New templates on your Email

वाइसिएलले छान्न सकेन आफ्नो नेतृत्व, नेताहरु प्रचण्ड निवासमा

१५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाललाई पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासो गरेका छन् ।

कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिने गर्नाले आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुको गुनासो छ । माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृति देखिएको भन्दै टिप्पणी सुरु भएको छ ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुबोध सेर्पालीको दाबी छ । सहमतिमा अध्यक्ष चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेपछि नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले देवकोटालाई प्रस्ताव गरे पनि सेर्पाली सहमत भएका छैनन् । सहमति नजुटेपछि वाइसिएलले आफ्नो नेतृत्वको चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

‘भेला लम्बिंदा व्यवस्थापनमा समस्या भयो’

नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय अझै टुंगो नलाग्दा प्रतिनिधिहरु अन्योलमा छन् ।

काठमाडौंसहित सातवटै प्रदेशबाट गरी करिब सात सय प्रतिनिधिहरु सहभागी छन् । नेतृत्व चयनमा ढिलाइ हुँदा प्रतिनिधि व्यवस्थापनमा कठिनाइ भइरहेको वाइसिएलका प्रवक्ता पुष्प ओली बताउँछन् ।

‘जिल्ला जिल्लाबाट केन्द्र र प्रदेशमा भेला भएका साथीहरु घर फर्किन आत्तिसक्नु भयो, तर अझै नेतृत्व चयन नहुँदा व्यवस्थापनमा समस्या भइरहेको छ,’ ओलीले भने ।

वाइसिएलका अर्का एक नेताले पार्टी नेतृत्वले छिटो निर्णय नदिएर अनिर्णयको बन्दी बनाइदिएको टिप्पणी गरे ।

पार्टीको मनोदशाको नमूना

वाइसिएलको नेतृत्व चयनको निर्णयमा ढिलाइ भएपछि माओवादी केन्द्रका नेताहरुबाटै असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।

माओवादी केन्द्रका नेता अनिल शर्माले वाइसिएलको नेतृत्वको विषयलाई अनावश्यक जटिल बनाइएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘वाइसिएल नेपालको राष्ट्रिय भेला हाम्रो पार्टीको मनोदशाको एउटा ज्वलन्त नमूना हो । संगठनात्मक क्षेत्रमा रहेको पार्टीको यो तदर्थवादी प्रवृतिले स्वयं पार्टीलाई मात्र होइन समग्र आन्दोलनलाई क्षति पुर्याइरहेको छ । कि निर्णय गर्न सकौं, होइन भने कार्यकर्ताप्रति भर परौ ! विषयलाई अनावश्यक जटिल नबनौं !’



Binod Ghimire

Post a Comment

0 Comments