New templates on your Email

प्रदेश ३ मा मुडेसहित १० पर्यटकीय क्षेत्रमा हिल स्टेशन बन्दै

१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र दोलखाको सीमास्थल मुडेमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले हिल स्टेशन निर्माण हुने भएको छ । करिब ३ हजार मिटर उचाइमा रहेको मुडे काठमाडौं नजिकै हिमपात पर्ने पर्यटकीयस्थल हो ।

प्रदेश ३ सरकारले मुडेसहित प्रदेश ३ भित्रका विभिन्न १० स्टेशनमा यो वर्षदेखि हिल स्टेशन निर्माण गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न यस्तो योजना ल्याएको हो ।

नेपालको पर्यटकीय स्थललाई प्रचार प्रसार गर्ने र त्यसमार्फत आर्थिक उपार्जन गर्नै उदेश्यले प्रदेश ३ सरकारले नेपालमा नै पहिलो पटक पहाडी क्षेत्रहरुमा हिल स्टेशन निर्माण गर्न लागेको छ । प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो ।

प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्रालयले सिन्धुपाल्चोक र दोलखाको सीमा मुडेलगायत प्रदेश ३ का १० स्थानमा पर्यटकहरुलाई आकर्षण गर्नका लागि हिल स्टेशन निर्माण गर्न लागेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिए ।

मुडे बाहेक जिरी, सोम्दाङग, रुबी भ्याली, चित्लाङग, कुलेखानी, शिवालय, सिन्धुलीगढी, चिम्टेश्वर र ककनीलाई हिल स्टेशनको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा मन्त्रालयबाट बजेट विनीयोजन गरेको मन्त्री नेपालले जानकारी दिए ।

अन्य विकसित मुलकहरुका पहाडी क्षेत्रमा यस्तो हिल स्टेशन पर्याप्त निर्माण भएको र त्यसमार्फत आन्तरिक र बाह्य पयर्टकहरुमार्फत आर्थिक उन्नती भएको बताउँदै मन्त्री नेपालले भने-‘नेपालमा पहिलो पटक प्रदेश ३ सरकारले यो योजना ल्याएको छ ।’

हिल स्टेशनमार्फत हिमाली क्षेत्रको अवलोकन, हिउँ खेल्न, निजी क्षेत्रलाई सहभागिता गराएर रिसोर्ट सञ्चालन गर्नै लगायतका गतिविधि हुने मन्त्री नेपालको भनाइ छ ।

दोलखाको पयर्टकीय एवम धार्मिक स्थल कालिञ्चोक, शैलुङ, दोलखा भिमेश्वर,जिरीलगायतका पयर्टकीय स्थलको मुख्य प्रवेशद्धार मुडे नै भएकाले मुडमा नै हिल स्टेशन निर्माण सुरुवात गरिएको मन्त्री नेपालले बताए ।

हिउँ पर्ने सिजनमा मुडेमा हिउँ पर्ने र मुडेको आलु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चित भएकाले यहाँ हिल स्टेशनमार्फत यस क्षेत्रको आर्थिक उपार्जनमा सहयोग पुग्ने मन्त्री नेपालले दाबी गरे ।

के के निर्माण हुने छ हिल स्टेशनमा

हिल स्टेशन मल्टीप्रपोज हुने गरी निर्माण गर्नका लागि प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन समेत तयार पारेर कार्य समेत प्रारम्भ गरिसकेको छ ।

हिल स्टेशनमा आर्कषक बगैचा, भ्यु टावर,कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना निर्माण गरिने मन्त्रालयका वन अधिकृत नवराज पुडासैनीले जानकारी दिए । निजी रिसोर्ट नभएका स्थान र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टेसमेत निर्माण गरिने पुडासैनीले बताए ।

अब मुडेको आलु ब्राण्डिङ हुने

पहाडी क्षेत्रमा निर्माण हुने हिल स्टेशन वहुवर्षीया योजना अन्र्तगत काम सम्पन्न हुने मन्त्रालयले जानकारी दिएको छ । पहिलो वर्ष यो निर्माणका लागि सबै क्षेत्रका लागि ५ करोड विनीयोजन गरिएको छ । पर्यटन अन्र्तगत भ्यु टावर लगायतका लागि २ करोड ४१ लाख ५० हजार विनीयोजन गरिएको छ ।

प्रदेश ३ को उद्योग,पर्यटन,वन तथा बातवरण मन्त्रालयले मुडेको आलु ब्राण्डीङ गर्ने भएको छ । मुडेको आलु भन्दै अन्यत्रको आलु समेत विक्री वितरण हुने र यसबाट दुवै पक्ष मर्कामा परेपछि मन्त्रालयले यो वर्षदेखि आलु ब्राण्डिङको लागि बजेट विनीयोजन गरेको मन्त्री नेपालले जानकारी दिए ।

हिल स्टेशन अन्तर्गत नै यो सबै काम हुने छ । त्यस्तै यस क्षेत्रमा पाइने जडीबुटीलगायत अन्य उत्पादनशील कार्यलाई सहयोग पुर्‍याउने उदेश्यले मन्त्रालयले यस वर्षदेखि काम सुरु गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

हिल स्टेशनको प्रक्रिया काहाँ पुग्यो ?

प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा लिएको हिल स्टेशन निर्माणको लागि मन्त्रालयले सबै तयारी पूरा गरेको र अब कार्यन्वनको चरणमा प्रवेश गरेको मन्त्रालयका वन अधिकृत नवराज पुडासैनीले जानकारी दिए ।

स्थानीय तहबाट अनुमोदन भइ जिल्ला समन्वय समितिबाट सिफारिस भएपछि तिहार लगतै हिल स्टेशन निर्माणको काम सुरु हुने छ । हिल स्टेशनको कार्यविधि तयार भएको, पूर्वाधार सर्वेक्षण अध्ययन, गुरुयोजनाको तयारी, स्थानीय स्तरमा हिल स्टेशन निर्माणका लागि समिति गठनलगायत सबै काम अब अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हिल स्टेशन निर्माण सम्पन्न भएपछि त्यसको सबै स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्ने गरी कार्ययोजना बनेको मन्त्रालयले जानकारी दिएको छ ।

हिल स्टेशन वहुउपयोगी हुने गरी मन्त्रालयका प्राविधिकहरुले डिजाइनसमेत तयार गरेका छन् । हिल स्टेशनमा पार्क, भ्यु टावरलगायतका संरचना हुने मन्त्रालयका इन्जिनियर सुनिल नेपालले जानकारी दिए । हिल स्टेशनमा स्थानीय कलासस्कृति झल्कने भ्यु टावर निर्माण हुने र त्यसको डिजाइनसमेत तयार भएको नेपालले बताए ।

गोल्मेमा पार्क दोभानमा वहुआयमिक ताल

प्रदेश ३ को उद्योग,पर्यटन, वन तगा वातावरण मन्त्रालयले सिन्धुपाल्चोकको अन्य स्थानमा समेत आन्तरिक एवम वाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि पार्क,वहुआयमिक तालसमेत निर्माणका लागि यो वर्ष वजेट विनियोजन गरेको छ ।

सुनकोशी गाउँपालिकाका थुम्पाखरको गोल्मेमा पार्क निर्माणका लागि मन्त्रालयले यो वर्ष ५० लाख रुपियाँ विनियोजन गरेको छ । पार्क निर्माण स्थलको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले स्थलगत निरीक्षणसमेत गरेका थिए । त्यस्तै लिसंखुपाखर गाउँपालिकाको २ र ३ वडाको संगम स्थल दोभानमा वहुआयमिक ताल निर्माणका लागि यो वर्ष १ करोड विनियोजन भएको छ ।

सो स्थानमा विद्युत उत्पादन गर्न नसक्ने भएकाले लिसंखुपाखर गाउँपालिकाले वहुआयमीक ताल निर्माण गर्ने योजना बनाएको थियो । गाउँपालिकाले बनाएको योजनामा प्रदेश ३ को मन्त्रालयले यो वर्ष १ करोड बजेट दिएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

तालमा माछापालन,ढुङा,मन्दीर राखेर वहुआयमीक हुने गरी निर्माणका लागि अध्ययन सुरु भएको अध्यक्ष नेपालले बताए । त्यस्तै जिल्लाका अन्य स्थानहरुमा समेत पार्क लगायत अन्य संरचना निर्माणका लागि वजेट विनीयोजन भएको छ ।

स्थानीय खुसी

मुडेमा निर्माण गर्न लागेको हिल स्टेशनको खाका सहित मन्त्रालयको टिमसहित केही दिनअघि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल मुडेमा पुगेका थिए । आफ्नो क्षेत्रको विकासका लागि मन्त्रालयले महत्वपूर्ण सहयोग गरेको भन्दै मुडेका स्थानीयले मन्त्री नेपालको भव्य स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै मुडेका स्थानीय जीवन ज्योती महिला तथा आमा समूहकी कञ्चन लामाले भनिन्-‘चुनावको बेला यहाँले दिनुभएको बचन पूरा भएको छ, हामी खुसी छौ ।’ यस क्षेत्रमा निर्माण हुने हिल स्टेशनलगायत अन्य संरचनाले लिसंखुपाखर गाउँपालिका लगायत अन्य क्षेत्रको विकास हुने लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमले नेपालले बताए ।



onlinekhabar2

Post a Comment

0 Comments