New templates on your Email

फोहोर व्यवस्थापन गर्न सरकारसँग समन्वय भइरहेको छ : मेयर शाक्य

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । उनले केही दिन जथाभावि फोहोर नमिल्काउन महानगरवासीलाई आग्रह पनि गरेका छन् ।

बञ्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका शाक्यले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा कठिनाइ भैरहेको बताए ।

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यहीकारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन नसेकेका हौं ।’

उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिवद्धता व्यक्त गरे । सरकारसँग समन्वय गरेर फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेको जानकारी उनले दिए ।

‘नियमित रुपमा जति फोहोर व्यवस्थापन हुनुपर्ने हो त्यो तत्कालका लागि सकिरहेका छैनौं,’ उनले भने, ‘त्यसका लागि हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौं ।’

‘मुख्य गरेर सिसडोलसम्म जानका लागि अस्थायी सडक निर्माणका लागि हामीले सडक विभागलाई आग्रह गरेका छौं । हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौं । तर, त्यहाँको डिजाइन तयार पार्न हामीले सडक विभागलाई आग्रह गरेका हौं । सहरी विकास मन्त्रालयसँग हामी पहिलादेखि नै सहकार्यमा थियौं ।’

अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उनले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताए । ‘कसैले कसैलाई दोष लगाएर मुक्त हुनुहुँदैन,’ उनले भने, ‘हामी सबैले समन्वयमा फोहोर व्यवस्थापन गर्नुपर्छ ।’

सहरी विकास मन्त्रालयले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेमा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्ने उनले बताए । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।

यो पनि पढ्नुहोस तीन वर्षलाई भनिएको सिसडोलमा १६ वर्षसम्म लादिंदैछ फोहोर

Binod Ghimire

Post a Comment

0 Comments