New templates on your Email

नेपाल बारले प्रधानन्यायाधीशविरुद्ध विरोध कार्यक्रम गर्दै

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्दैछ ।

एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।



Binod Ghimire

Post a Comment

0 Comments