New templates on your Email

फिल्म समीक्षा : ‘मेरी मामु’ – आँखा रसाउँदैन, बरु बिझाउँछ

फिल्म- मेरी मामु

निर्देशक– यम थापा

जनरा- फेमेली ड्रामा

कलाकार-आयुव सेन, सरुक ताम्राकार, अलेषा ठकुरी आदि ।

अवधी- १ घण्टा ५० मिनेट

एउटा अवोध बच्चा रोइकराई गरेको, कपाल खौरिएको, वेपत्तासँग भड्किएको ट्रेलर देख्दा कतिलाई लागेको हुनुपर्छ, फिल्म मार्मिक होला । तर, हलमा गएपछि दर्शकले विस्मयका सुस्केरा हाल्नेछन्, ‘अहो ! मुर्गा भइएछ ।’

प्रसंग हो, फिल्म ‘मेरी मामु’को । सुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मसँग बजारको खास चुनौती छैन । ‘नाई नभन्नु ल-५’ दोस्रो हप्तामा चलिरहेको छ । श्रद्धा कपुर स्टारर ‘स्त्रि’ जस्ता फिल्मले घरेलु दर्शकलाई उति हस्तक्षेप गर्दैन । भनौ, ‘मेरी मामु’को लागि गोल पोष्ट खुला छ । यस्तो अनुकुलतामा पनि ‘मेरी मामु’ गोलरहित स्थितीमा रहन्छ कि भन्ने भय छ ।

बाल मनोविज्ञानको कथा ?

फिल्ममा एक उदास र झोंकी बालक छन्, प्रेम (युव सेन) । प्रेमको मनमा हरक्षण एउटै कुरा खेल्छ, कसरी सौतेनी आमाको हत्या गर्ने ?

यसका लागि सौतेनी आमा मनिष (अलिसा ठकुरी)लाई विष पिलाउनेदेखि साडीमा आगो सल्काइदिनेसम्मको यत्न गर्छन् । सौतेनी आमाप्रति उनी किनपनि यति क्रुध्द छन् भने, आफ्नी आमाको हत्यारा उनै हुन् भन्ने उनलाई लागेको छ ।

सौतेनी आमाको कथा फरक छ । खासमा उनी सौता बन्नका लागि नभई तिनै बच्चालाई मातृत्व दिनका लागि डा. आकाश  (सरुक ताम्राकार)को दोस्रो पत्नी बनेकी छिन् । हुन त आकाशको पहिलो प्रेमिका उनै हुन् । तर, उनमा क्यान्सरको संकेत देखिन्छ । त्यही कारण संभावित मृत्यु कुरिरहेकी उनी आकाशसँग विवाह गर्दिनन् । बरु त्यो रिक्त स्थानमा आफ्नै संगी ममता  (कुशुम गुरुङ)लाई उभ्याइदिन्छे । आखिर ममता ले पनि आकाशलाई मन पराएकै हुन्छे । उनीहरुको विवाह हुन्छ ।

यद्यपी, दुर्घटनामा ममताकोे मृत्यु भएपछि आउने उतार-चढाव नै यसको मूल कथा हो ।

हेर्नलायक के छ ?

एक घण्टा ५० मिनेट लामो फिल्ममा के त्यस्तो तत्व छ, जसले दर्शकलाई बाँधेर राख्न सक्छ ? संभवत यसको सकारात्मक जवाफ नआउन सक्छ ।
प्रेम, रोमान्सको फिल्म निर्माण गर्दै आएका सन्तोष सेनले फरक शैलीको फिल्म निर्माण गर्ने जमर्को गरेका छन् । यसमा उनले आफ्नै सात बषिर्य छोरोलाई केन्दि्रय भूमिका दिलाएका छन् । तुलनात्मक रुपमा आयुवले राम्रो अभिनय गरेका छन् ।

कथाको विषयवस्तु सान्दर्भिक छ । बुबाआमाको झगडाले बच्चामा पर्नसक्ने मानसिक आघातलाई उधिन्न कथा तयार गरिएको छ ।
सौतेनी आमा सधै क्रुर, निर्दयी मात्र हुँदैन भन्ने पाटोबाट पनि यसलाई पेश गरिएको छ । यहाँसम्म सबैकुरा ठिकठाक लाग्छ ।

यसकारण झुर

फिल्मको समग्र मूल्यांकन गर्ने हो भने यसो भन्न कर लाग्छ, यो सिकारु फिल्म हो । फिल्म न केन्दि्रय कथाको निचोडमा पुग्छ, न घटनाक्रमको सिलसिलालाई स्वभाविक रुपमा पेश गर्न सक्छ । बाल मनोविज्ञानको कुरा उप्काएर कथा अन्यत्रै बहकिन्छ । र, एउटा बच्चालाई क्रुर एवं हिंस्रक रुपमा पेश गर्दै आँशुको खोलो बगाइन्छ ।

आमा बुबाबीचको झगडा एवं तनावलाई एउटा बच्चाले कसरी झेल्छ ? त्यसले उनको मनोवृत्तिमा के असर गर्छ ? उनमा कुन किसिमको प्रवृत्ति निर्माण हुन्छ ?

संभवत फिल्मले यही कुरा देखाउन खोजेको छ । त्यसका लागि ७ बषिर्य बच्चालाई स्टाइकर बनाइएको छ । तर, बच्चाको मनोविज्ञान विकृत बनाउन जे-जति घटनाको तानाबाना बुनिएको छ, ति द्विविधाग्रस्त मात्र छैन, एकदम नाटकिय पनि छ ।

एक नवजवान चिकित्सकसँग दुई युवतीको समानन्तर आकर्षण । आफ्नी संगीको खातिर जीवनसाथी त्याग्ने समर्पण । पहिलो प्रेमिकाको निहुँमा श्रीमान्-श्रीमतिबीचको कलह । आमाको वियोगले बच्चाको मनमा पैदा हुने शंसय र क्रोध । कथालाई डोहोर्‍यो यावत् घटनाक्रम बनावटी र नाटकिय लाग्छ । त्यसमाथि दोस्रो पात्रबाट जसरी कथा बाचन गराइएको छ, त्यसलाई तर्कसंगत ढंगले प्रस्तुत गर्न सकिएको छैन ।

फिल्ममा प्रेम सम्बन्ध झांगिन्छ, ब्रेकअप हुन्छ, दम्पतीबीच खटपट हुन्छ, बच्चा विकृत मानसिकताले ग्रसित हुन्छ । तर, यस्ता उतार-चढावको सिलसिला विश्वसनिय शैलीमा बुन्न नसकिएको मात्र होइन, पात्रको भावभंगीले पनि त्यसलाई स्वभाविक बनाउन सकेको छैन ।

फिल्ममा बच्चालाई बढी हिंस्रक देखाइएको छ । क्लाइमेक्स वियोगान्त बनाउनकै लागि पात्रलाई एकलासे जंगलमा पुर्‍याएर अलपत्र छाडिन्छ । रात पारिन्छ । भालुलाई निमन्त्रणा गरिन्छ । भालुको आक्रमणबाट सौतेनी आमाको मृत्यु भएपछि निर्मम बच्चाको मन पग्लिन्छ र भन्छ, ‘मेरी मामु ।’ यी कुरालाई बलजफ्ती होइन, स्वभाविक र विश्वसनिय रुपमा पेश गर्न सकेको भए दर्शकले राहत पाउने थिए ।

फिल्मले बाल पात्रलाई शसक्त बनाउनका लागि सम्पूर्ण शक्ति थोपरेको छ । त्यही कारण यसका उपकथा र उप-पात्रहरु सर्कसका कलाकार जस्ता मात्र भएका छन् । पाश्र्व ध्वनी, प्रेम-गीत, सिनेम्याटोग्राफी सबै विसंगत लाग्छ ।



shiva mukhiya

Post a Comment

0 Comments