New templates on your Email

हिमालय प्रिमियम टेलिभिजनको शुभारम्भ, विश्वकपका सबै खेल एक्सक्लुसिभ प्रसारण हुने

४ मंसिर, काठमाडौं । लोकप्रिय टेलिभिजन कन्टेन्ट उत्पादन तथा प्रसारण गरिरहेको हिमालय टेलिभिजन नेटवर्कले आफ्नो दोस्रो च्यानल ‘हिमालय प्रिमियम’ एचडी टेलिभिजनको प्रसारण सुरु गरेको छ ।

फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रसारणको अवसर पारेर नेटवर्कले नयाँ प्रिमियम च्यानलको शुभारम्भ गरेको हो । हिमालय प्रिमियम, नेपालका लागि फिफा विश्वकप २०२२ को एक्सक्लुसिभ टेलिभिजन प्रसारक हो ।

नेपालभित्र विश्वकपका सवै खेल हिमालय प्रिमियम र हिमालय टीभी एचडीबाट मात्र हेर्न सकिनेछ । पहिलोपटक विदेशी च्यानलहरुलाई नेपालमा विश्वकप प्रसारण निषेध गरिएको छ ।

नेपालका अधिकांश च्यानल फ्रि टु एयर अर्थात् निःशुल्क प्रसारण भइरहेका बेला हिमालय प्रिमियम ‘पे च्यानल’ अर्थात् सशुल्क च्यानलका रुपमा प्रसारण सुरु भएको छ ।

पे च्यानल बिजनेस मोडल अन्तर्गत पहिलोपटक फिफा विश्वकप २०२२ का खेलहरु यो टेलिभिजनमार्फत् शुल्क तिरेर हेर्न सकिने छ । हिमालय प्रिमियममा विश्वकप प्याकेज खरिद गर्न आफ्ना केबल सेवा प्रदायकमा सम्पर्क गर्नुपर्ने छ । प्रमुख डिजिटल वालेट, फोन पे र केबल प्रसारकका स्थानीय डिलरमार्फत् भुक्तानी गरेर हिमालय प्रिमियमको ग्राहक बन्न सकिन्छ ।

‘नेपालमा पहिलोपटक पे च्यानलका रुपमा हिमालय प्रिमियम सुरु गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो’ हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले भने, ‘विदेशी च्यानलहरुले नेपालबाट वार्षिक अर्बौं रुपैयाँ लगिरहेका बेला त्यसलाई रोक्न र नेपालमै प्रिमियम कन्टेन्ट उत्पादन बढाउन हामीले यो बाटो रोजेका हौं ।’

भारत लगायतका अन्य मुलुकबाट प्रसारण हुने टेलिभिजन च्यानलहरुले लामो समयदेखि यही मोडलमा सञ्चालित छन् । नेपालमा टेलिभिजन हेर्ने हरेक दर्शकले विदेशी च्यानल जडान गरेबापत शुल्क तिरिरहेका छन्, जसलाई केबल अपरेटरहरुले प्याकेज बनाइ मासिक शुल्कमा समावेश गरेका हुन्छन् ।

आगामी दिनमा विश्वस्तरीय प्रिमियम कन्टेन्टहरु नेपाल ल्याउने र नेपालमै विश्वस्तरीय कन्टेन्टहरु उत्पादन गरी हिमालय प्रिमियममा प्रसारण गरिने टेलिभिजनले जनाएको छ ।

हिमालय टेलिभिजनले विश्व प्रख्यात रियालिटी सोहरु ‘द भ्वाइस अफ नेपाल’, ‘भ्वाइस किड्स’, ‘रोडिज’, ‘सार्क ट्याङ्क’, ‘डान्सिङ स्टार्स’, ‘नेक्स्ट टप मोडल’ लगायतका प्रिमियम कन्टेन्टहरु उत्पादन तथा प्रसारण गरिरहेको छ ।

हिमालय प्रिमियम शुभारम्भसँगै नेपालमा सञ्चालित सबैजसो डीटीएच, केबल टीभी, आईपीटीभी, एमएसओ लगायतका टेलिभिजन वितरक संस्थाले टेलिभिजनको सिग्नल वितरण गर्न सुरु गरेका छन् । एसडी र एचडी दुवै माध्यममा हिमालय प्रिमियम च्यानल हेर्न सकिने छ ।

विश्वकप फुटबल २०२२ आजदेखि कतारमा सुरु हुँदै छ । उदघाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।

 



Binod Ghimire

Post a Comment

0 Comments