New templates on your Email

स्मार्ट सिटीको उराठलाग्दो बसपार्क !

१७ माघ, काठमाडौं । मंगलबार दोलखाबाट काठमाडौंको पुरानो बसपार्कमा झर्नेबित्तिकै पिसाव गन्हाइरहेको ठाउँमै उत्रिएपछि वीरचरण श्रेष्ठले मुख खुम्च्याउँदै भने, ‘यस्तो पनि कहीँ बसपार्क हुन्छ ?’

एउटा राजधानीको प्रमुख बसपार्क कस्तो हुुनपर्ला त ? यसमाथि बहस हुन सक्छ । वीर अस्पतालमा स्वास्थ्य जाँच गराउन पटक–पटक काठमाडौं आइरहने श्रेष्ठलाई भने स्मार्ट सिटी बन्छ भनिएको राजधानीको मुख्य बसपार्क ‘नर्क’ जस्तै लाग्छ ।

‘माथि के छ के थाहा, शास्त्रले भन्ने नर्क पृथ्वी मै छ भने यही हो,’ जस्ताले बरिएका भागमुनि जमेको पिसाब र बान्तासहितको हिलो फोहोरलाई देखाउँदै श्रेष्ठले भने ।

काठमाडौंको पुरानो बसपार्क पहिले सैनिक मञ्चको अघि पट्टि थियो । ब्यापारिक ‘काठमाडौं टावर’ बनाउने भन्दै त्यहाँबाट खुला मञ्चमा सारियो ४ वर्ष बित्न लाग्यो । योजनाअनुसार यतिबेला पुरानो बसपार्कमा टावर बनिसकेर त्यसको भुईंतलामा बन्ने बस टर्मिनलभित्र बस पार्क भइसक्नुपथ्र्यो । तर, टावरको काम सुरु भएकै छैन ।

योजनाअनुसार टावरको काम नभएपछि खुलामञ्चको अस्थायी बसपार्क भद्रगोल मात्रै भएको छैन, अस्तव्यवस्त र घीनलाग्दो बनेको छ ।

यो बसपार्कबाट शहरका मुख्य गन्तब्यमा चल्ने मात्रै हैन, अरनिको राजमार्ग भएर काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लामा जाने गाडी पनि छुट्छन् ।


तर, बसपार्कमा न्युनतम पूर्वाधार छैनन् । यहाँ यात्रुलाई मात्रै सास्ती छैन, सवारी चालक र ट्राफिक प्रहरी पनि खुलामञ्चको अस्थायी बसपार्कको अव्यवस्थाले हैरान छन् ।

पुरानो बसपार्कको व्यवस्थापपनको जिम्मा काठमाडौ महानगरपालिकाको हो । उसको उपस्थिति यहाँ लगभग ‘शून्य’ जस्तै छ ।

महानगरपालिकाले यो बसपार्कलाई व्यवस्थापन त गरेन नै, भोटाहिटी क्षेत्रका स्थानीयहरु झनै भद्रगोल बनाइएको आरोप लगाउँछन् ।

हाल नगरपालिकाका केही उच्च तहका कर्मचारी र नगर प्रहरीको सेटिङमा बसपार्कभित्र अवैधरुपमा व्यवसाय सञ्चालन गर्न दिइएको आरोप स्थानीयको छ ।

हुन पनि बसपार्कको कुनाकानीतिर जाँदा त बान्ता नै आउलाजस्तो अवस्था छ ।

थानकोटको बस चढ्न लागेकी स्मृति सिवाकोटी बसपार्क पनि नागढुंगाको बाटोजस्तै भएको टिप्पणी गर्छिन् । साँघुरो ठाउँमा बसपार्क राखेर यात्रुलाई दुःख दिने काम मात्रै गरिएको बताइन् ।

‘यहाँ आउँदिन भने पनि सुख छैन, धुँवा–धुलो र फोहोरले कुन दिन बिरामी भएर ढल्नुपर्ने हो,’ उनले चिन्ता ब्यक्त गरिन् ।

हाटबजार कि बसपार्क ?

पुरानो बसपार्कमा अहिले काठमाडौं महानगरपालिकाका नगर प्रहरी छिर्दैनन् । त्यहाँ ठेला, रिक्सा, साइकलमा फलफूल, बदाम, चटपटे बेच्नेहरुको लाइन छ । गाडी चल्ने आधा बाटो उनीहरुले ढाकेर बसेको देखिन्छ । यहाँ गुपचुपरुपमा हाटबजार नै चलाइएको छ ।

सीमित बसमात्रै अट्ने सााँघुरो बसपार्कमा ब्यापारीहरुको उपस्थितिले समस्या गराएको रामेछाप छुट्ने बसका चालक रामकृष्ण लामा बताउँछन् ।

यात्रुको चाप भइरहने यो साँघुरो पार्कभित्र भूईंमा नाङ्लो पसल थाप्नेहरुको पनि ठूलो संख्या छ, जसका कारण यात्रुलाई हिँड्न पनि समस्या पर्छ ।

बसपार्कभित्र फुटपाथकै जसैगरि निर्वाध यस्ता व्यवसाय चलिरहेका छन् । पैदल यात्रु हिँड्न बनाएको बाट ब्यापारीको ठेलाहरु तेस्र्याएको छ । त्यहाँ पुगेका ब्यापारीका कारण बसपार्कमा यात्रुभन्दा बढी ग्राहकको भिड लाग्न थालिसकेको बस चालक लामा बताउँछन् ।

काठमाडौं महानगरले यस्तो अनाधिकृतरुपमा ब्यापार गर्नेहरुलाई कहिलेकाँही लखेट्ने गथ्र्यो । तर, हाल आएर त्यो काम बन्द भएको छ । नगर प्रहरीहरु बसपार्कभित्र छिर्दै नछिर्ने गरेको चालकहरुको गुनासो छ ।


प्रतिक्षालयमा पसल दिएर हप्ता असुली

यसको पनि खास कारण छ, अहिले बसपार्कको रत्नर्पाकको भित्तातर्फको सबै भागमा नगरपालिकाका कर्मचरीले सेटिङमा पसलहरु चलाउन दिएका छन् । भित्तातर्फ यात्रु बस्न टिनको छाना लगाएर बनाइएको प्रतिक्षालयमा अहिले विभिन्न ब्यापारीहरुलाई बस्न दिइएको छ ।

यसबापत महानगरपालिकाले भाडा भने उठउँदैन । तर, महानगरका उच्च अधिकारीले नगर प्रहरीसँगको मिलेमतोमा यसबाट ‘हप्ता’ असुली गर्ने गरेका छन् । त्यसरी त्यहाँ बसेका ब्यापारी नै ‘साहेव’ले बस्न दिएको बताउँछन् । उनीहरुलाई ‘को साहेव ?’ भनेर प्रश्न गर्दा नाम भने बताउँदैनन् ।


एक ब्यापारीका अनुसार नगर प्रहरीले माथि बुझाउनुपर्ने भन्दै कहिले हप्तामा त कहिले महिनामा पैसा उठाउने गरेको छ । यो रकम कहाँ पुग्छ भन्ने पत्तो आफूहरुलाई नहुने उनले बताए ।

यसरी बसपार्कभित्रै ब्यापारीसँग अनाधिकृतरुपमा साँठगाँठ गरेर महानगरले व्यवसाय चलाउन दिइरहेको छ । जसका कारण बसपार्कमा यात्रुभन्दा बढी सामान किन्न पुग्नेहरु भेटिन थालेका छन् ।

बसपार्कभित्र घाम चर्किँदा र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयसम्म पनि छैन । बस्ने ठाउँ नभए पनि ओत लाग्न मिल्ने गरी बनाइएका टहरो होटल, किराना पसल र कपडा पसलहरु चलिरहेका छन् ।

यसका कारण बस कुर्ने यात्रुहरु उभिनुको विकल्प हुन्न । अशक्त, अपांग, वृद्धवृद्धा, बालबालिका र बिरामीहरु जोखिमयुक्तरुपमा भुइँमै बसिरहेको देखिन्छ ।

फोहोेरको डंगुर

बसपार्कमा खुद्रा ब्यापारीलाई प्रवेश दिएपछि यहाँ ट्राफिक मात्रै अस्तव्यस्त छैन, फोहोरमैला पनि बढेको छ । बसपार्क सफा गर्न महानगरले ध्यान दिएको छैन ।


बसपार्कमा जताततै फोहोर डंगुर छन्, त्यसैमाथि व्यवसाय चलिरहेको छ, गाडी गुडिरहेको छ, यात्रु हिँडिरहेका छन् । यहाँ न फालिएका प्लास्टिक टिप्न कोही अघि सर्छ, न फाल्नेमाथि कसैले निगरानी र कारवाही नै गर्छ ।

बसपार्कभित्र ठाउँ–ठाउँका ढलजस्तै भएर फोहोर पानी जमेको छ । त्यसमाथि झिंगा भन्किएका छन् । बसपार्क नै गन्हाइरहेको छ । तर, यात्रुलाई यसको बेवास्ता गरेर हिँड्नुको विकल्प छैन ।

धुलोको अखडा

बसपार्कभित्र ठूला–ठूला खाल्डा परेका छन् । जहाँ पानी पर्नासाथै पोखरी बन्छ । घाम लाग्नासाथै धुलो उड्छ ।

बसपार्कमा धुलोको समस्या बढ्नुमा सँगै थुपारिएको वीर अस्पतालको निर्माणाधीन कंक्रिट पनि हो । त्यसलाई छोपिएको छैन । शहरको बीचमा रहेको बसपार्कसँगै थुपारिएको गिट्टी बालुवालाई खुलै छाडिएको छ ।

सानो हावा चल्नासाथ त्यसको धुलो उडेर यात्रुमाथि खनिन्छ । बसपार्कभित्र हिलो धुलोको समस्या ब्याप्त भएपछि ट्राफिक प्रहरीलाई उभिएर काम गर्न गाह्रो छ । बसपार्क छिरेदेखि निस्कने बेलासम्म कतै पनि धुलो मुक्त छैन ।

ट्राफिक संकेत छैनन्

बसपार्कभित्र कतै पनि ट्राफिक लाइनको रेखाङ्कन छैन । लेनहरु छुट्याइएका छैनन् । बसपार्क सिंगो चौरजस्तै छ ।

पार्किङ स्लटहरु व्यवस्थित गरिएको छैन । जसलाई जता मन लाग्छ, उतै सवारी रोकिन्छ ।

ट्राफिक प्रहरीले रुटअनुसार सवारी पाउने ठाउँ निश्चित गरे पनि बसपार्कको अस्तव्यस्ताले व्यवस्थापनमा चुनौती थपिएको छ ।

बसपार्कभित्र निजी सवारीको पार्किङ गरिन्छ । ‘बसपार्कभित्र व्यवसाय चलाउनेलाई पार्किङ गर्न दिनू’ भन्ने नगर प्रहरीको अनुरोधका कारण ट्राफिक प्रहरीले यसलाई हटाउन सकेको छैन ।

खुला शौच

बसपार्कभित्र व्यवस्थित शौचालयको अभाव छ । एउटा सानो शौचालय त छ, तर निकै फोहोर छ ।

त्यसमा यात्रुको चाप अनुसारको प्यान र युरिनरी पनि छैनन् । महिलातर्फ त झन २ वटामात्रै प्यान छन्, जसले गर्दा शौचका लागि महिलाहरुको लाइन लाग्छ, पालो पाइँदैन ।

भएको शौचालय प्रयोग नगर्ने यात्रुको प्रवृत्ति पनि यहाँ मौलाएको छ । बसको छेको लगाएर पिसाब गर्ने यात्रु र चालकको संख्या बाक्लै देखिन्छ ।


यौनकर्मीको अड्डा

बसपार्कभित्र नगर प्रहरीको मात्रै हैन, प्रहरीको निगरानी पनि कमजोर छ । यसले गर्दा भीडमा पकेटमारी हुने समस्या पनि पुरानो बसपार्क वरपर मौलाएको छ ।

बसपार्कमा आवश्यक बत्तीको व्यवस्था पनि छैन । जसले गर्दा बेलुकीको समयमा बसपार्कमा लुटपाटको डर हुन्छ । यहाँ यौनकर्मी र तिनकाले पनि बेलुकी अड्डा जमाउँछन् । बसपार्कमा बेलुकीको समयमा परिवार र साथीभाइसँग हिँड्न अप्ठोरो छ ।

साँझमा हातै समाउन आइपुग्ने यौनकर्मीका कारण बसपार्कको प्रतिष्ठा झन बिग्रिएको छ । बसपार्कका यस्ता अनेकन समस्यामा महानगर मूकदर्शक बनिरहेको मात्रै छैन, अझ यसैलाई नै महानगरका अधिकारीले अस्तव्यस्त बनाएर ‘दुहुनो गाई’ का रुपमा उपयोग गरिरहेका छन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर



Online khabar

Post a Comment

0 Comments