्याएर निर्वाचित भए । पोखरेलले १० हजार १९० मतमात्रै ल्याएका थिए । संखुवासभा–१ मा कांग्रेसका दीपक खड्काले ३२ हजार १५८ मत ल्याई कांग्रेसका राजेन्द्र गौतमलाई करिव साढे ५ हजार मतले पराजित गरे ।

यी तीन जना बीच एउटै समानता छ, झिनो मतान्तर तथा निर्वाचन विवादका क्रममा अघिल्लोपटक पराजित उनीहरुले ५ वर्षसम्म धाँउदा समेत अदालतबाट न्याय पाएका थिएन् । उनीहरु अहिले भारी मतान्तरका साथ निर्वाचित भएका छन् । पौडेल बाहेक अरु दुई उम्मेदवारले त अघिल्लोपटक अदालतमा गएर प्रश्न उठाएका प्रतिस्पर्धी उम्मेदवारलाई नै पराजित गरेका छन् ।

कांग्रेसका पौडेल : पाँच मतले पराजित थिए

कांग्रेस नेता प्रदीप पौडेल अघिल्लोपटक तनहुँ–२(१)बाट प्रदेशसभामा उम्मेदवार थिए । उनी ५ मतको फरकमा पराजित भएका थिए । माओवादी केन्द्रकी आशा कोइरालाले १६ हजार ६४६ मत पाउँदा उनले १६ हजार ६४१ मत पाएका थिए । उनको दावी अनुसार, पाँचवटा मतदान केन्दमा २ हजार ३२८ मत खसेकोमा पछि गणना गर्दा २ हजार ३७० भेटियो ।

कांग्रेस नेता प्रदीप पौडेल

गणना गरिसकेका र गोलाकार भित्र हसिया हथौडा भएका ४२ मत थपेर माओवादी उम्मेद्वार आशा कोइरालालाई निर्वाचित गरिएको उनको दावी थियो । उनले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा भनेका थिए, ‘मतगणना भएपछि राखिएका मतहरु फेरी गन्न तयार भएका मतहरुमा मिसाई गणना गरी आशा कोइरालालाई निर्वाचित गराइएको…।’

उनले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोग विरुद्ध मुद्दा हालेपनि पाँच वर्षसम्म अदालतबाट फैसला भएन । कार्यकाल सकिने भएपछि मुद्दाको औचित्य समेत रहेन । अहिले काठमाडौं–५ बाट उम्मेदवार बनेका उनी भारी मतान्तरले प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

संखुवासभाका दीपक खड्का : छापमाथि विवाद

संखुवासभा–१ का कांग्रेस उम्मेदवार दीपक खड्का पनि अघिल्लो पटक सर्वोच्च अदालत गएका थिए । उनको दावीअनुसार, एमाले उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई धाँधली गरेर निर्वाचित गराइएको थियो र निर्वाचन अधिकृतको कार्यालयको त्यो निर्णय बदर हुनुपर्ने थियो ।

कांग्रेस उम्मेदवार खड्काको रिट निवेदन अनुसार, अघिल्लोपटकको मतगणनामा त्यहाँ मतपत्रमा छाप लगाउने क्रममा आधाजस्तो घेरा आउने देखिएमा त्यो मत सदर गर्ने सहमती बनेको थियो । उनले रुखमा खसेको मत सदर नगरी बदर गरेको आरोप लगाएका थिए । आफ्नो प्रतिनिधिविना मतगणना गरिएको, केरमेट गरी अन्तिममा संख्या मिलाइएको लगायत उनको आरोप थियो ।

२३ हजार ७६९ मत पाएका एमाले उम्मेदवार राजेन्द्र प्रसाद गौतमसँग खड्का १ हजार १३० मतले पराजित थिए । आफूले अदालतमा प्रश्न उठाएका प्रतिस्पर्धीसँग नै खड्का यसपाली पनि निर्वाचनमा भिडे । उनले अहिले फराकिलो मतान्तरले गौतमलाई पराजित गरेका छन् । पाँच वर्षअघि उनले सर्वोच्च अदालतमा पु¥याएको निर्वाचन नतिजा विवाद अहिले पनि विचाराधिन छ । अब भने त्यो मुद्दाको औचित्य सकिएको छ ।

भगवती चौधरी : मिल्दा पराजित, एक्लै जीत

सुनसरी–३ मा अघिल्लोपटक एमाले उम्मेदवार भगवती चौधरीलाई माओवादी केन्द्रको पनि साथ थियो । माओवादी केन्द्रको समेत साथ पाउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् । कांग्रेस उम्मेदवार गच्छदारले त्यतिबेला ३८ हजार ९७२ मत पाएका थिए ।

त्यतिबेला उनी गच्छदारसँग ३२१ मतले पराजित थिइन् । अहिले भने एमाले एक्लै प्रतिस्पर्धामा हुँदा उनले ३२ हजार ४१७ मत ल्याइन । माओवादी केन्द्रको समेत साथमा हुदा गच्छदारले २७ हजार ६५६ मतमात्रै पाए । गच्छदारमाथि भ्रष्टाचारको आरोप लागेकाले उनको लोकप्रियता खस्केको थियो ।

२०७४ सालको निर्वाचनमा समेत चौधरीले आफूले निर्वाच जित्ने दावी गरेकी थिइन् । गच्छदारले  राज्यशक्तिको दुरुपयोग भएको, धाँधली गरिएको अनि मतगणनामा भेदभाव भएको भनी उनले सर्वोच्च अदालतमा मुद्दा हालिन् । सूर्य चिह्नमा मत हालेका, मसी कम भएका, पूरा स्वस्तिक छाप नभएका थुप्रै मत बदर भए । उनले कतिपय ठाउँमा मतपेटिकामा सुरक्षण सील नभेटिएको, कतिपयको कागजात बेवारिसे भएको आरोप लगाएकी थिइन् ।

सुनसरी–३ मा ३ हजार ६५५ मत बदर भएकोमा सूर्य चिह्नमा लागेर बदर भएको मतमात्रै करिव १६ सय रहेको उनको दावी थियो । जब कि उनलाई निर्वाचित हुन ३२२ मतमात्रै आवश्यक थियो । उनले निवेदनमा भनेकी थिइन्, ‘यसरी मैले प्राप्त गरेको वैध मतलाई कानून विपरीत बदर भनेर मतगणना गरी विजयकुमार गच्छदारलाई जिताउने काम भयो ।’

उनले ११ पुस २०७४ मा सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्, जुन अहिलेसम्म पनि सुनुवाइ भएन । आधा कार्यकाल सकिदै गर्दा निर्वाचित सांसद गच्छदार भ्रष्टाचार मुद्दाका कारण निलम्बन भई पदबाट निष्कृय भए । अदालतले पाँच वर्षको अवधिमा पनि यो विवाद निरुपण गरेन । मुद्दा नटुंगिदै उनी अर्को निर्वाचनबाट पुरानै प्रतिस्पर्धी गच्छदारलाई पराजित गरेर सांसद बनेकी हुन् । अदालतबाट नपाएको न्याय उनले मतदाताबाट पाइन् र निर्वाचित भइन् ।



Binod Ghimire

Post a Comment

0 Comments