New templates on your Email

उपाधि जितियो, पुरस्कार पाइयो, अब कभर्डहल चाहियो

नेपाली महिला राष्ट्रिय भलिबल टीमले मंगलबार उज्वेकिस्तानलाई रोमाञ्चक खेलमा पराजित गर्दै एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । ६ राष्ट्र सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइएको थियो । त्यसमा सबै ५ खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपालले अपराजित रहेर उपाधि जितेको हो ।

सन् २०१९ मा बंगलादेशमै पहिलो पटक भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको नेपालले यसपटक उपाधि रक्षा गरेको हो ।नेपालले सेन्ट्रल जोनमा लगातार दुई उपाधि जित्दा ११ खेलमा अपराजित रह्यो । अघिल्लो पटक कमजोर टीमहरू भएकोले सहज भए पनि यस पटक नेपालकै लेभलको श्रीलंका र उज्वेकिस्तान जस्ता टीम सहभागी थिए ।

नेपाललाई दुवै टीमले कडा चुनौती दिए पनि नेपालले दुवैलाई प्रतिस्पर्धात्मक खेलमा हरायो । लिगमा उज्वेकिस्तानलाई सोझो सेटमै पराजित गरेको नेपालले फाइनलमा भने उज्वेकिस्तानलाई हराउन पाँच सेट पूरै खेल्नुपर्‍यो ।

थोरै समयको प्रशिक्षणका बावजूद पनि खेलाडी र प्रशिक्षकको मिहिनेतले नेपालले फेरि एकपटक ठूलो उपलब्धि हासिल गरेको छ । अन्तर्राष्ट्रिय एरेनामा नेपालको झण्डालाई शानका साथ फहराउन सफल भएको छ ।

यस पटक पुरुष र महिलाको प्रतियोगिता एकैपटक भयो । महिला टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित बंगलादेश जाँदा पुरुष टोलीले कम्तीमा पदक छुने लक्ष्य बनाएको थियो । तर तेस्रो स्थानको लागि खेलिएको खेलमा उज्वेकिस्तानसँगै पराजित हुँदै पुरुष टीम पदकविहीन बन्यो । तर प्रदर्शनमा भने सुधार आएको संकेत देखियो ।

भलिबल नेपालको राष्ट्रिय खेल भएतापनि नेपाल भलिबल संघ अझै व्यवस्थित रूपमा चल्न सकेको छैन । त्यसका बावजूद पनि संघले यसपटक दुवै टीमलाई करीब एक महीनाको प्रशिक्षण गराउँदै बंगलादेश लग्यो । यसमा संघको पनि मिहिनेत उत्तिकै छ ।

बधाईको ओइरो

दुई टीमले एकैपटक खेल्दा महिला टीम च्याम्पियन बन्यो । पुरुष टीमले पदक जित्न असफल हुँदा अहिले सबैतिर महिला टीमकै चर्चा छ । पुरुष टीम पाँच टीममध्ये चौथो भयो । पदक नजिते पनि पुरुष टीमलाई आगामी प्रतियोगिताका लागि हौसला प्रदान गर्नुपर्छ ।

उपाधि जितेपछि राष्ट्रपतिदेखि प्रधानमन्त्री, युवा तथा खेलकुद मन्त्री लगायतले महिला भलिबल टीमलाई बधाई दिंदै आगामी दिनमा अझ राम्रो सफलताका लागि शुभकामना दिएका छन् । यो स्वाभाविक पनि हो । तर सँगै पुरुष टीमलाई पनि प्रोत्साहित भने गर्नैपर्छ ।

नगद पुरस्कारले खेलाडीलाई प्रोत्साहित गर्नुका साथै तत्कालका लागि खुशी मिल्ला तर भलिबलको दीर्घकालीन विकासको लागि नपुग्ला कि ? यसका बारेमा भने सम्बन्धित निकायले अझै सोच्नुपर्ने आवश्यकता छ।

बधाईका साथै सरकारले महिला टीमलाई पुरस्कार पनि घोषणा गरेको छ । खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले नगद पुरस्कारका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए । बुधबारको मन्त्रिपरिषदले त्यो प्रस्तावलाई पारित गर्दै टीमका १२ खेलाडीलाई ५-५ लाख, दुई प्रशिक्षकलाई ३-३ लाख र एक अफिसियललाई १ लाख दिने निर्णय गरेको छ ।

यसले खेलाडीलाई अझै हौसला प्रदान गर्ने निश्चित छ । नगद पुरस्कारले खेलाडीलाई प्रोत्साहित गर्नुका साथै तत्कालका लागि खुशी मिल्ला तर भलिबलको दीर्घकालीन विकासको लागि नपुग्ला कि ? यसका बारेमा भने सम्बन्धित निकायले अझै सोच्नुपर्ने आवश्यकता छ ।

छैन कभर्डहल

जित्दा जताततै चर्चा हाई हाई हुन्छ । बधाईको ओइरो लाग्छ तर जब खेल्ने बेला आउँछ आफ्नै कभर्डहल छैन । योभन्दा बिडम्बना के हुन सक्ला ! अब नेपाल भलिबल संघ (एनभीए)ले पनि यसमा अग्रसरता लिनैपर्छ । राष्ट्रिय खेलको आफ्नै खेल्ने ठाउँ पनि छैन भन्दा कति लज्जा होला !

सरकारले पनि जित्दा नगद पुरस्कार दिने अरु बेला पन्छिने काम गर्नु भएन । भलिबलको विकास अनि खेलाडीको भविष्यको बारेमा पनि सोच्नुपर्छ ।पछिल्लो आधा दशकलाई हेर्ने हो भने नेपाली भलिबलमा सुनौलो समय देख्न सकिन्छ ।

भलिबल राष्ट्रिय खेल घोषणादेखि पुरुष टीमको पहिलो अन्तर्राष्ट्रिय पदक अनि महिला टीमको लगातार दुई उपाधि र सागमा पहिलो पटक रजत पदक । महिला टीमले दक्षिण एशियाको बलियो टीम भारतलाई समेत टक्कर दिन थालिसकेको छ । सन् २०१९ मा नेपालमै भएको १३औं सागमा नेपालले भारत विरुद्ध दुई सेटको अग्रता लिए पनि जोगाउन नसक्दा फाइनलमा पारजित भएको थियो ।

खेलाडीको काम ट्रेनिङ गर्ने र खेल्ने हो । त्यसका लागि संघले उचित माहोल बनाउनुपर्छ । राष्ट्रिय खेल भइसकेपछि सरकारको पनि केही दायित्व पक्कै हुन्छ ।
अब संघ र सरकारको सहकार्यमा भलिबलको आफ्नो छुट्टै कभर्डहल बनाउनुपर्छ । प्रतियोगिता आउँदा, ट्रेनिङ गर्नुपर्दा राष्ट्रिय खेलकुद परिषदको कभर्डहल भाडामा लिएर चलाउनुपर्ने अवस्था छ । त्यो पनि भनेको समयमा नपाइन सक्छ ।

त्यसैले खेलाडीको नियमित प्रशिक्षण गर्न, संघले गर्ने प्रतियोगिता गर्न अब भलिबलको लागि आफ्नै छुट्टै कभर्डहलको अत्यधिक जरुरी भइसकेको छ ।
संघले तारकेश्वर नगरपालिकामा कभर्डहल बनाउन जग्गा समेत हेरिसकेको छ । तर स्थानीय निकाय र राष्ट्रिय खेलकुद परिषदबीच सहमति हुन ढिलाइ हुँदा सरकारले कभर्डहलका लागि विनियोजन गरेको १ करोड बजेट पनि फ्रिज हुने चिन्ता बढेको छ ।

अब भलिबल खेल्ने उचित भौतिक पूर्वाधार बनाउन सरकारले सहयोग गर्नुपर्छ । भलिबल नेपालको भू-बनोट सुहाउँदो, जहाँ पनि खेल्न सकिने र खेल्न सहज खेलको रूपमा परिचित छ । त्यसैले पनि सरकारले यसलाई राष्ट्रिय खेलको मान्यता दियो ।

अन्तर्राष्ट्रिय उपाधि जितेर भलिबलले नेपाललाई चिनाइसकेको छ । अब त्यही खेललाई अझ उत्कृष्ट बनाउन नियमित प्रशिक्षण र प्रतियोगिता गराउन संघ, सरकार र सम्बन्धित सबै निकायले काम गर्नुपर्छ ।

यस्तै संघले पनि भविष्यमा प्रतिभावान र उत्कृष्ट खेलाडी उत्पादन गर्नका लागि ग्रासरुट तहसम्म भलिबललाई विकास गर्नुपर्ने बेला आइसकेको छ । त्यसका लागि एकेडेमीको योजना सहित संघ लाग्नुपर्ने बेला भइसकेको छ । अब ढिला नगरौं ।



Sahadev Chaudhary

Post a Comment

0 Comments