New templates on your Email

१२ करोड लागतमा तयार वीरगञ्जको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा

१५ असार, वीरगञ्ज । वीरगञ्जको छपकैयामा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । १० विगाहा क्षेत्रफलमा फैलिएको १२ करोड रुपैयाँमा निर्माण भएको प्लान्ट सञ्चालनमा आएको हो ।

वीरगञ्जको श्रीपुर, तेजारथटोलदेखि छपकैयासम्मको घरबाट निस्किने प्रदूषित पानीलाई नालामार्फत प्रशोधन केन्द्रमा लगेर सफा गरी सिर्सिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ ।

प्राविधिकहरूका अनुसार ९ मिटर गहिरो ट्रिटमेन्ट प्लान्टमा पानीको सतह ४ मिटरसम्म पुगेपछि अटोमेटिक रूपमा सञ्चालनमा आउँछ । पानी प्रशोधन केन्द्र निर्माणमा एसियाली विकास बैंक र नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत लगानी भएको छ । दैनिक एक करोड लिटर फोहर पानी प्रशोधन गर्न सक्ने क्षमता केन्द्रको छ ।

नगर क्षेत्रबाट निस्किएको फोहर पानीलाई प्रशोधन गरेर सिर्सिया खोलामा बगाउँदा पर्यावरण संरक्षणमा मद्दत पुग्ने महानगपालिकाका प्रमुख विजय कुमार सरावगीको विश्वास छ । ‘केन्द्रबाट प्रशोधित भई निस्किने पानीको उपयोगिताबारे अध्ययन गरिरहेका छौं’, सरावगीले भने ।

तर सिर्सिया नदी वीरगञ्ज नगर क्षेत्रको ढलका कारणभन्दा पनि औद्योगिक गतिविधिले प्रदूषित छ ।

सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न दीर्घकालीन योजनामा ‘सिर्सिया करिडोर’ को अवधारणा ल्याए पनि तत्कालका लागि महानगरपालिकाले कुनै ठोस कदम चाल्न सकेको छैन ।

महानगरपालिकाभित्रका घरबाट निस्किने फोहर पानीलाई प्रशोधन केन्द्रमा हालेर ९९ प्रतिशत सफा बनाएर सिर्सिया खोलामा मिसाइने परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताए । ‘अहिले मुख्य नालामा बगेको फोहोर पानी प्रशोधनका लागि हालेका छौं । अन्डर ग्राउन्ड नालामा घरको फोहोर पानीलाई जोड्न लिंकेजको व्यवस्था गरेका छौं । क्रमशः घरको फोहोर पानीलाई चरणवद्ध रूपमा जोड्छौं’, उनले भने ।

सञ्चालनमा आएकोे प्रशोधन केन्द्रबाट वार्षिक लाखौं रुपैयाँको मल उत्पादन हुने महानगरपालिकाको भनाइ छ ।



Online khabar

Post a Comment

0 Comments