New templates on your Email

वीर फार्मेसीमा भीडभाडको अत्यास, औषधि लिन अन्य ठूला अस्पताल जानुपर्ने बाध्यता

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिको पाँचवटा औषधि पसलको संरचनामा नक्सा विपरीत भन्दै ४ असोजमा डोजर चलायो ।

देशकै सबैभन्दा ठूलो यो केन्द्रीय अस्पतालभित्रको फार्मेसीमा अहिले भिडभाड बढेको छ । मूल भवनको भुईंतलामा मंगलबार दिउँसो औषधि लिनेहरुको खचाखच भीड थियो ।

तर अस्पतालभित्रका फार्मेसीमा सबै खाले औषधि पाइँदैन । जसका कारण बिरामी त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान वा अन्य ठूला अस्पतालका फार्मेसीमा जानुपर्ने बाध्यता छ ।

आफन्तको छातीमा समस्या भई उपचार गर्न आएका धादिङका भुपेन्द्र बमले फार्मेसीमा चिकित्सकले प्रेस्क्रिप्सन गरेको औषधि नपाएको गुनासो गरे । ‘चिकित्सकले सातथरि औषधि लेखिदिएका छन् । तर, यहाँ तीनथरि मात्रै पाइयो’, बमले गुनासो गरे, ‘बाहिर पनि फार्मेसी छैन । अब औषधि लिनका लागि अन्य अस्पतालको फार्मेसीमा जानुपर्ला ।’

यसभन्दा अगाडि बिरामीका आफन्त चिकित्सकले प्रेस्क्रिप्सन गरेको पूरा औषधि नपाउनु, बढी लाइनमा बस्नुपर्ने तथा फार्मेसीमा बस्नेको हप्की सुन्नुपर्ने हुँदा अस्पतालभित्रको फार्मेसीमा औषधि लिनेको आकर्षण कम हुने गरेको थियो ।

छिटो, छरितो औषधि पाइने भएकाले बाहिरकै फार्मेसीमा बिरामीको लाइन बढी हुन्थ्यो । अहिले बाहिरका फार्मेसीको चाप पनि अस्पतालभित्रै थुपि्रएको छ । तर, अस्पतालले प्रशासनले फार्मेसी सेवा अझै प्रभावकारी बनाउन सकेको छैन ।

अस्पतालका फार्मेसी प्रमुख श्याम मण्डल चिकित्सकले प्रेस्त्रिmब्सन गरेको औषधि ७० प्रतिशतको हाराहारीमा पाइने गरेको दाबी गर्छन् । ‘दैनिक तथ्यांकलाई हेर्दा औषधि नभएकाले ३० प्रतिशत हाराहारीका बिरामीलाई फर्काउनु परेको छ’, मण्डलले अनलाइखबरसँग भने, ‘भीडभाड कम गर्नका लागि हामीले फार्मेसी विस्तारको योजना बनाएका छौं ।’

मुख्यतया अस्पतालभित्रको फार्मेसीको भीडभाडकै कारण बिरामीका आफन्त अन्यन्त्रै जानुपरेको बताउँछन् । मंगलबार जोरपाटीबाट चेकजाँच गर्न आएकी सीता पौडेल भीडभाडले अस्पतालको फार्मेसीमा औषधि नलिइ फर्किन् । ‘एक घण्टा लाइनमा बस्दा पनि पालो आउँदैन । सबै औषधि पनि यहाँबाट पाइँदैन’, पौडेलले अनलाइखबरसँग भनिन्, ‘बरू, उतै चावहिलतिरका फार्मेसीमा गएर औषधि लिन्छु ।’

मंगलबार दिउँसो २ घण्टा अनलाइखबरकर्मी फार्मेसी अगाडि बस्दा अधिकांश बिरामीका आफन्त भीडभाडको कारण देखाउँदै बाहिरिएका थिए ।

फार्मेसी प्रमुख मण्डलका अनुसार अस्पतालमा चार हजार ४२९ थरीका औषधिको टेन्डर हुँदै आएको छ । जसमध्ये हाल अस्पताल फार्मेसीमा ७० प्रतिशत अर्थात तीन हजार १ सय थरिका औषधि फार्मेसीमा उपलब्ध छन् ।

बाहिर भएका औषधि बन्द भएपछि अस्पतालको आम्दानीमा समेत सुधार भएको छ । अस्पतालका फार्मेसी प्रमुख मण्डलका अनुसार बाहिर औषधि पसल हुँदा दैनिक ५ लाख हाराहारीको आम्दानी हुने गरेकोमा अहिले ९ लाखसम्म पुगेको छ

लामो समय लाइन बस्नुपर्ने एकतर्फको बिरामीको आफन्तको बाध्यता छ । तर, अस्पताल प्रशासनले भीड व्यवस्थापन र सरसफाइमा भने ध्यान नदिँदा शौचालयको दुर्गन्धले सेवाग्राही पीडित छन् । ‘शौचालयको गन्ध खप्दै लाइनमा उभिएको २० मिनेट भयो । यहाँ मात्रै होइन । अस्पतालमा परिसरमा जहाँ गयो शौचालयको दुर्गन्ध मात्रै फैलिएको छ’, सर्लाहीबाट आएका रामप्रवेश महतले भने ।

अस्पताल भित्रैको फार्मेसीमा औषधि नपाउनुको अर्को कारण चिकित्सकले बिरामीलाई औषधि सुझाउँदा ब्राण्ड अर्थात व्यापारिक नाममा लेखिदिनु । लामो लाइनबाट फार्मेसी काउन्टरमा पुगेका काभ्रेका सुरेश पराजुली चिकित्सकले लेखिदिएको ब्राण्ड नै औषधि नपाएपछि जेनेरिक औषधि लिन इन्कार गरे । ‘चिकित्सकले लेखिदिएको औषधि यहाँ छैन रे ! अब अन्य फार्मेसीबाट नै औषधि लिन्छु’, पराजुलीले भने ।

अधिकांश चिकित्सकले बिरामीलाई औषधी सुझाउँदा जेनेरिक अर्थात् त्यसमा रहेको रासायनिक मिश्रणको नामबाट नभई ब्राण्ड अर्थात् व्यापारिक नाममा लेखिदिने गरेको वीरका फर्मासिस्टहरू बताउँछन् ।

‘बिरामीमा चिकित्सकले जे लेखिदिएको छ त्यही औषधि लिनुपर्छ भन्ने मानसिकता हुन्छ । तर, चिकित्सकले जेनेरिक नामबाट नै नभइ ब्राण्ड नामबाट औषधि लेख्छन् । जसले गर्दा बिरामी फर्काउनुपर्ने बाध्यता छ,’ ती फर्मासिस्टले अनलाइखबरसँग भने ।

अस्पताल फार्मेसीले टेण्डर प्रक्रियाबाट खरिद गर्दा कुनै पनि औषधिको निश्चित एक ब्राण्ड मात्र खरिद गरिन्छ । बजारमा सयौं उत्पादकहरुको विभिन्न ब्राण्डका एउटै जेनेरिक नामको औषधि पाइन्छ’, ती फर्मासिस्ट उदाहरण दिँदै भन्छन्, ‘पारासिटामोल एक जनेरिक नाम हो । विभिन्न उत्पादकको विभिन्न ब्राण्डहरु बजारमा निको, मोडोमोल, सेटोफेन, पोलार आदि उपलब्ध छन् ।’

अस्पताल फार्मेसी निर्देशिका २०७२ मा जेनेरिक नामबाट प्रेस्क्राइब गर्नुपर्ने प्रष्ट व्यवस्था छ । तर, सरकारी अस्पताल स्वामित्वका औषधी फार्मेसीमा चिकित्सकले जेनेरिकमा नभइ ब्राण्डमा प्रेस्क्राइब बिरामीहरु मर्कामा परिरहेका छन् ।

बाहिर भएका औषधि बन्द भएपछि अस्पतालको आम्दानीमा समेत सुधार भएको छ । अस्पतालका फार्मेसी प्रमुख मण्डलका अनुसार बाहिर औषधि पसल हुँदा दैनिक ५ लाख हाराहारीको आम्दानी हुने गरेकोमा अहिले ९ लाखसम्म पुगेको छ ।

फार्मेसीलाई अब्बल बनाउने अवसर

बाहिरका औषधि पसल बन्द हुँदा बिरामीलाई केही असहज भने पर्न गएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्ऽ बस्नेत स्वीकार गर्छन् ।

‘बाहिरका औषधि पसल बन्द हुँदा त्यसको असर केही परेको छ । तर, बिरामीले सहज रुपमा सबै औषधि पाउने गरी फार्मेसी विस्तार योजना बनाएका छौं,’ डा. बस्नेतले भने, ‘आजको भोलि भएकाले केही बिरामीलाई असुविधा होला ।’

उनका अनुसार अस्पतालले सुरुमा आकस्मिक र शल्यक्रियाका लागि आवश्यक पर्ने औषधिको अभाव हुन नदिने गरी औषधिको सूची बनाइरहेको छ ।

‘वीर अस्पतालको फार्मेसीमा इमर्जेन्सी आउने र शल्यक्रिया गर्ने बिरामीको औषधिलाई प्राथमिकतामा राखेका छौँ,’ डा. बस्नेतले अनलाइखबरसँग भने, ‘ओपिडीका बिरामीले अन्य ठाउँमा गएर पनि औषधि लिन सक्छन् । तर, इमरजेन्सी र अप्रेसनमा चाहिने औषधि बढी संवेदनशील हुन्छन् ।’

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्न प्रशासनिक र कानुनी अग्रसरता लिएपछि वीरको फार्मेसी ५ माघ ०७३ मा स्थापना भएको थियो । वीरले बहुविशेषज्ञ सेवा दिने भएकाले पनि सबै प्रकारका औषधि नपाइनसकिने डा. बस्नेतको तर्क छ ।

‘वीरमा बहुविशेषज्ञ सेवा उपलब्ध हुने भएका कारण सबै औषधि नपाइन पनि सक्छ । तर, बाहिर फार्मेसी नभएसँगै हामीले सबै रोगको औषधि व्यवस्था गर्न लागिरहेका छौं’, डा. बस्नेतले थपे, ‘महानगरले औषधि पसल हटाएसँगै हामीलाई अस्पताल भित्र फार्मेसी विस्तार गर्न अवसर थपिएको छ ।’

फार्मेसीमा झण्डै पाँच हजार थरीका औषधि खरिदका लागि टेण्टरमा रहेको यसलाई अझै बढाउन कोशिस गरिरहेको डा. बस्नेतको भनाइ छ ।

सेवाग्राहीको यति धेरै विश्वास र आकर्षण भएको फार्मेसीले उनीहरुलाई नकुराइकन कसरी सेवा दिन सकिन्छ छ त ?
फार्मेसी प्रमुख श्याम मण्डल मूल भवनको फार्मेसीबाट चार ठाउँबाट बिलिङ र वितरण हुने व्यवस्था गरेको बताउँछन् ।

हाल मूल भवनमै ओपिडी र विपन्न वर्गका लागि भनेर २ वटा फार्मेसी सञ्चालनमा छन् । सर्जिकल भवनमा पनि फार्मेसी सेवा सञ्चालन भइसकेको छ । अस्पतालको भीडभाड कम गर्नका लागि सर्जिकल भवनको अपरेशन थिएटर अगाडि केही समयभित्रै नै फार्मेसी सुरु गर्न लागेको मण्डलले जानकारी दिए ।

‘सर्जिकल भवनको भुई तल्लाको फार्मेसी र अपरेशन थिएटर दुवै मिलाएर सर्जिकल तथा वार्डमा हुने बिरामीलाई त्यहीँबाट औषधि वितरण हुन्छ । मुल भवनको फार्मेसीबाट ओपिडीका लक्षित गरेर सेवा दिइनेछ’, मण्डलले भने, ‘आवश्यक भयो भने फार्मेसीको जनशक्ति, कोठा र सबैलाई बढाएर पनि लैजान्छौं ।’

हाल २३ जनाको जनशक्तिले मुल भवनमा २४ घन्टा र सर्जिकल भवनमा १२ घन्टा फार्मेसी सेवा उपलब्ध भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा कतिपय एन्टिबायोटिक बाहिरको फार्मेसीभन्दा अस्पतालको फार्मेसीमा धेरै सस्तो पाइने भएकाले बिरामीले ठूलो राहत हुने डा. बस्नेतको दाबी छ । ‘हामी टेण्डरमा औषधि खरिद गर्छौं । औषधि पनि सस्तोमा आउँछ । कतिपय एन्टिबायोटिक बाहिरको फार्मेसीमा भन्दा अस्पतालका फार्मेसीमा धेरै सस्तो पाईन्छ’, डा. बस्नेतले भने, ‘अस्पतालको फार्मेसीको स्तर वृद्धि गर्दा बिरामीलाई सहज सेवा दिन सकिन्छ ।’



Khemraj wali

Post a Comment

0 Comments